• १३ असोज २०८१, आइतबार

कैलाली–५ मा समानुपातिक मत कांग्रेसलाई बढी

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर १३ गते। कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसले सबैभन्दा बढी समानुपातिक मत पाएको छ। 

कांग्रेसले प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ बढी समानुपातिक मत पाएको हो। प्रतिनिधि सभामा नेपाली कांग्रेसले १५ हजार ६१७ मत प्राप्त गरेको छ। नेकपा (एमाले) ले १४ हजार ३२१, नागरिक उन्मुक्ति पार्टीले ११ हजार ६९७, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ९४७, नेकपा (माओवादी) केन्द्रले पाँच हजार ७३६ मत प्राप्त गरेका छन्। 

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार ४५५, नेकपा (एकीकृत समाजवादी) ले ९१६ र राष्ट्रिय जनमोर्चाले २०३ मत पाएका छन्। यो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ जम्मा ६५ हजार ७०६ मत खसेको थियो। जसमध्ये चार हजार १०९ मत बदर र ६१ हजार ५९७ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

यसैगरी, प्रदेश सभातर्फ पनि नेपाली कांग्रेसले नै सबैभन्दा बढी १६ हजार ८५९ मत पाएको छ। कांग्रेसलाई पछ्याएको नेकपा (एमाले) ले १५ हजार ३२०, तेस्रो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ११ हजार ३३३ मत पाएका छन्। यसैगरी, माओवादी केन्द्रले पाँच हजार एक र नेकपा (एकीकृत समाजवादी) ले एक हजार ६२५ मत पाएका छन्। पार्टीलाई प्राप्त समानुपातिक मत परिणाम अनुसार यो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) दुवै पार्टी कमजोर देखिएका छन्। 

प्रदेश सभातर्फ (क) बाट माओवादी केन्द्रका रमेशसिंह धामी निर्वाचित हुनु भएको छ। समानुपातिक मत कम देखिएकोले उहाँ गठबन्धनको मतले प्रदेश सभा सदस्यमा विजयी हुनु भएको छ।