शेरबहादुर सार्की
बाजुरा, मङ्सिर २७ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक गाउँपालिका–१ मुक्तिकोटकी १८ वर्षीय पवित्रा कडारालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
पवित्रा कडारालाई सुत्केरी व्यथा लागेपछि मङ्सिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाउँमा ल्याएर भर्ना गरिएको थियो ।
त्यस स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूति गराउन नसकेपछि आज हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।
सोमबार स्वास्थ्य केन्द्रबाट रिफर गरिएको भए पनि आज मात्र राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उहाँको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टरमार्फत सुर्खेत पठाइएको बताउनुभयो ।