• १२ असोज २०८१, शनिबार

सत्तारुढ दलको बैठक : थप एकताबद्ध भएर अघि बढ्ने निर्णय

blog

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठकमा सहभागी नेताहरु । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १९ गते । सत्ता साझेदार दल जनता र मुलुकको हितलाई ध्यान दिँदै आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको चार दल प्रमुखहरूको बैठकले सो निर्णय गरेको हो । 

सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको ठहर गरेको छ । 

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति हामी आभारी  छौँ । आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

निर्वाचनका दौरान गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना भएको स्विकार्दै बैठकले आगामी दिनमा गम्भीर समीक्षा गर्दै अघि बढ्ने सहमति गरेको छ । विज्ञप्तिमा भनिएको छ, “मुलुकसामु विद्यमान चुनौतीको सामना गर्नुपर्ने आवश्यकताले यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ ।”