• ११ असोज २०८१, शुक्रबार

महिला नेत्रीमाथि लैङ्गिक हिंसा बढ्दो

blog

काठमाडौँ, मङ्सिर २२ गते । राजनीतिमा सक्रिय महिलामाथि पछिल्लो समय अनलाइनमार्फत लैङ्गिक हिंसा बढिरहेको तथ्याङ्क सार्वजनिक भएको छ। विभिन्न संस्थाले गरेका अध्ययन प्रतिवेदनले यस्तो तथ्याङ्क उजागर गरेका हुन्। 

यो पनि पढ्नुहोस

मन्त्रालय आफैँ हिंसामा छ : मन्त्री रेग्मी

राष्ट्रिय सूचना आयोगले बुधबार काठमाडौँमा आयोजना गरेको ‘राजनीतिमा लैङ्गिक हिंसा न्यूनीकरणमा सूचनाको हक विषयक’ राष्ट्रिय गोष्ठीमा प्रस्तुत अध्ययन प्रतिवेदनमा निर्वाचनको समय अझ बढी महिला राजनीतिकर्मीविरुद्ध अनलाइन हिंसा हुने गरेको उल्लेख छ। यूएसएड, नेसनल डेमोक्रेटिक इन्स्टिच्युट र पानस साउथ एसियाले संयुक्त रूपमा गरेको अध्ययनमा महिला राजनीतिकर्मीप्रति सामाजिक सञ्जालमा विभिन्न किसिमका स्त्रीद्वेषी शब्दावली प्रयोग, अपमानजनक तथा घृणायुक्त विषयवस्तु व्यक्त, चरित्रबारे नकारात्मक टिप्पणी, भौतिक आक्रमणको धम्की, नकारात्मक अर्थ दिने तस्बिर प्रस्तुत गरी क्षमताको अवमूल्यन गर्ने गरेको पाइएको उल्लेख छ । त्यस्तै महिला राजनीतिकर्मीलाई बदनाम गर्ने, हतोत्साही बनाउने नियतले भ्रामक र गलत सूचना सम्प्रेषण गर्ने गरेको पाइएको उल्लेख छ।

यो पनि पढ्नुहोस

रोकिएन महिला हिंसाका घटनाक्रम

 यस्ता प्रकारका हिंसा विभिन्न राजनीतिक दलभित्रै, कार्यकर्ता र मतदाताबाट समेत हुने गरेको पाइएको अध्ययनले देखाएको छ। राजनीतिमा भर्खर प्रवेश गरेका, अन्य पेसाबाट राजनीतिमा आएका महिला नेत्रीमाथि अझ बढी घृणास्पद अभिव्यक्ति आएको अध्ययनले देखाएको छ। 

पानसले सङ्ख्यात्मक र गुणात्मक अध्ययन विधि अपनाएर अध्ययन गरेको जनाएको छ। त्यसमा १४८ फेसबुक पेज जसमा २३ महिला राजनीतिकर्मी, चार राजनीतिक दलका औपचारिक पेज र २४ प्रतिभाशाली व्यक्तिको फेसबुक पेजलाई लिइएको स्पष्ट पारेको छ। त्यस्तै दैनिक पत्रिका गुगल अलर्ट, महिला नेत्रीको नामको किबोर्ड र साप्ताहिक पत्रिकाको अध्ययन गरिएको जनाइएको छ। 

त्यस्तै पर्पल नामक संस्थाले ४९२ जनामा गरेको सर्वेक्षणमा ९१ प्रतिशतले राजनीतिमा लैङ्गिक हिंसा रहेको बताएका छन्। 

पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफू राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै गर्दा आफूलाई हतोत्साही गर्ने किसिमले सामाजिक सञ्जालमार्फत गालीगलौज र घृणित अभिव्यक्ति आउने गरेको बताउनुभयो। त्यस्तै महिला नेत्री हिसिला यमीले सामाजिक सञ्जालमार्फत आफूलाई डा. बाबुराम भट्टराईकी श्रीमतीका रूपमा मात्र चित्रित गर्ने, एसियाकै भ्रष्ट महिला नेत्री भनेर लाञ्छना लगाउने गरेको गुनासो गर्नुभएको छ। 

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सबै तह र पेसा व्यवसायमा रहेका महिलामाथिको हिंसा बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो।