• १२ असोज २०८१, शनिबार

साझेदारीमा धेरै महत्त्वपूर्ण काम गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट

blog

सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा उपस्थित मुख्यमन्त्रीसहित मन्त्री। तस्बिर : कमल साउद

अविनाश चौधरी

धनगढी, मङ्सिर २८ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक अर्काको सह–अस्तित्व स्विकारेर काम गर्नु नै विकासको मेरुदण्ड रहेको बताउनुभएको छ। 

धनगढी उपमहानगरपालिकाको कार्यालयले बुधबार आयोजना गरेको सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले काम गर्दा सबै तहका सरकारले एक अर्काको सह–अस्तित्वलाई स्विकार्नु पर्ने बताउनु भएको हो। सह अस्तित्वबाट समग्र विकासलाई टेवा दिन सकिने उहाँको भनाइ थियो। 

‘हाम्रो संविधानले नै सहकार्य, सह–अस्तित्व र समन्वय हुनु पर्ने भनेको छ’, उहाँले भन्नुभयो, ‘त्यो कुराको ठिक तरिकाले बुझाइ भएन भने हामी विकासमा धेरै पछाडि रहने स्थिति रहन्छ।’ 

प्रदेश सरकारले सुरुवातदेखि नै स्थानीय तहसँग सहकार्य, साझेदारी गर्नु पर्दछ भनेर अगाडि बढेको मुख्यमन्त्रीले बताउनुभयो। ‘एक अर्काको सह–अस्तित्व स्वीकार गरेर अगाडि बढ्नु पर्दछ। त्यो नै हाम्रो विकासको मोडल हो’, उहाँले भन्नुभयो। 

साझेदारीमा गर्दा धेरै महत्त्वपूर्ण काम गर्न सकिने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री भट्टले नागरिकसहितको विकासको साझेदारी आवश्यक रहेको बताउनुभयो। विकाससँग नागरिकलाई जोडन नसकिए त्यहाँ अवरोध हुने र कामले गति लिन नसकी परिणाम नदेखिने गरेको मुख्यमन्त्रीको भनाइ थियो। उहाँले साझेदारीमा काम गर्ने गरी प्रदेश सरकारले नीति, कानुन बनाएको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘अब आउने सरकारले त्यसमा गर्व गरेर अगाडि बढ्ने विश्वास लिएका छौँ। उहाँहरू थप परिमार्जन गरेर अगाडि बढ्न सक्नुहुन्छ।’ 

सुदूरपश्चिम प्रदेश सरकारले यसअघि चाहँदा चाहँदै पनि धनगढी बजारको सडक बनाउन नसकेको भन्दै मुख्यमन्त्री भट्टले अहिले त्यसको काम सुरु हुनु राम्रो कार्य रहेको बताउनुभयो। ‘मेरै मन्त्रालय अगाडि भिडभाड हुन्छ। मान्छेले सडकमा चौपाया भएको फोटो हामीलाई पठाएर आलोचना गर्छन्’, उहाँले भन्नुभयो, ‘यो सब सुन्ने चाहना त थिएन। हामीलाई पनि लागिरहन्थ्यो धनगढीको सडक चाँडै बनाउन पाए हुन्थ्यो। तर, चाहँदा चाहँदै यस अगाडि सडक बनाउन सकिएन।’ 

पहाडी क्षेत्रमा एक्लै काम गर्न प्रदेश सरकारलाई सहज भए पनि सहरी क्षेत्रमा त्यस्तो अवस्था नरहेको मुख्यमन्त्रीको भनाइ थियो। उहाँले बजार क्षेत्रमा स्थानीय तहसँगको सहकार्यबिना काम हुन नसक्ने भन्दै यो सबै कुरा बुझेर धनगढी उपमहानगरपालिकासँग सहकार्य गर्दै धनगढी बजारको सडक निर्माणमा अगाडि बढेको बताउनुभयो। 

मुख्यमन्त्रीले भन्नुभयो,‘कुनै पनि अप्ठ्यारा बाधा बिना यहाँका नागरिकले बाटो खाली गरेर दिनु भएको छ। प्रदेश सरकारकोतर्फबाट म उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु।’ सडक बनाउने क्रममा धेरै ठाउँमा अवरोध हुने गरे पनि विकास खोजिरहेका यहाँको जनताका कारण धनगढीमा त्यस्ता केही पनि नभएको उहाँको भनाइ थियो। 

नागरिक एकताबद्ध भएर विकासका लागि जाने कुरामा धनगढी उपमहानगरपालिकाले त्यस्तो नेतृत्व गरेको मुख्यमन्त्रीको भनाइ थियो। धनगढीको सडक बनेमा पहिलो प्रदेश सरकारले सडक बनायो भन्ने इतिहास रहने उहाँले बताउनुभयो। ‘त्यसकारण प्रदेश सरकारले स्थानीय तह र यहाँका नागरिकको साझेदारीमा यो सडकलाई सम्पन्न गर्छ’, उहाँले भन्नुभयो। यसैगरी, आफ्नै पालामा धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स पनि दिइने मुख्यमन्त्रीको भनाइ थियो।

अस्थायी राजधानी रहेको धनगढीको सडक फराकिलो बनाउनका लागि धनगढी उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले ६० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कैलाली पुलदेखि क्याम्पस रोडसम्म सडक अधिकार क्षेत्रभित्रका संरचना भत्काइएको छ। 

संरचना हटाउने काम धनगढी उपमहानगरपालिकाले गरे पनि सडक बनाउने काम प्रदेश सरकारले गर्ने भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले बताउनुभयो। 

उहाँले अबको १५ दिनभित्रै टेन्डर आह्वान गरेर काम अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो। प्रदेश सरकारले पाँच वर्षमा गौरवका योजनाको काम अगाडि बढाउनुका साथै धेरै सडक, झोलुङ्गे पुल निर्माणको काम गरेको मन्त्री सोडारीको भनाइ थियो। 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले मन्तव्य राख्नु भएको थियो।