• १२ असोज २०८१, शनिबार

वृद्ध भत्ताबाट विद्यार्थीलाई पोषणयुक्त खानेकुरा

blog

गोकर्ण पौडेल 

तुलसीपुर, मङ्सिर २० गते । दाङ तुलसीपुरका स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक दुर्गाबहादुर खत्रीले सामाजिक सुरक्षाबापतको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई पोषणयुक्त खानेकुरा खरिद गरी वितरण गर्नुभएको छ। तुलसीपुर–१९ का ८४ वर्षीय खत्रीले सामाजिक सुरक्षाबापत प्राप्त गर्दै आएको रकमले प्रत्येक वर्ष सामाजिक र धार्मिक कार्यमा हस्तान्तरण गर्दै आउनुभएको छ। 

उहाँले तुलसीपुर–७ मा रहेको तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रमा रहेका बालबालिकाका लागि पोषणयुक्त खानेकुराहरू हस्तान्तरण गर्नुभएको हो। सो अध्ययन केन्द्रमा रहेका १४ जना बालबालिका अमर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्। नेपाल सरकारले दृष्टिविहीन र श्रवणशक्ति नभएका बालबालिकाका लागि मासिक रूपमा सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि भने दिने गरेको छैन। 

ती बालबालिकालाई केन्द्रमै राखेर शिक्षा दिइँदै आइएको छ। केन्द्र सञ्चालनमा समन्वय गर्दै आउनुभएका यज्ञ विश्वकर्माले बालबालिकाको आवास तथा पालनपोषणमा सरकारी निकायबाट सहयोग नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो।  खानेकुरा हस्तान्तरण गर्दै समाजसेवी दुर्गाबहादुर खत्रीले बालबालिकाका लागि आगामी दिनमा खानेकुराका साथै लुगा कपडा, शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने बताउनुभयो। 

उहाँले गत वर्ष ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताबापतको रकमले खाद्यान्न र कपडा हस्तान्तरण गर्नुभएको थियो भने मठ–मन्दिर, चौतारा, आर्यघाट र कुवा निर्माणमा पनि सहयोग गर्दै आउनुभएको छ। सो अवसरमा तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जीसीले शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाका लागि आवासको व्यवस्था गरे पनि लुगा कपडा तथा पालनपोषणका लागि विभिन्न सङ्घसंस्थाको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो। 

बालबालिकाको पालनपोषणका लागि बजेटको व्यवस्थापन जरुरी रहेको पनि उहाँले बताउनुभयो। तुलसीपुर उपमहानगरपालिका र छाया नेपालको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याइएको हो। विद्यालयबाट टाढाको दूरीमा रहेका बालबालिकाका लागि आवासीय व्यवस्थासमेत गरिएको छ।