• १२ असोज २०८१, शनिबार

‘शान्तिको बाटोमा हिँड्न सहयोग’

blog

इलाम समाचारदाता

इलाम, मङ्सिर १९ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक देशका रूपमा विश्वमा परिचित रहेको बताउनुभएको छ। 

आइतबार इलामको माङ्सेबुङको लारुम्बामा आयोजित मुहिङ्गुम आङ्सिमाङ आत्मनन्द लिङ्देनको ६९औँ जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जातीय, धार्मिक, सांस्कृतिक विविधता रहेको नेपाललाई किराँत धर्मले शान्तिको बाटोमा हिँडाउन थप सहयोग गरेको बताउनुभयो। 

“पूर्वी पहाड सभ्यता, भाषा, धर्म, लिपि, संस्कार तथा संस्कृतिले भरिपूर्ण छ,” उहाँले भन्नुभयो, “महागुरु फाल्गुनन्दले सुरु गर्नुभएको किराँत भाषा, लिपि, धर्म, संस्कारप्रति आमनेपालीले गौरव गर्न सक्नुपर्छ।” जीवन र जगत् तथा आन्तरिक सभ्यता बुझाउने उत्कृष्ट सांस्कृतिक सम्पदा मुन्धुम रहेको उल्लेख गर्दै उहाँले धर्म, संस्कारको सचित्र वर्णन भएको मुन्धुम नेपाली संस्कृतिको एक पाटो रहेको बताउनुभयो। “मुन्धुमलाई परम्परागत रूपले परिमार्जित गर्दै अगाडि बढाउने अभियान किराँत धर्मगुरु आत्मनन्दको कदम किराँत धर्मावलम्बीले मात्रै नभएर आमनेपालीले उच्च सम्मान गर्नुपर्छ,” उपराष्ट्रपति पुनले भन्नुभयो। 

धार्मिक पर्यटनको गन्तव्य तथा लाखौँ मानिसको आस्थाको केन्द्रका रूपमा रहेको फाल्गुनन्दको जन्मस्थानको विकासका लागि प्रदेश र स्थानीय सरकारले काम गर्र्नुपर्ने उहाँले बताउनुभयो।