• १२ साउन २०८१, शनिबार

स्पेन र जर्मनी बराबरीमा रोकिए

blog

गोल गरेपछि स्पेनका अल्भारो मोराटा । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १२ गते । स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेले ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । स्पेनले सुरुवाती अग्रता लिएपनि जोगान सकेन । स्पेनका  लागि अल्भारो मोराटाले सुरुवाती गोल गर्नुभयो । जर्मनीका निकलस फुलक्रुगले बराबरी गोल फर्काउनुभयो । 


छैटौं मिनेटका ड्यानी अ‍ोल्मोको सशक्त प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । यता जर्मनीको एनेटोनियो रुडिगरले ४०औं मिनेटमा गरेको हेडगोल भिएआरको सहायतामा रेफ्रीले अफसाइड देखाएका थिए । 

त्यसपछि ६२ अ‍ौं मिनेटमा स्पेनका वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । उहाँले जोर्डी अल्बाको पासमा डिबक्सभित्र जर्मनीका रक्षकलाई छल्दै उत्कृष्ट गोल गर्नुभएको थियो ।


तर स्पेनको अग्रतालाई जर्मनीले ८३औं मिनेटमा तोड्यो । जर्मनीका निकलस फुलक्रुगले काउन्टर प्रहारमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अङ्क बाँडे ।


यस बराबरीसँगै समूह ‘ई’ मा सबै टोलीको नकआउ चरणमा पुग्ने सम्भावना रहेको छ । दुई खेलबाट चार अङ्क बनाएको स्पेन शीर्षस्थानमा छ । जापान र कोस्टारिकाको समान तीन तीन अङ्क छ । एक अङ्क बनाएको जर्मनी अन्तिममा छ । एजेन्सी