• १२ असोज २०८१, शनिबार

रगत अभाव, बिरामीलाई सास्ती

blog

सिराज खान 

नेपालगञ्ज, मङ्सिर २० गते । पश्चिम नेपालको तीनवटा प्रदेशको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क)मा रगतको मौज्दात न्यून हुँदा समस्या उत्पन्न भएको छ। 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेकाको प्रमुख उपचार केन्द्र बनेको नेपालगञ्जमा रगत अभावले गम्भीर अवस्थाका बिरामीलाई समस्या हुन थालेको हो। रक्तसञ्चार केन्द्रका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले चाडपर्वलगत्तै निर्वाचन हुँदा संस्थागत रक्तदानका कार्यक्रममा कमी आउँदा रगतको अभाव भएको बताउनुभयो। “हामीले रक्तदाता संस्था र रक्तदाता ग्रुपसँग नियमित सम्पर्क गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “संस्थाहरूले नियमित रक्तदान गराउने र अभावको समस्या समाधान गर्ने आश्वासन दिएका छन्, आशा छ छिट्टै समाधान हुनेछ।”

रगतको अभाव भएपछि गम्भीर अवस्थाका बिरामीलाई तत्काल चाहिने रगतका लागि आफन्तले निकै दौडधुप गर्नुपरेको अस्पतालहरूले जनाएका छन्। भेरी अस्पतालमा बिरामी भर्ना गरेका कोहलपुर १० का रमेश थापाले रक्तसञ्चार केन्द्रमा माग गरिएको समूहको रगत नहुँदा दुई दिन दौडधुप गरेर व्यवस्थापन गर्नुपरेको बताउनुभयो। हालका लागि जेनतेन कम चलिरहे पनि आपत्कालीन ठूलै घटना हुने हो भने त्यसलाई थेग्न सक्ने रगत अहिले रक्तसञ्चार केन्द्रको स्टकमा छैन। कोहलपुर र नेपालगञ्ज गरी दैनिक ५०/६० पिन्ट रगत माग हुने गरेको ब्लड बैङ्कका प्रमुख रेग्मीको भनाइ छ। 

यस क्षेत्रका लागि कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने जानकारी दिँदै प्रमुख रेग्मीले नेपालगञ्जमा तीन हजार पिन्टभन्दा बढी रगत मौज्दात गर्ने क्षमता रहेको बताउनुभयो। रक्तसञ्चार केन्द्रले विभिन्न सङ्घसंस्था र व्यक्तिसँग नियमित रक्तदानको आग्रह गर्दै आएको छ।