• १२ असोज २०८१, शनिबार

विद्यालयमा बस्ने कुर्सी छैन

जहाँ बालबालिका बोरा बोकेर विद्यालय जान्छन्

blog

बोरा ओच्छ्याएर अध्ययन गर्दै बालबालिका। तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, मङ्सिर २० गते। रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा बस्नका लागि डेस्क र बेन्च नहुँदा बालबालिका बोरा लिएर विद्यालय जान बाध्य छन्। 

नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालयमा डेस्क र बेन्च नभएपछि  १ देखि ६ कक्षासम्म अध्ययन गर्ने बालबालिका बस्नका लागि बोरा लिएर विद्यालय जान बाध्य भएका हुन्। 

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा ७४८ जना बालबालिका अध्ययन गर्छन्। जसमध्ये कक्षा १ मा ४६, कक्षा २ मा ७०, कक्षा ३ मा ५७, कक्षा ४ मा ९१, कक्षा ५ मा ७८ जना र कक्षा ६ मा १३० जना जना विद्यार्थी छन्। १ देखि ६ कक्षासम्म अध्ययन गर्ने ४७२ जना विद्यार्थी बस्नका लागि बोरा बोकेर विद्यालय जान बाध्य भएका हुन्।

विद्यालयमा बालबालिका बस्ने डेस्क र बेन्च नभएको विषय नगरपालिकाको सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवको गुनासो छ। 

२०१७ सालमा स्थापना भएको विद्यालयमा अघिल्लो आर्थिक वर्ष नगरपालिकाले १० कोठे भवन निर्माण गरेको छ। भवन निर्माण गरे पनि विद्यार्थी बस्नका लागि आवश्यक डेस्क र बेन्चको व्यवस्थापनका लागि बजेट विनियोजन नभएको उहाँले गुनासो गर्नुभयो। विद्यार्थी बस्नका लागि डेस्क र बेच्न आवश्यक भएको भनेर कार्यवाहक नगरप्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र शिक्षा शाखा प्रमुखसँग कुराकानी भए पनि यो विषयमा चासो नदिएको प्रधानाध्यापक यादवको गुनासो छ। 

‘‘विद्यालयको अवस्थाको विषयमा नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र शिक्षा शाखा प्रमुखलाई समेत जानकारी गरायौँ। तर कसैले कुनै चासो देखाउनुभएन’’,  विद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले भन्नुभयो।

नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्रप्रसाद यादव विद्यालयमा डेस्क र बेन्चका लागि अर्को आर्थिक वर्षमा बजेट विनियोजन हुने बताउनुहुन्छ। ‘‘नगरपालिकासँग विद्यालयको अवस्थाको विषयमा कुराकानी भएको छ। आगामी आर्थिक वर्षको बजेटमा आवश्यक डेस्क र बेच्नका लागि रकम विनियोजन हुन्छ’’, उहाँले भन्नुभयो। 


बस्नका लागि बोरा लिएर विद्यालय जाँदै बालबालिका। तस्बिर : यादवराज पुरी