• ११ असोज २०८१, शुक्रबार

मेलम्ची समिति खारेजीको पुनरवलोकन हुने

blog

काठमाडौँ, मङ्सिर २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति खारेजीबारे सरकारले पुनरवलोकन गर्ने बताउनुभएको छ। उहाँले समितिको औचित्य र आवश्यकताबारे मुख्यसचिव तथा सरोकारवाला निकायका अधिकारीसँग छलफल गरी निर्णय लिने बताउनुभयो।

काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको टोलीसँग प्रधानमन्त्री देउवाले मङ्गलबार समिति खारेज गर्ने निर्णय, त्यसको औचित्य तथा आवश्यकताबारे छलफल गरी निर्णय लिने बताउनुभएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो।

त्यस अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र–१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्चीको खानेपानी सहज वितरण गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो। नेता सिंहसहितको टोली गत हप्ता मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी फर्किएको थियो। नेता सिंहले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित पाँचबुँदे ध्यानाकर्षणपत्र प्रधानमन्त्रीसमक्ष पेस गर्नुभएको थियो।

जसमा आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका तथा स्थानीय बासिन्दाले राखेको माग सम्बोधन गर्न, मेलम्चीको पानी हिउँद मात्र नभई बाह्रै महिना काठमाडौँ ल्याउने गरी व्यवस्थापन गर्न, मेलम्ची खानेपानी विकास समिति खारेज हुँदा कार्यरत कर्मचारीको व्यवस्थापन तथा रोकिएको पारिश्रमिक सम्बोधन गर्न ध्यानाकर्षण गराइएको छ।

ध्यानाकर्षणपत्रमा आयोजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न एसियाली विकास बैङ्कलगायतका अन्तर्राष्ट्रिय सङ्घसंस्थाले गरेको अध्ययन र पेस गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अघि बढाउन पनि माग गरिएको छ। मेलम्ची खानेपानी विकास समिति खारेज भएसँगै केही कर्मचारीको तलब तथा सुविधा रोकिएको छ।

चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा मेलम्ची खानेपानी आयोजना विकास समिति खारेज गर्ने निर्णय भएको थियो। समिति खारेजसँगै कतिपय कर्मचारीको समायोजन तथा तलब सुविधामा समेत समस्या उत्पन्न भएको छ।

सांसद पौडेलले प्रधानमन्त्री देउवासमक्ष काठमाडौँका कतिपय स्थानमा मेलम्ची खानेपानीको पहुँच नपुगेको जानकारी गराउँदै त्यस्ता स्थानमा वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको बताउनुभयो। बूढानीलकण्ठ नगरपालिका–७, खत्रीगाउँमा खानेपानीको इन्टेक रहे पनि खानेपानी वितरण नभएको बरु त्यसैका कारण बस्ती असुरक्षित भए/नभएको प्राविधिकबाट अध्ययन गरी/गराई वैकल्पिक व्यवस्था गर्नसमेत नेता पौडेलले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो।

मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न, पुनर्निर्माणलगायतका उचित व्यवस्था गर्न, आयोजनाको मुहान क्षेत्रमा स्थानीयको गुनासो सम्बोधन गर्न, मुहान क्षेत्रसम्म पक्की सडक, शिक्षा र स्वास्थ्यमा ध्यान दिनसमेत आग्रह गरिएको थियो।

मनसुन सुरु हुनुभन्दा केही दिनअघि गत जेठ १९ गतेदेखि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी गत हप्तादेखि पुनः पथान्तरण गरिएपछि सोमबार सुन्दरीजल आइपुगेको छ। हाल सुरुङमार्गमा आठ मिटरसम्म पानीको तह भरिएको र १४ मिटर पुगेपछि वितरणको तयारी हुनेछ।