• ५ जेठ २०८१, शनिबार

क्यामरुनका गोलरक्षक आन्द्रे निलम्बित

blog

क्यानरुनका निलम्बित गोलरक्षक आन्द्रे ओनाना । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १३ गते । विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । तर, सबै खेलाडीले चाहेर पनि विश्वकप खेल्न पाउँदैनन् । कतारमा जारी २२औँ संस्करणको फिफा विश्वकपमा दुई सय ११ देशबाट प्रत्यक्ष छनोट भएर आएका ३२ टोलीका आठ सय ३१ खेलाडीले मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । 

इरानबाहेक सबै टोलीमा २६ जना खेलाडी छन् । इरानले भने २५ जना खेलाडी मात्र समावेश गरेको छ । विश्वकपमा सहभागिताको अवसरसँगै पहिलो रोजाइमा पर्नुभएका क्यामरुनका गोलरक्षक आन्द्रे ओनानाका लागि कतार विश्वकप दुःखदायी बनेको छ । क्यामरुनले आन्द्रेलाई निलम्बन गरेको छ ।

मुख्य प्रशिक्षक रिगोवेर्ट सोङले आन्द्रेले अनुशासन तोडेको भन्दै समूह ‘जी’ अन्तर्गत सोमबार सर्बियाविरुद्धको खेलमा आन्द्रेलाई खेलाउनुभएको थिएन । क्यामरुनले सर्बियाविरुद्ध दोस्रो रोजाइका गोलरक्षक डविस इपासलाई मैदानमा उतारेको थियो । आन्द्रेले प्रशिक्षकले भनेको शैलीमा नखेलेको र अनुशासन तोडेको क्यामरुनको आरोप छ ।


क्यामरुनका प्रशिक्षक सङले अनुशासन एउटा खेलाडीलाई मात्र नभएर सम्पूर्ण टोलीलाई नै महत्त्व पूर्ण हुने बताउनुभयो । ‘‘आन्द्रे टालीबाट निस्कन चाहन्थे । हामीले त्यसलाई स्वीकार गरेका छौँ । अनुशासनमा नरहने खेलाडी बाहिरिनुको विकल्प थिएन,’’ सङले भन्नुभयो ।

गोलरक्षक आन्द्रेले प्रशिक्षकलाई नटेरेको र आफूखुसी खेलेकोले अनुशासनको कारबाही गरिएको क्यामरुन फुटबल सङ्घले जनाएको छ । प्रशिक्षकको निर्णयलाई समर्थन गर्दै सङ्घले प्रशिक्षकलाई नटेरेर आफ्नै शैलीमा खेल्दा आन्द्रेलाई निलम्बन गर्नु परेको समेत उल्लेख गरेको छ ।

समूह ‘जी’ अन्तर्गत स्वीट्जरल्यान्डविरुद्धको पहिलो खेल आन्द्रेले खेल्नुभएको थियो । उक्त खेलमा क्यामरुन १–० गोलले पराजित भएको थियो । सोमबार राति अर्को गोलरक्षकलाई उतारेको क्यामरुनले सर्बियाविरुद्ध ३–३ गोलको बराबरी खेलेको थियो । सर्बियाविरुद्ध खेल्न नपाएपछि आन्द्रे निलम्बनको निर्णय आउनुअघिनै टोलीको प्रशिक्षण छारेर स्वदेश फर्किनु भएको थियो ।

 

निलम्बित २६ वर्षीय आन्द्रे  इटालियन सिरि ‘ए’ क्लब इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्नुहुन्छ । उहाँ यसै वर्ष डच क्लब आयाक्सबाट इन्टर जानुभएको थियो । सन् २०१६ देखि क्यामरुनको टोलीमा रहनुभएका आन्द्रेले देशका लागि ३४ खेल खेल्नुभएको छ । 

कतार विश्वकपमा समूह ‘जी’बाट लगातार दोस्रो जित निकाल्दै ब्राजिलले नकआउट चरणमा स्थान बनाइसकेको छ । दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको तीन अङ्क छ । क्यामरुन र सर्बियाको एक एक अङ्क छ । क्यामरुनले समूहको अन्तिम खेल मङ्सिर १६ गते ब्राजिलसँग खेल्नेछ ।  बीबीसी