• ११ असोज २०८१, शुक्रबार

वीरेन्द्रनगरका युवाले बनाउनुभयो, पेट्रोलबाट चल्ने गाडी

blog

दिनेश अधिकारीले बनाउनुभएको पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन । तस्बिर : गोरखापत्र

नविन सुवेदी 

सुर्खेत,  मङ्सिर २१ गते । सुर्खेतको वीरेन्द्रनगरका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाउनुभएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरमा कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले विद्यालयका शिक्षक, शिक्षिकाको सहयोगमा गाडी बनाउनुभएको हो । 

झन्डै पाँच महिनाको समयमा सो गाडी बनाएको उहाँले बताउनुभयो । गाडीको नाम चाहिँ अहिलेसम्म नराखेको उहाँले बताउनुभयो । अधिकारीले बनाएको गाडीमा चालकसहित दुई जनासम्म बस्न मिल्ने छ । उहाँले गाडी आफ्नो घरमै बनाएर घरबाटै चलाएर विद्यालयमा ल्याउनुभएको हो । निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको उहाँले बताउनुभयो । 

‘‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्ने लाग्थ्यो, उहाँले भन्नुभयो, सोही अनुसार बनाउँदै सिक्दै थिएँ विद्यालयका शिक्षकहरूले एउटा अलि ठुलो गाडी बनाएर देखाऊ त भन्नुभयो, त्यसैको प्रेरणाले यो गाडी बनाएको हुँ ।’’

राम्रो सामान नभेटिएकाले सेन्टिफिटिकल क्लोज, गियर बक्स लगायतका सामानहरू पाइएन, उहाँले भन्नुभयो–यसको क्लोज भएको भए अझै सहज तरिकाले चल्थ्यो गियर बक्स राखेर, नभएकाले बिस्तारै चल्छ ।’’

उहाँले अहिले उक्त गाडी आफ्नै टेक्निकले चलाउने गरेको बताउनुभयो । भविष्यमा कतैबाट सहयोग पाइएको खण्डमा यसैलाई व्यवसायमूलक रूपमा अगाडि बढाउन इलेक्ट्रिक बाइक, कार बनाउने उहाँको योजना रहेको छ ।