• १३ असोज २०८१, आइतबार

दानव नदीमा छाडिए ५० हजार माछाका भुरा

blog

दानव नदीमा माछाका भुरा छाडिंदै । तस्विर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, मङ्सिर १२ गते । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएका छन् । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको सङ्ख्या बढाउने उद्देश्यले विश्व मत्स्य दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।

स्वदेशी जातका माछा लोप हुन थालेपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र,  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, नेपाल मत्स्य व्यवसायी सङ्घ, जलदेवी मत्स्य उत्पादक सहकारीलगायतको संयुक्त आयोजनामा नैनी, रोहु जातका माछाका भुरा छाडिएका हुन् । 

स्थानीय माछा प्राकृतिक जलाशयहरुमा घट्ने क्रममा रहेकाले जलीय विविधताको संरक्षण गर्न दिवसको सन्दर्भ पारेर जनचेतनामूलक प्रभातफेरी गरी नदीमा माछा छाडिएको शुद्ध नश्ल संरक्षण तथा  प्रवर्धन  स्रोत केन्द्रका मत्स्य अधिकृत रमेश जयसवालले बताउनुभयो ।

मानवीय क्रियाकलापले माछाको सङ्ख्या घट्ने भएकाले सन्तुलन गर्न पनि विगतका वर्षजस्तै यस वर्ष पनि माछाका भुरा छोडिएका हुन् । प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधिले स्थानीय जातका माछा नष्ट हुँदैगएका छन् । त्यसको संरक्षण र  प्रवर्धन  गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाशयमा राखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा.प्रवेज आलमले बताउनुभयो ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले रुपन्देहीमा विगत सात वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागू भई माछाको व्यवसाय  प्रवर्धन  गर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको  संवर्धनमा किसानका लागि सहयोग गर्दैआएको बताउनुभयो । 

कार्यालयले पनि किसान र उद्यमीलाई यान्त्रीकरण र प्रविधि प्रयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सहकार्य गरेकाले किसानहरु उत्साहित भएको काफ्लेले बताउनुभयो । लोप हुन लागेका माझीहरुलाई आफ्नो पेशाको संरक्षण गर्न प्रोत्साहनस्वरुप सम्मान गरिएको थियो ।