• १९ असार २०८१, बुधबार

विस्थापित हुँदै खपडाले छाएका घर

blog

यादवराज पुरी 

रौतहट, मङ्सिर २५ गते । मधेशको पहिचान बनेका खपडाले छाएका घरहरू अहिले बिरलै देखिन्छन्। आधुनिकताको प्रभावसँगै खपडा उत्पादनका लागि स्थानीय स्तरमै पाइने साधन र स्रोत मासिँदै गएको छ। जसका कारण मधेशलाई चिनाउने परम्परागत मौलिक वस्तुमध्येको खपडाको छानो भएका घर पनि विस्थापित हुँदै गएका हुन्।  

मधेशमा अहिले केही पुराना घरबाहेक नयाँ बनेका घरमा खपडाको छानो हालेको देखिँदैन। अचेल पक्की ढलान, जस्तापाता वा टायलले छाएको घर जताततै देखिन्छन्। गुजरा नगरपालिका भवानीपुरका ज्येष्ठ नागरिक जयनन्द चौधरी भन्नुहुन्छ, “विशेष गरी मधेशी समुदायका नागरिकको घर खपडाले छाएको हुन्थ्यो। मधेशमा खपडा बनाउने सीप भएका जनशक्तिले समेत पेसा बदलेको कारण खपडा उत्पादनमा ह्रास आयो र त्यसको विकल्पमा ढलान, जस्ता वा टायलले प्राथमिकता पायो।” 

राजपुर नगरपालिका–४ का शेखजबिब मियाँ भन्नुहुन्छ, ‘‘खपडा माटोबाट बनाइने हुँदा जाडो याममा नचिसिने र गर्मी याममा नतात्ने गुण भए पनि असिना पर्दा फुट्ने र हुरीले छानाबाटै झारिदिने भएकोले पछिल्लो पुस्ताको रोजाइमा खपडा नपरेको हो। एक पटकको लगानीमा ढलान, जस्ता वा टायल वर्षौंवर्ष टिक्छ तर खपडाको छानो बर्सेनि मर्मत गर्नैपर्छ। यस्तो अवस्थाले गर्दा खपडाको प्रयोग घट्दै गएको हो।”

यता खपडा बनाउने सीप भएका चन्द्रपुर नगरपालिका–६ का रामजीवन पण्डितका अनुसार खपडा बनाउन आवश्यक पर्ने माटो, काँचो खपडा पोल्न चाहिने पराल र दाउरा पहिला स्थानीयस्तरमै सहज रूपमा पाइन्थ्यो। अहिले पैसा तिर्दा पनि सहजै उपलब्ध हुँदैन। बजारमा पाइने टायलभन्दा महङ्गो पर्ने र बढ्दो सहरीकरणसँगै पछिल्लो पुस्ताको रोजाइमा खपडा पर्न छोडेको छ। पेसा सङ्कटमा परेपछि उहाँले आय आर्जनमा कमी आउने डरले अन्य पेसामा लागेको बताउनुभयो। 

मधेशको मौलिक पहिचानको रूपमा रहेको खपडाको छानोमात्र नभई अन्य कला संस्कृति पनि लोप हुँदै गएका छन्। कालान्तरमा मधेशको पहिचान नै ओझेलमा पर्नसक्ने शिक्षाविद् योगेन्द्रप्रसाद यादवको धारणा छ। उहाँका अनुसार स्थानीय सरकारले परम्परागत सीपको संरक्षण र पेसागत हितको बारेमा केही ठोस कदम चाल्नुपर्ने हुन्छ। जसले गर्दा परम्परागत मौलिक वस्तुको लोप नहोस्।