• ११ वैशाख २०८२, बिहिबार

राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा छ : महासचिव पोखरेल

blog

नेपाल कम्युनिस्ट पार्टी (एमाले) द्वारा बिहीबार भृकुटी मण्डपमा आयोजित युवा सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शंखर पोखरेल । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ, वैशाख ११ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताउनुभएको छ।

एमालेले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा  विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा भएको बताउनुभयो। “तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ”, महासचिव पोखरेलले भन्नुभयो ।      

देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उहाँले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक रहेको बताउनुभयो। “युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ”, उहाँले थप्नुभयो, “युवाको भविष्य सुरक्षित गर्दछ।”

आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै उहाँले वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको बताउनुभयो।  देश र विकासका पक्षमा उभिएका कारण एमालेमाथि आक्रमण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम एमाले सरकारमा आएपछि अहिले धमाधम अघि बढेका छन्।”      

महासचिव पोखरेलले एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उहाँले जनताको पक्षमा काम गर्नेमाथि भरोसा गर्न आग्रह गर्नुभयो।      

देशका दुई ठूला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेको र अहिले दुई वटा पार्टी मिलेकाले धेरै ऐनहरू अघि बढाएको हुनाले हरेकले विश्वास र भरोसा गर्न आग्रह गर्नुभयो। आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदैछन् भन्ने भ्रमलाई चिरेको भन्दै देशभरका युवा नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनुपर्ने भनाइ उहाँले राख्नुभयो।

महासचिव पोखरेलले नेपाल राष्ट्र युवाको राष्ट्र भएका र श्रम गर्नसक्ने लाखौँ लाख युवा नेपालमा भएको उल्लेख गर्दै भन्नुभयो, “कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न अघि बढ्नु पर्छ।”      

उहाँले वैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रकाले जनतासामु घुँडा टेकेको दिन भएको र त्यसैले यो दिनको विशेष महत्व भएको उल्लेख गर्नुभयो।