• ११ असोज २०८१, शुक्रबार

थप चार मुलुकसँग हवाई सम्झौताको तयारी

blog

काठमाडौँ, मङ्सिर २२ गते । नेपालको नागरिक उड्डयन क्षेत्रमा पहिलो पटक अमेरिका र स्विट्जरल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता अघिबढेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुईतर्फी उडान सम्झौता गर्न अमेरिकाले नेपाललाई खुला आकाश नीति लागू गर्न प्रस्ताव गरिसकेको छ । त्यस्तै इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डालगायत मुलुकसँग दुईतर्फी हवाई सम्झौता प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो नीति अवलम्बन गर्न गृहकार्य सुरु गरिसकेको जानकारी गराइएको हो । उक्त कार्यक्रममा बोल्दै एटीसी अफिसर मुकेश डङ्गोलले हालसम्म इन्टर्मिडिएट पोइन्टअन्तर्गत दुईतर्फी उडान सम्झौता रहे पनि नेपालले कार्गो उडानमा भने खुला आकाश नीति लागू गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले हालसम्म इन्टर्मिडिएट पोइन्टमार्फत उडान स्वीकृति दिँदै आएको छ । नेपाल–अस्ट्रेलिया उडानका लागि नयाँ दिल्लीबाहेक अरू पोइन्टमार्फत दिइएको छ ।”

इन्डोनेसियासँगको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उहाँले अस्ट्रेलिया उडान गर्दा इन्डोनेसिया भएर उडान भर्दा थप प्रभावकारी हुने र दुईतर्फी उडानमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप फलदायी हुने बताउनुभयो । 

रुवान्डासँग हवाई सम्झौताको प्रक्रियासमेत अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । यसअघि अफ्रिकी मुलुक इजिप्टसँग मात्रै नेपालको सम्झौता थियो । 

उक्त कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धि गर्न उड्डयन उद्योगमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले दुईपक्षीय हवाई सम्झौतामार्फत नेपालको उडान पहुँच विस्तारसँगै मुलुकको आर्थिक क्षमता विस्तार हुने बताउनुभयो । 

त्यस्तै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेको हवाई नीतिले मुलुकको उड्डयन क्षेत्र उचित रूपमा अगाडि बढ्न नसकेको बताउनुभयो । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अस्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।