• १३ साउन २०८१, आइतबार

मङ्सिरको धान (कविता)

blog

करुणा उदासी ‘कृष्ण’ 

कात्तिक मैना पार गरी

मङ्सिर मैना लायो ।

किसानले खेतीपाती

भित्र्याउने दिन आयो ।


लहलह फाँटभरि

धान पाकेको छ

भण्डार गर्दै किसानले

सह डाकेको छ ।


खलो बनाइ खेतमा नै

धान थुप्राएर

कुनियोमा चाँगी चाँगी

राख्छन् त्यति खेर ।


मियो गाडी गोरु नारी

धान पराल माथि

धेरै हुन्छन् दाइँ गर्ने

दमेराका ताँती ।


कोही पराल छुट्याउँछन्

कोही धान बत्ताउँछन्

कुहिनाबाट घिउ चुहिने

खाजा पकाउँछन् ।


धान परालको भारी हाली

खाजा भूजा खान्छन्

दमेराले ओसारेर

सबै घर लान्छन् ।


परालको टौवा अनि

भकारीमा धान

किसानलाई गाह्रो छैन

पेटभरि खान ।


पाखो बारी कोदो खेती

खेतमा धान झुल्छ

त्यो दृश्य हेर्दा खेरी

सबै कुरा भुल्छ ।