• १२ असोज २०८१, शनिबार

प्रहरीको मिलेमतोमा तस्करी भएको आरोप

blog

नवराज कट्टेल

विराटनगर, मङ्सिर २६ गते । प्रहरीको सेटिङमा तस्करी मौलाएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन विराटनगर भन्सार कार्यालयले आग्रह गरेको छ । 

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले चोरी पैठारी नियन्त्रणमा प्रहरीले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थ मन्त्रालयसँग सुरक्षा सहयोग माग गर्नुभएको हो । 

मोरङका प्रमुख अधिकारी काशीराज दाहालले घटनाबारे आइतबार थाहा पाएको जानकारी दिनुभयो । यो घटनालगायतका विषयमा छलफल गर्न आइतबार नै राजस्व चुहावट नियन्त्रण समितिको बैठक बसेको बताउँदै दाहालले दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकले घटनाबारे छानबिन गर्न भन्सार प्रमुख सापकोटाको संयोजकत्वमा छानबिन समिति बनाउने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो । 

भन्सार कार्यालयको गस्तीमाथि गत शुक्रबार राति तस्करको समूहले आक्रमण गरेका थिए । भन्सार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने ३ नं. गेटमा दुईवटा मालवाहक सवारीसाधन रोकेर सामान भारततर्फ तस्करी भइरहेका बेला पुगेको भन्सार गस्ती टोलीमाथि आक्रमण गरिएको भन्सार प्रमुख सापकोटाले जानकारी दिनुभयो । 

सीमा प्रहरी चौकी, रानीको मूल गेटअगाडिबाट तस्करी भइरहेको सूचना पाएपछि नियन्त्रणमा लिन गएका कर्मचारीलाई तस्करको समूहले हुलहुज्जत गर्दा प्रहरीले बेवास्ता गरेको आरोप भन्सार कर्मचारीले लगाएका छन् । 

“दुईवटा मालवाहक सवारीसाधन सीमा प्रहरी चौकी, रानीअगाडि रोकिएको र भारतबाट १५ जनाको समूहमा आएका व्यक्तिले लोड भएको गाडीबाट सामान निकालेर सीमा कटाइरहेका बेला भन्सारको टोली पुगेको थियो । त्यसबेला भन्सार गस्तीमा खटिएको टोलीमाथि तस्करको समूहले आक्रमण गरेर गाडी तथा तस्करी भइरहेको सामान समेत खोसेर लगे,” भन्सार प्रमुख सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । राजस्वको लक्ष्य पुग्न नसकेका बेला भन्सार गस्ती टोली सक्रिय रहे पनि सुरक्षा संयन्त्रको असहयोगले दैनिक कामकाज गर्न कठिनाइ भएको विज्ञप्तिमा भनिएको छ ।  

प्रहरीको मिलेमतोमा तस्करी मौलाएको र नियन्त्रणको प्रयासमा सहयोग नगरेको भन्दै आवश्यक सुरक्षा सहयोग जरुरी रहेको प्रमुख सापकोटाद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ । भन्सार विभाग र अर्थ मन्त्रालयसँग सुरक्षा माग गर्दै विज्ञप्तिमा भनिएको छ, “आईसीपीबाट कार्यसम्पादनपछि क्वाटरमा फर्कनसमेत डरमर्दो अवस्था छ ।” 

तस्करले ज्यान मार्ने धम्की दिएकाले आईसीपीबाट छ किलोमिटर दूरीमा रहेको क्वाटरसम्म पुग्नसमेत समस्या हुन थालेको भन्दै भन्सारका कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । विराटनगर भन्सारका अधिकृत रामचन्द्र ढुङ्गानाले दैनिक भन्सार प्रशासनको कार्यसम्पादनमा सुरक्षा अभाव भइरहेको बताउनुभयो ।

चालू आर्थिक वर्ष राजस्व लक्ष्यको तुलनामा प्रगति न्यून भएपछि विभागको निर्देशनमा भन्सार कार्यालयले गस्ती बढाएको हो । मोरङमा तस्कर र सशस्त्र प्रहरी र नेपाल प्रहरीबीचको सेटिङ हुँदा नियन्त्रणमा समस्या परिररहेको भन्सार अधिकारीको गुनासो छ । 

सीमा प्रहरी चौकी, रानीको मूल गेटअगाडि भएको घटना सीसीटीभी फुटेजमा समेत रेकर्ड रहेको दाबी भन्सार अधिकारीको छ । भन्सार प्रमुख सापकोटाले सुरक्षा व्यवस्था कडा पार्दै चोरी तस्करी नियन्त्रणका लागि पहल गरिदिन जिल्लास्थित राजस्व समितिसँग यसअघि नै माग गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने उक्त समितिले मात्रै सुरक्षा प्रबन्ध मिलाउन नसकेको भन्दै विभाग र अर्थ मन्त्रालयसँग यस पटक गुहार मागिएको छ ।