• ५ जेठ २०८१, शनिबार

नजिकका साथी एमबापे र हकिमी अब प्रतिद्वन्द्वी

blog

दोहा, मङ्सिर २७ गते । किलियन एमबापेको आफ्ना नजिकका मित्र असरफ हकिमीसँग पुनः विश्वकपमा भेट हुनेभएको छ। यद्यपि यो भेट गत हप्ता भेटेको जस्तो सौहार्दपूर्ण हुने छैन। गत हप्ता एमबापे आफ्ना साथी हकिमीलाई भेट्न मोरक्को टिम रहेको होटलमा पुग्नुभएको थियो। एमबापेको पुनः बुधबार हकिमीसँग भेट हुनेछ तर यस पटकको भेटमा दुवैको भावना फरक हुनेछ।  विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न यी दुई साथी मैदानमा एकअर्काविरुद्ध भिड्दा प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुनेछन्।

अझ यस विश्वकपका सर्वाधिक गोलकर्ता एमबापेलाई निगरानी राख्ने जिम्मेवारी हकिमीमा नै आउने सम्भावना रहेको छ। एमबापेले मैदानको दायाँ भागबाट खेल्ने गर्नुहुन्छ भने हकिमी राइट ब्याक हुनुहुन्छ। एमबापेले गत जनवरीमा मात्र आफ्नो ट्विटरमा लेख्नुभएको थियो, असरफ हकिमी विश्वका सर्वश्रेष्ठ राइट ब्याक हुन्। त्यसैले फ्रान्स र मोरक्कोबीचको खेल एमबापे भर्सेज हकिमीका रूपमा पनि लिइएको छ।

एमबापे पाँच गोलसहित गोल्डेन बुटको दाबेदारीमा सबैभन्दा अगाडि हुनुहुन्छ भने मोरक्को कतार विश्वकपको सबैभन्दा मजबुत डिफेन्स भएको टिम हो। अहिलेसम्म सेमिफाइनल पुग्ने क्रममा मोरक्कोले एक गोल मात्र बेहोरेको छ, त्यो पनि क्यानडाविरुद्ध आत्मघाती गोल थियो। उपाधिको दाबेदार मानिएको स्पेनलाई हराउँदा भएको टाइब्रेकरमा पनि मोरक्कोले गोल बेहोरेन। 

एमबापे र हकिमीबीचको उदाहरणीय मित्रता जुलाई २०२१ बाट सुरु भएको हो। सो समय हकिमी इन्टर मिलानबाट छ करोड ३० लाख डलरमा एमबापेको क्लब पेरिस सेन्ट जर्मन आबद्ध हुनुभएको थियो। यी दुवै दौँतरी उमेरका हुन्। दुवैको जन्म सन् १९९८ मा नै भएको हो।

हकिमीले बेलाबेलामा एमबापेको प्रशंसा गर्दै आफूलाई फ्रेन्च भाषा सिकाएको, एउटै खालको सङ्गीत दुवैलाई मन पर्ने र समयसमयमा भिडियो गेम खेल्ने गरेको प्रसङ्ग निकाल्नुहुन्छ। 

हकिमी मुस्लिम धर्म मान्नुहुन्छ। यस वर्ष एमबापेले पनि हकिमीसँग इद मनाउनुभएको थियो। पेरिस सेन्ट जर्मेनबाट खेल्दा पनि प्रायः यी दुईबीचको सुमधुर सम्बन्ध मैदानमा धेरै देख्न पाइन्छ।

हकिमी भन्नुहुन्छ, “एमबापे मैदानमा नतिजा फरक पार्न सक्ने खेलाडी हुन्। हकिमीले भनेजस्तै एमबापेले यस विश्कपका धेरै खेलमा आफूलाई सिद्ध गरिसक्नुभएको छ। उहाँले डेनमार्क र पोल्यान्डविरुद्ध दुई–दुई गोल गरेर आफूलाई निर्णायक खेलाडी साबित गर्नुभएको थियो।”

यी दुई साथीबीच सेमिफाइनलमा भिडन्त हुँदा एमबापे पेलेपछि दुई विश्वकपको उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी बन्ने र हकिमी विश्कपको फाइनल खेल्ने पहिलो अफ्रिकी टिमका खेलाडी बन्ने अभियानमा हुनुहुनेछ। एपी