बाबुराम शर्मा
दोलखा, मङ्सिर २८ गते । दोलखा भीमेश्वर नगरपालिका वडा–२ का सुब्बा थामीको दैनिकी धानिरहेको दाम्लो बाट्ने पेसा सङ्कटमा परेको छ । कुनै समयको उहाँको दैनिकी नै वस्तु बाँध्न प्रयोग हुने दाम्लो बाट्नु र बिक्री गर्नु थियो ।
दिनमा चार/पाँच वटा दाम्लो बाट्ने गरेका थामीलाई त्यसबाट घरायसी खर्च जोहो गर्न मद्दत पुगेको थियो । गाउँमा पशुपालक किसानलाई दाम्लो बुन्ने सीप खासै नभएका कारण विभिन्न ठाउँबाट माग आउँथ्यो । अहिले कुनै पनि ठाउँबाट दाम्लोको माग नआएपछि उहाँ चिन्तित बन्नुभएको छ ।
सुब्बाको आम्दानीको स्रोत त गुमेको छ नै, सीप समेत लोप हुने खतरा बढेको छ । उहाँले दुखेसो पोख्दै भन्नुभयो, गाउँमा पहिले धेरै पशुपालन हुन्थ्यो । मैले बाटेको दाम्लोको माग धेरै थियो । अहिले पशुपालन घट्दै जाँदा दाम्लो बनाइदेउ भन्ने किसानहरु पनि पाउन मुस्किल परेको छ ।
विगतमा सहर्पा, खैंदल, दोलखा, जिलु, माटीलगायतका गाउँबाट दाम्लोको माग हुने गरेकोमा अहिले पशुपालन घट्दै गएकाले दाम्लोको माग तथा बिक्री हुनै छाडेको थामीले बताउनुभयो । युवाहरु गाउँमा पशुपालन तथा कृषि गर्न छाडेर विदेश पलायन हुन थालेपछि यस्तो अवस्था आएको बताउँदै उहाँले भन्नुभयो–‘‘अहिले गाउँमा एकाध दुई वटा गाईभैंसी पाल्छन् । बाख्रापालन पनि सोही हाराहारीमा हुन्छ । युवाले विदेशको मोह त्यागेर गाउँमै व्यवसायिक रुपमा पशुपालन गरेको भए मासु र दूधमा परनिर्भरता घट्ने थियो ।’’
लामो समयदेखि दाम्लो बाटेर बिक्री वितरण गरी आएको आम्दानीले घरखर्च टार्दै आएको भए पनि अहिले दाम्लो बिक्री हुन छोडेपछि समस्या भएको भीमेश्वर नगरपालिका–३ सेतीमाया कुसुलेको पनि उस्तै गुनासो छ । प्रत्येक शनिबार चरीकोटमा लाग्ने हाटमा तथा गाउँमै दाम्लो बेचेरै नुनभुटुनको खर्च जोहो गर्ने गरेकोमा अहिले मुस्किलले एउटा दुईवटा मात्रै बिक्री हुन थालेपछि समस्या थपिएको उहाँले बताउनुभयो ।
गाउँघरमा गाईवस्तु पाल्न छोड्नु र युवा पुस्तामा दाम्लो बाट्ने सीप हस्तान्तरण नहुँदा दाम्लो बाट्ने सीप नै लोप हुने अवस्थामा पुगेको हो । पशुपालनबाट किसानसँगै दूध र मासुका उपभोक्तालाई मात्र होइन दाम्लो बाट्नेलाई समेत फाइदा पुग्छ । पशुपालन नै घटेपछि सबैतर्फ घाटा भइरहेको भीमेश्वर नगरपालिका–५ माटीकी रेनु थापाले बताउनुभयो ।