• ११ असोज २०८१, शुक्रबार

नमस्ते मेयर जनगुनासो सुनुवाई सेवा सुरु

blog

नमस्ते मेयर जनगुनासो सुनुवाई सेवाको सामुहिक रुपमा शुभारम्भ गरिदैं । तस्बिर : वीरबहादुर सिंह

अविनाश चौधरी

धनगढी, मङ्सिर २३ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले ‘नमस्ते मेयर जनगुनासो सुनुवाई सेवा’ सञ्चालन गरेको छ । भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाले सो सेवा सञ्चालनमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी किरण थापा, मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र शिक्षाविद डा. हेमराज पन्त लगायतले नमस्ते मेयर जनगुनासो सुनुवाई सेवाको शुक्रवार संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । 

नमस्ते मेयर जनगुनासो सुनुवाई सेवामार्फत सर्वसाधारणले टिपाएका गुनासोको सकेसम्म छिटो सम्बोधन गरिने धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । सेवाको उदघाटन गर्दै मेयर हमालले धनगढी उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । ‘भ्रष्टाचारमुक्त नगर बनाउने चाहना छ । यो चाहनामा सबैले साथ दिनेमा विश्वस्त छु’ उहाँले भन्नुभयो । 

धनगढी उपमहानगरपालिकाको सेवा सुविधालाई छिटोछरितो रुपमा प्रवाह गर्ने र भ्रष्टाचारमुक्त नगर बनाउने आफूले अठोट गरेको हमालले बताउनुभयो । सफा पानी आउन मूल सफा हुनुपर्ने चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो, ‘यदि मूल नै फोहोर छ भने पानी सफा हुँदैन । यहाँ मूल भनेको राजनीतिक नेतृत्व हो । नेतृत्व इमान्दार छैन भने भ्रष्टाचार अन्त्यको कल्पना गर्न सकिदैन ।’ 

मेयर भ्रष्टाचारी हुन नहुने भन्दै हमालले धनगढी उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त बनाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । युएनडीपीको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत नमस्ते मेयर जनगुनासो सेवा सञ्चालन भएको जनाइएको छ । यो सेवा नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकामा सुरु गरिएको परियोजनाका अधिकृत मनोज ओझाले जानकारी दिनुभयो । 

यो सेवा अन्तर्गत सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम र ह्वाट्स एपमार्फत गुनासा तथा सुझाव टिपाउन सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसैगरी, जनगुनासाका लागि टोलफ्री नम्बर पनि राखिएको छ । गुनासा तथा सुझाव सङ्कलनका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयमा छुट्टै जनगुनासो इकाइ स्थापना गरिएको छ ।