• १३ साउन २०८१, आइतबार

आन्तरिक पर्यटकको रोजाइ बन्दै ‘ज्यामिरे दह’

blog

घोराही –१३ स्थित ज्यामिरे दहमा डुंगामा सयर गर्दै आन्तरिक पर्यटकहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, मङसिर २३ गते । आन्तरिक पर्यटकको गन्तव्यको रूपमा रहेको ज्यामिरे दहमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । घोराही उपमहानगरपालिका –१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दैगएको हो । सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्नेगरेका छन् । 

अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउनेगरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका बिरजङ पुनले बताउनुभयो । जंगल बीचमा रहेको सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटकहरु आउनेगरेको पुनले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दैनिक सरदर ५० देखि एक सय जनासम्म मानिसहरु घुम्न आउनेगरेको छन् । 

मंसिरदेखि बैशाख महिनासम्म बढी भिड हुनेगरेको उहाँको भनाइ छ ।  विगत तीन बर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आउनुभएका पुनले डुंगा चलाएरै मासिक १५ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो । 

सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई विस्तार गरी पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै डुङ्गा सञ्चालन हुँदा चहलपहल बढ्दैगएको डुंगाचालक पुनको भनाइ छ । ‘पहिले सानो पोखरीका रुपमा रहेको थियो । तर पछि विस्तार गरी ठूलो बनाएर डुंगा सञ्चालन गरेपछि चहलपह बढ्दै गएको छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय दहको अवलोकनसँगै डुंगामा सयर गर्न मानिसहरु आउने गर्नुभएको छ ।’ उहाँका अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक रूपमा मानिस आउने गर्नुभएको छ ।  

डुंगामा चढ्न एक जनाको ५० रूपियाँ टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि ४० मिनेटसम्म समय लाग्नेगरेको चालक पुनले बताउनुभयो । दहमा आकर्षण बनाउन थप पूर्वाधार आवश्यक रहेको उहाँले बताउनुभयो । 

‘सानो पोखरीलाई विस्तारसँगै डुंगा राखेर पर्यटक तान्ने काम भएको छ’ उहाँले भन्नुभयो, ‘यसले ज्यामिरे दहमा चहलपहल बढेको छ । थप चहलपहलका लागि बाख्रकुने दहदेखि ज्यामिरेसम्म पुग्न निर्माणाधिन अवस्थामा रहेको सिढीसँगै रेलिङको काम पूरा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ । घोराही उपमहानगरपालिका १३ कलमघारी निवासी गीता नेपालीले चार वर्षदेखि ज्यामिरे दह नजिकै व्यापार गर्दै आउनुभएको छ । ज्यामिरे दहलाई पर्यटकीय रुपमा विकास गरेपछि व्यापार व्यवसाय समेत वृद्धि भएको उहाँको भनाइ छ । 

‘सानो पोखरीका रुपमा रहेको दहलाई विस्तारसँगै व्यवस्थित गरेपछि चहलपहल बढेको छ । व्यापार पनि राम्रो भएको छ’ व्यवसायी नेपालीले भन्नुभयो, ‘अब पोखरीसँगै ज्यामिरेमा रहेको सानो मन्दिरलाई समेत व्यवस्थित गर्न आवश्यक छ । घुम्न आउनेका लागि आराम गर्ने विश्रामस्थल निर्माण गर्न आवश्यक छ ।’  

दहको विकासका लागि विश्रामस्थलसँगै खानेपानी, हिड्नलाई सहजताका लागि सिंढी निर्माण लगायतका काम हुन आवश्यक रहेको अर्का स्थानीयबासी टीकाराम गिरीले बताउनुभयो ।  प्रतिक्षालय नहुँदा घाम तथा पानी पर्दा घमफिरका लागि गएका मानिसलाई समस्या हुनेगरेको छ ।