• १२ असोज २०८१, शनिबार

विद्यालय जाने र घर फर्कने समयमा निर्माण कार्य नहुने

blog

धनगढीको शहीदगेटदेखि कैलाली बहुमुखी क्याम्पससम्म निर्माण भइरहेको सडक । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १९ गते । कैलालीमा विद्यार्थी विद्यालय जाने र विद्यालयबाट घर फर्कने समयमा डाइभर्सन नभएका स्थानहरूमा सडकलगायत अन्य पूर्वाधार निर्माणका कार्य नहुने भएको छ । 

विद्यार्थीको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा बसेको सडक पूर्वाधार निर्माण तथा सुरक्षासम्बन्धी समन्वयात्मक बैठकले बाटो नभएका ठाउँमा विद्यार्थीको आउजाउ हुनेबेला निर्माण कार्य रोक्ने निर्णय गरेको हो । धनगढीमा सडक निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले विद्यार्थी किच्दा छात्राको ज्यान गएपछि सरोकारवालाले विद्यार्थीका सुरक्षाको लागि यो निर्णय भएको हो । 

ग्रेडरले किच्दा पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएको थियो । सो घटनापछि आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निर्माण कार्य गर्दा सम्बन्धित निर्माण व्यवसायीले स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराउने निर्णय गरेको छ । 

यसैगरी, सडक निर्माण कार्यमा डाइभर्सन नभएको र विद्यालय क्षेत्रमा विद्यालय खुल्ने र विद्यार्थी फर्कने समयमा निर्माण कार्य रोक्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । 

‘नजिक विद्यालय छ । अर्को बाटो छैन र निर्माण कार्य भइरहेको छ भने भीडभाडले जोखिम हुनसक्छ’ उहाँले भन्नुभयो, ‘त्यस्तो बेलामा सुरक्षाका लागि काम रोक्ने ठेकेदारले सहमति जनाएका छन् ।’ 

सहरी, घना बस्ती भएका क्षेत्र, विद्यालय भएको क्षेत्रमा सडक, भवनहरू निर्माण कार्य गर्दा–गराउँदा निर्माण व्यावसायीहरुले अपनाउनु पर्ने सावधानीका उपाय अपनाएर मात्रै कामदारलाई काम गराउनु पर्ने निर्णय गरिएको छ । यसैगरी, निर्माण कार्य गर्दा सङ्केत चिन्ह राखेर मात्रै काम गर्नु पर्ने बैठकले निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारी थापाको अध्यक्षतामा बसेको बैठकले शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयमा विद्यार्थी समेतलाई सडक अनुशासन तथा ट्राफिक नियमको पालनाबारे प्याब्सन, एनप्याब्सनलाई निर्देशन दिने निर्णय गरेको छ । ‘समग्रमा विद्यालयमा पनि सडक सुरक्षाबारे सचेतना फैलाउने यो अभियान हो’ प्रमुख जिल्ला अधिकारीले भन्नुभयो । 

जिल्लाभित्र हुने निर्माण कार्यमा सुरक्षाका उपाय अवलम्बन भए वा नभएको बारेमा प्रहरी इकाइले अनिवार्य रूपमा अनुगमन गर्ने बैठकले निर्णय गरेको छ । सुरक्षाको मापदण्ड, उपाय पालना नगरेको पाइएमा निर्माण कार्यमा रोक लगाउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । 

बैठकमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, डिभिजन सडक पूर्वाधार कार्यालय महेन्द्रनगरका प्रतिनिधि, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, निर्माण व्यवसायी लगायतको उपस्थिति थियो ।