• १७ असार २०८१, सोमबार

लिम्बू चासोक तङ्नामको तयारी

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी, मङ्सिर २१ गते । लिम्बू जातिको महान् चाड चासोक तङ्नाम (उधौली पर्व)का अवसरमा मोरङको उर्लाबारी–९, आम्बारीमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। किराँत याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा मङ्सिर २२ देिख २४ गतेसम्म चासोक तङ्नाम मनाउन लागिएको हो। चासोकलाई उत्सवका साथ मनाइने तयारी गरिएको किराँत याक्थुङ चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले जानकारी दिनुभयो। 

अध्यक्ष सुब्बाका अनुसार न्वागी पूजा, प्रसाद वितरणसहित लोक संस्कृति मुलक केलाङ च्याब्रुङ नाच, येवा लाङ, माङलाक प्रर्दशनी, धान नाचको प्रर्दशनी, लिम्बू गीतमा नृत्य, गीत प्रस्तुत गर्ने तयारी छ। आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरणले नयाँ पुस्ताले मौलिक सांस्कृतिक चाडपर्व बिर्संदै गएकाले सामूहिक रूपमा चासोक तङ्नाम मनाउँदै सांस्कृतिक पुस्तान्तरण गर्ने सोच रहेको सुब्बाको भनाइ छ। 

खेतबारीमा छरपोख गरेर अन्नबाली उब्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफूले खाएर मनाउने खुसीयालीको अवसरमा चासोक तङ्नाम मनाइने गरिएको प्रकाश कन्दङ्वा बताउनुहुन्छ। चासोकमा साइनो नलाग्ने युवकयुवतीहरू च्याब्रुङ बजाएर आपसमा हात समाएर पालाम गाउँदै धान नाच नाच्ने गर्छन् । यो चाडलाई लिम्बू समुदायले एकता र मेलमिलापको रूपमा लिने गरेको लिम्बू बुढापाका बताउँछन्। 

प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति चासोक तङ्नाम हो। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्। धान पाक्न थालेसँगै थन्क्याउने समयभरि यो चाड मनाइन्छ। मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ। यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ। चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उँधौली याम (दक्षिणायण)को न्वागी पर्व पनि हो। 

धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ। चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाइन्छ। फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन्।