• ११ असोज २०८१, शुक्रबार

सिद्धार्थनगरमा अतिक्रमित फुटपाथ हटाइँदै

blog

फाइल तस्बिर

लक्ष्मण पौडेल

भैरहवा, मंसिर २३ गते । आवत–जावतमा समस्या हुनेगरी फुटपाथ अतिक्रमण भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अतिक्रमण गर्नेलाई हटाउन सुरु गरेको छ । सडक फुटपाथ अतिक्रमण बढेको र यसले सर्वसाधारणलाई आवत–जावतमा समस्या पर्नुका साथै सहरको सौन्दर्यता समेत धुमिल बनाएकाले हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

“फुटपाथ अतक्रिमणले नगर कुरुप देखिएको छ, अर्काेतर्फ सर्वसाधरणलाई हिँड्डुल गर्न समस्या छ” नगर प्रमुख इस्तियाक अहमद खानले भन्नुभयो, “हामीले अभियान नै चलाएर फुटपाथ खाली गराउन सुरु गरिरहेका छौं, यो अभियान निरन्तर रहने भएकाले  नगरबासीलाई फुटपाथ नमिच्न आग्रह गर्दछु ।”

नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरीहरु दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् । “फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ” नगर प्रहरी प्रमुख मनोज मल्लले भन्नुभयो, “अटेर गरेमा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणमा लिनेगरेका छौँ ।”

विशेषगरी व्यवसायीहरुले बजार क्षेत्रका सडक फुटपाथ अतिक्रमण गरेका छन् । नगर प्रहरीले अतिक्रमण गरेर राखिएका सामग्री नगरपालिकाको कार्यालयमा ल्याउने गरेका छन् । नगरपालिकाको कार्यालयमा आएको सामग्री व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नविकरण गरे–नगरेको समेत पहिचान गर्ने गरिएको छ ।

“नियन्त्रणमा लिएको सामग्री व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्नेगरेका छौँ” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भन्नुभयो, “यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ ।”

सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधारणलाई सहज भएको र राजश्व नबुझाएका व्यवसायीले राजश्व समेत बुझाउन थालेको बताउनुभयो । व्यवसायसम्बन्धी सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणको हकमा पहिलो पटकका लागि सचेत गराएर सामग्री दिने गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत तीन दिनमा करिब ६० हजार रुपियाँ राजश्व संकलन भएको छ । अहिले नगरका विभिन्न ठाउँमा नगर प्रहरी पुगेर सचेत गराउने गरिरहेका छन् । भैरहवामा गल्लामण्डी, नयाँ सडक, नारायणपथ, बेलहिया, बैंकरोड, बुद्धचोक, मिलनचोक लगायतका ठाउँमा फुटपाथ अतिक्रमण भएको छ ।