नवीन शिशिर विक
बागलुङ, मङ्सिर २७ गते । विगत १३ वर्षदेखि हात्तीपाइले जोखिमपूर्ण क्षेत्रमा रहेको बागलुङ नगरपालिका–१३, नारायणस्थानमा हात्तीपाइले सङ्क्रमणदर एक प्रतिशतले घटेको छ।
हात्तीपाइले रोगविरुद्धको नियमित आमऔषधि सेवनले सङ्क्रमणदर रोकिएको हो। २०६६ सालमा ‘बेसलाइन सर्भे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ सालको प्रारम्भिक परीक्षण गर्दा १ प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको छ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आमऔषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेको थियो। नारायणस्थानमा ३४७ जनामा गरिएको परीक्षणमा एक जनामा मात्रै हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो।
यसअघि सन् २०१४ मा ३ प्रतिशत, २०१६ मा २.३ प्रतिशत, २०१८ मा ४.६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा २.६४ प्रतिशत सङ्क्रमण देखिएको थियो। नारायणस्थानमै भएको बेसलाइन सर्भेमा महामारीका रूप लिन थालेको भेटेपछि हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन अभियान सुरु गरिएको थियो।
सन् २०२१ (२०७८) सालमा गरिएको परीक्षणमा नारायणस्थानमै २.६४ प्रतिशतमा सङ्क्रमण देखिएपछि बागलुङमा पछिल्ला दुई वर्ष आमऔषधि सेवन अभियान थप गरिएको छ। अब १४औँ पटक माघ अन्तिम साता स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गर्दै छ। विश्वव्यापी मापदण्डअनुसार जाँच गरिएकामध्ये २ प्रतिशतभन्दा कममा सङ्क्रमण नदेखिएसम्म पटकपटक आमऔषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ। नारायणस्थानमा पछिल्ला दुई वर्ष औषधि सेवन गर्नेलाई औषधि सेवन कार्ड दिने गरिएको थियो। औषधि सेवन नगर्ने अर्थात् कार्ड नभएका व्यक्तिलाई सरकारी सेवासुविधा रोक्का गर्ने भनेपछि नतिजा सकारात्मक आएको हो।