• ११ असोज २०८१, शुक्रबार

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

मानवअधिकार अवलम्बनमा नेपाल उच्च स्थानमा : राष्ट्रपति भण्डारी

blog

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकार र लोकतन्त्र अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताउनुभएको छ । आयोगद्वारा तयार गरिएको २०७८-७९ को वार्षिक प्रतिवेदन आज बुधबार बुझ्नु हुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मानव अधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो । 

सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्धनसम्बन्धी १७१ कार्यक्रम सम्पन्न भएको जानकारी गराउनुभएको थियो । मलेसियामा रहेका आप्रवासी कामदारको अधिकार संरक्षणका लागि आयोगले मलेसियाको मानव अधिकार आयोगसँग समझदारीपत्रमा हस्ताक्षर गरेको, प्रेस विज्ञप्ति तथा प्रेस नोटमार्फत मानव अधिकार उल्लङ्घनका घटनामा नेपाल सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको उहाँले जानकारी गराउनुभयो । 

प्रतिवेदनमा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरूलगायत मानव अधिकार संरक्षण र संवर्द्धनमा  आयोगबाट वर्ष भरी भएका कामको विवरण समेटिएको प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


आयोगका अनुसार प्रतिवेदन अवधिमा आयोगमा मानव अधिकार उल्लङ्घनका १०१ उजुरीहरू दर्ता भएका छन् । मानव अधिकारसँग सम्बन्धित विषयमा २२१ पटक अनुगमन भएको आयोगले जनाएको छ । आयोगले पुराना र नयाँ गरी ५०३ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ । 

त्यस्तै, आयोगको सिफारिसको कार्यान्वयन अवस्था १५.३ प्रतिशत पूर्ण कार्यान्वयन, ३९.२ प्रतिशत आंशिक र ४५.५ प्रतिशत सिफारिस कार्यान्वयन हुन बाँकी रहेको उल्लेख छ । 

प्रतिवेदन बुझाउने क्रममा आयोगका सदस्यहरू, का.मु. सचिव, सहसचिवलगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।