• ९ मंसिर २०८१, आइतबार

सुख, शान्ति र आनन्दको बाटो

blog

सुखको प्राप्ति हुन्छ, आनन्दको रसास्वादन गर्न पाइन्छ भनेर मानिस चाहिँदो नचाहिँदो अनेकथरी लत, कुलत र दुव्र्यसनमा फस्न पुग्छन्। यस्ता अनेकौँ उदाहरण खोज्न कहीँ टाढा जानु पर्दैन। आफ्नै घर, टोल/छिमेक, नातागोता र समाजमा बग्रेल्ती भेटिन्छन्। मानिसले विवाह गर्छ सुख, शान्ति र आनन्द प्राप्तिका लागि, छोराछोरीको चाहना हुन्छ तिनै सुख, शान्ति र आनन्दको प्राप्तिका लागि। कता गएर ? के कस्तो काम गरेर धन/सम्पत्ति आर्जन गर्न सकिन्छ र सुख, शान्ति र आनन्दको प्राप्ति हुन्छ भनी देश/विदेशमा अनेक किसिमका दुःख, कष्ट र हन्डर खान तयार हुन्छ तिनै तीनवटाको तृष्णाले।

मानिसको मात्रै होइन विश्वब्रह्माण्डका सारा प्राणीहरूको अभीष्ट भनेकै सुख, शान्ति र आनन्दको प्राप्तिको चाहना हो। यसकै लागि मानिस राम्रा नराम्रा अनेकथरी क्रियाकर्ममा लागेको हुन्छ। त्यसकै लागि अनवरत जोतिइरहेको हुन्छ। यी तीनथरी विषय यस्ता छन्, जसलाई राम्ररी जानेर सुमार्गको बाटोमा लाग्यो भने उसको जीवन बन्यो। नजानेर दिग्भ्रमित भयो कि त जीवन अर्कैतिर मोडिएर अस्तव्यस्त बन्न पुगिहाल्छ। यस्तै भ्रान्तिको कारण हो कि मानिसहरू शान्तिको खोजमा लागेको सम्झेर अशान्तिको महासागरमा डुब्न पुग्छन्। सुखको अनुभव लिन भनेर हौसिएर अघि बढ्दा दुःखको महासागरमा उत्रिनै नसक्ने गरी डुब्न पुग्छन्।

प्रेमी/प्रेयसीको चाहना मायाप्रीति सफल भयो भने तिनै विषयको प्राप्ति हुन्छ भन्ने। त्यसैले जसरी हुन्छ बीचमा कतै बाधा/अड्चन नआइदेओस् भन्ने कामना र प्रार्थना गर्न उनीहरू चुक्दैनन्। त्यत्ति मात्र कहाँ हो र ? पूजा–आजा, तीर्थ–व्रत, दान, सहयोग आदिको भित्री लक्ष्य पनि त्यही नै हुन्छ। दुब्लो व्यक्ति हृष्टपुष्ट हुन पाए पो आनन्द प्राप्ति हुन्छ कि भनी त्यसका लागि अनेक उपाय गर्छ। मोटो मानिस दुब्लाउन पाए आनन्द हुन्थ्यो कि भनी अनेक डाइटिसियन, हकिम, वैद्य, डाक्टरको पछि लागेको हुन्छ। 

हिजोआजका केटाकेटीदेखि प्रौढ, वृद्धवृद्धासम्म पनि कोही डेस्कटपमा सुख, शान्ति र आनन्द खोज्छन् भने कोही ल्यापटप र आइपोडमा पो आनन्द छ कि भनी त्यसको पछि लागिरहेका हुन्छन्। कोही टेलिभिजनको विभिन्न च्यानलमा पो ती तीन वस्तुको प्राप्ति हुन्छ भनी आँखा नझिम्काइ बिहानदेखि बेलुकासम्म टेलिभिजनकै अघिल्तिर बसिरहेका हुन्छन्। 

कुन च्यानलमा खोजेको कुरा पाइन्छ भन्ने आशामा एकपछि अर्को च्यानलको खोजीमा रिमोट थिचिइरहेका हुन्छन्। यी सारा भौतिक वस्तुको प्राप्तिबाट खोजेको सुख, शान्ति र आनन्दको प्राप्ति हुनु असम्भवप्रायः छ। तैपनि खोजीको सिलसिला रोकिएको छैन, रोकिँदैन पनि। किनकि मानिसको वरपरको वातावरण, माग र चाहना नै त्यस्तै किसिमले बढाउँदै बढाउँदै लगिएको छ मानौँ भौतिकताभित्रै सबैथोक छ कि जस्तो भान उपभोक्तावादी संस्कृतिले बढाउँदै लगेको छ। त्यसकै पछि मानिस लागेको छ।

सामान्यतया मानिसमा के धारणा रहेको हुन्छ भने अभावमा, नहुनुमा दुःख हुन्छ। त्यसभन्दा भिन्न आफूसँग केही खोजेको चीज वा वस्तुको अभाव नहुने हो भने सुख, शान्ति र आनन्दको प्राप्ति सहजै हुन्छ भन्ने मानसिकताको कारणले सबैको चाहना सङ्ग्रह गर्नुमा, जोड्नुमा, थुपार्नुमा, ती वस्तुहरूको अभाव नहुने अवस्थाको सिर्जना गर्नुमा सारा विश्वका मानिसको बिहानदेखि बेलुकासम्मको क्रियाशीलता फगत तिनैको जोरजामलमा टाउकोले टेकेर लागिरहेका छन्। 

मानिसले के कुरा बिर्सेको हुन्छ भने अन्य माध्यमबाट पाइने सुख, शान्ति र आनन्द भनेको अस्थायी हुन्छ, त्यो टिकाउपूर्ण हुँदैन। बाह्य वस्तु भए आनन्द हुने, नहुँदा दुःख हुने पनि सुख, शान्ति र आनन्दको स्रोत हुन सक्छ ? कदापि हुनै सक्तैन। मानिसले यही मूल विषयलाई बिर्सेर पछि लाग्नुपर्ने विषयको पछि लागेको छैन, पछि लाग्नु नपर्ने विषयको चाहिँ पछि लागेर समय, परिश्रम र आफ्नो जीवनको उर्वर समयलाई नै नष्ट गरिरहेका हुन्छन्। यसैगरी हिजोका दिनहरू बिते, आजका दिन बित्दैछ, भोलि पनि कतिको यसैगरी मूल्यवान् समय बित्दै जानेछ। उसलाई होसै हुँदैन, पत्तै हुँदैन। 

भौतिक वस्तुहरूको सङ्ग्रह र तिनको प्राप्तिले पूरा तृप्ति पाएँ, खुसी पाएँ, आनन्द पाएँ भनी चकाचौँध भएको मानिस आजसम्म संसारमा कोही भेटिएको छैन। त्यसरी भेटिनु सम्भव पनि छैन। किनभने यो प्रकृतिको विरुद्धको कुरा हुन जान्छ। अझ धन÷सम्पत्ति, भोग र कामतृष्णाको तृप्तिले सुख, शान्ति र आनन्द पाउन खोज्छु भनेको बलिरहेको आगोमा घिउ थप्दै जानुजस्तो हो। जति थपे पनि अग्नि तृप्त हुँदैन। भौतिकताको पछि आसक्त भई सुख, शान्ति र आनन्द चाहनेले भएको निद्रा पनि भगाउँछ, रोगलाई निम्त्याउँछ, आयुलाई घटाउँछ।

त्यस कुरालाई जानेका विश्वका कतिपय अर्बपति, खर्बपतिहरू (केही अपवादबाहेक) आफूले कमाएको सम्पत्तिलाई आफूसँग नराखी सामाजिक कार्यका लागि, परहितका लागि, नहुनेहरूका लागि बाँड्न उद्यत हुन्छन्। धन/सम्पत्ति/रुपियाँ/पैसाको मोह र बन्धनमा बाँधिएर बस्दैनन्। जति बाँधियो त्यत्ति बन्धन हुन्छ, आसक्ति बढ्छ, उम्किने अवसर नै नआउन सक्छ। 

भौतिकताको चकाचौधमा आसक्ति नराखी कमाएको धन/सम्पत्तिको सही वितरण गर्न जसले जानेको हुन्छ, उसैले सुख, शान्ति र आनन्दको केही झुल्काझुल्की पाउन सक्छ। तर सबै कहाँ त्यस्ता हुन्छन् र ? मानौँ जे जति बटुलेको छ, त्यो सबै साथमै लिएर जानेजस्तो गरी विचारमा छुद्रता/सङ्कीर्णता, बोलीवचनमा कटुता/अभद्रता, दानमा कञ्जुस्याइ÷दीनहीनता देखाएरै जीवन उनीहरूको समाप्त हुन्छ। कति दुःख/कष्ट, अनेक हन्डर र बबन्डर गरेर थुपारेको, कृपणता देखाएको धन/सम्पत्ति पछि कसैका लागि ‘लुटको धन फुपूको श्राद्ध बन्न पुग्छ।’ यस्तो परिस्थिति कहाँ सबैले बुझेका हुन्छन्।

सुख, शान्ति र आनन्द प्राप्तिको उपाय के हुन सक्छ ? भएकोमा सन्तोष गर्ने, नभएकोमा अरूको डाह नगर्ने। सद्कर्ममा सदैव प्रवृत्त रहने। आफूमा नै रमाउने। आनन्द बाहिर होइन आफूभित्रै छ, त्यसलाई खोज्ने। सकिन्छ प्रतिकूल परिस्थितिलाई बदल्ने, सकिँदैन त्यसैलाई स्वीकार्ने। उदारता, विशालता र विस्तीर्णतालाई विशेषता बनाउने। दया, माया, करुणा, शान्ति, सद्भाव, अहिंसा र आत्मीयताजस्ता महनीय गुणहरूलाई आत्मसात् गर्ने। शत्रु/मित्र सबैप्रति क्षमाशील बन्ने, समभाव राख्ने र रिस/राग, कटुता, वैरभावलाई बालुवामा लेखेजस्तो गर्ने न कि शिलापत्रमा लेखेजस्तो जमट गरी राख्ने।

आत्मिक वा आध्यात्मिक जीवनमा रमाउने मानिसलाई आनन्दको प्राप्तिको केही ठेगाना थाहा भइसकेको हुन्छ। उनीहरू त्यस ठेगानाको खोजी गर्दै पुग्नु पर्ने ठाउँमा पुग्न धेरै समय लगाउँदैनन्। त्यसबारेमा अनभिज्ञ व्यक्तिचाहिँ कोही बाटोको पहिचानमै समय लगाएर अल्मलिएका हुन्छन् भने कोहीचाहिँ सोझो बाटो थाहा नहुँदा घुमाउरो बाटोको पछि लाग्दा लाग्दै अनेक आडम्बर, रूढिवादी, अन्धविश्वासमा अलमलिएर जीवनलाई समाप्त गर्न पुग्छन्। असत्यको बाटोमा लाग्दा लाग्दै सत्यलाई बिर्सिसकेका हुन्छन् भन्दा फरक पर्दैन। 

आनन्दको प्राप्तिको सबैभन्दा सजिलो उपाय हो, त्यसको खोजीका लागि बाहिरी संसारमा नअल्मलिने। किनकि आनन्दको ठेगाना आफूभन्दा बाहिरतिर छँदै छैन। त्यो त भित्रै छ, आफैँसँगै छ, अझ तपाईं नै त्यसको स्रोत हुनुहुन्छ। सुख, शान्ति र आनन्द प्राप्तिका लागि भएको घरगृहस्थ पो छाड्नुपर्छ कि भनी कत्तिलाई लागेको हुन सक्छ। त्यसो गर्नु जरुरी छैन। घरमै बसे पनि हुन्छ। सुख, शान्ति र आनन्द त्यहीँ पनि पाउन कुनै गाह्रो छँदै छैन। मात्र सांसारिकतामा नअल्मलिने हो, त्यसमा नडुब्ने हो, त्यसमा आसक्त नहुने हो। संसारमा रहने तर सांसारिक नबन्ने। कुनै विषयमा पनि आसक्त नहुने हो भने गृहस्थै भएर सुख, शान्ति र आनन्दको मार्ग पहिल्याउन गाह्रो पर्दैन।

दिनुमा जति आनन्द छ लिनुमा हुँदैन। यो सेवाका हात बढाउनेहरूलाई बढी थाहा हुन्छ। सुपात्रलाई दिनुमा सुख, शान्ति र आनन्दप्राप्ति हुने भएकाले अनेक सामाजिक संस्था, आश्रम, अनाथालयले सहयोगी हातहरू पाइरहेका हुन्छन्। मनलाई निस्वार्थता, स्वच्छता, पवित्रता, सत्यता, पारदर्शिताको माध्यमबाट जति निर्मल बनायो, त्यत्ति आनन्दको वर्षा हुन थाल्छ। अझ त्यसमा उदार, विशाल, विराट र व्यापक भाव जाग्यो भने त जीवनमा सौन्दर्य खिल्न किञ्चित बेरै लाग्दैन। आजको विश्व, आजका मानिसमा देखिएको समस्या भन्नु नै अज्ञानता हो। 

निर्दयता, क्रुरता र सङ्कीर्णताको भावना, विचार र कर्मबाट मुक्त हुने हो भने आनन्दको वर्षा हुन् थाल्छ। चित्तमा चञ्चलता र लघुताले मानिसलाई आनन्द प्राप्तिबाट विमुख तुल्याउँछ। शत्रु हुन् कि मित्र सबैप्रति समान भाव, समान दृष्टिकोण, मर्यादापूर्ण व्यवहार गर्न सकिने जब अवस्था जीवनमा सिर्जना हुन थाल्छ अनि हेर्नुहोस् आनन्दको वर्षा कसरी हुन्छ! जब तपाईंमा भेदभाव नै छैन समभाव छ, समदृष्टि छ, दया, माया, प्रेम, करुणा, अहिंसा, सत्य, अनुशासन, प्रीति, निस्वार्थता छ भने कोसँग शत्रुता ? अनि के चाहियो ? सुख, शान्ति र आनन्दै आनन्द भएन सर्वत्र! यो नजान्दा मानिसले जीवनमा अनेकौँ किसिमका हन्डर र बबन्डरको सामना गर्नुपर्ने हुन्छ। यसलाई सम्झने, बुझ्नेतर्फ थोरै, नितान्त थोरै मानिसको मात्र ध्यान गएको हुन्छ। अर्को शब्दमा भन्ने हो भने आनन्द प्राप्तिको यो मार्ग र रहस्यलाई बुझ्ने चेष्टासम्म नगरी जीवनलाई बर्बाद तुल्याइरहेका हुन्छन्। यो जीवनप्रतिकै अनभिज्ञता होइन ?

सुख, शान्ति र आनन्द प्राप्तिका लागि सबैभन्दा चनाखो हुनुपर्ने कुरा भनेको स–साना विषयवस्तुले ती लक्ष्यको प्राप्तिमा कतै अवरोध नल्याओस्। आनन्द परमान्दस्वरूप छ, परमात्मस्वरूप छ। त्यस्तो सुख, शान्तिको स्रोतलाई स्वागत गर्न छोडेर जीवनका स–साना तीता/नमीठा या कटुतामा अल्मलिनु कतै योग्य काम हुँदै होइन। तिनलाई प्राप्त गर्ने हो भने झिनामसिना कुरामा समय बर्बादी गर्नुको कुनै औचित्य छैन। समयको दुरुपयोग गर्नतिर नलागी समयको सदुपयोग कसरी हुन्छ ? भन्नेमा बढीभन्दा बढी ध्यान दिनु सबैभन्दा बुद्धिमानी हुन्छ। आनन्दको अज्रस स्रोत तपाईंभित्रै छ, मात्र अन्तर्मुखी भएर त्यसलाई पाउनेतिर अभिमुख हुनु आवश्यक छ। तपाईंमा के छैन ? सबै विशेषताले ओतप्रोत छ। त्यसलाई पाउन किन प्रयास नगर्ने ? 

आनन्द तपाईं सम्मुख आउन लालायित छ। तर तपाईं नै त्यसलाई आत्मसात् गर्नेतिर प्रवृत्त हुनु हुँदैन भने दोष तपाईंकै हुन्छ। विचार गर्नुहोस् आनन्दको प्राप्तिमा कतै तपाईं पछाडि त पर्नु भएको छैन ? आनन्दको प्राप्तिलाई तपाईं अभीष्ट बनाउन चाहनु हुन्छ भने आनन्दलाई भगाउने विषयवस्तुबाट टाढा रहन सक्नुपर्छ। त्यो भनेको जति पनि नकारात्मक सोचाइ, धारणा, चिन्तन र कर्म, जसले मनलाई विचलित तुल्याउँछन्, तिनबाट मुक्ति पाउन सक्नुपर्छ। नकारात्मकतालाई, बेमानीलाई, भ्रष्टतालाई, अशान्तिलाई, हिंसालाई, अहङ्कारलाई अपनाउँदै पनि रहने अनि सुख, शान्ति र आनन्द पनि चाहने ? त्यो त हुनै सक्तैन। यी सबैबाट बाहिर उत्रन सक्नुपर्छ तब न सुख, शान्ति र आनन्दको प्राप्ति यसरी हुन थाल्छ कि त्यसको कसरी बयान गर्ने ? यो अरूबाट भन्दा पनि स्वयंले थाहा पाउनु पर्ने विषय भएकोले आजैदेखि, अहिलेदेखि, तत्कालैदेखि खोज्न प्रारम्भ गरौँ। सुख, शान्ति र आनन्दको प्राप्ति टाढाको कुरा पटक्कै छैन। आफूभित्रै छ, यही छ, आफ्नै नजिक छ, टाढा छँदै छैन।