• १३ असोज २०८१, आइतबार

सुदूरपश्चिममा नौ पूर्वमन्त्रीहरु पराजित

blog

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, मङ्सिर ११ गते । सुदूरपश्चिममा सङ्घीय नौ पूर्वमन्त्रीहरु आमनिर्वाचनमा पराजित भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री पराजित भएका छन् । 

प्रधानमन्त्री सहित तीन जना बहालवाला सङ्घीय मन्त्री भने विजयी हुनु भएको छ । विजयी हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडु दार्चुला र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछामबाट रहनु भएकाे छ । विभिन्न निर्वाचन क्षेत्रमा १३ जना पूर्वमन्त्रीहरु चुनाव लडेकोमा आठ जना असफल हुनु भएको हो ।

दुई पटक निर्वाचन जित्नु भएका लेखराज भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित हासिल गर्नु भएको थियो । उहाँ विगतदेखि उठ्दै आएको कैलाली क्षेत्र नंं. ४ मा पराजित हुनु भएको हो । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भट्ट श्रम तथा यातायात मन्त्री हुनु भएको थियो । यसै गरी केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्नु भएको थियो । यस पटकको निर्वाचनमा उहाँ तीन हजार ५८४ मतान्तरले पूर्व मन्त्री वीर बहादुर बलायरसंग पराजित हुनुभयो । पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गर्दा विजयी बलायरले २६ हजार १७१ मत प्राप्त गर्नुभयो । 

यसै गरी, कैलाली क्षेत्र नं. १ मा पूर्व मन्त्री राम जनम चौधरी अत्यधिक मतान्तरले पराजित हुनु भएको छ । उहाँलाई १२ हजार ३२३ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पराजित गर्नुभयो । पराजित चौधरीले १८ हजार ८१ मत पाउँदा विजयी चौधरीले ३० हजार ४०४ मत पाउनुभयो । 

राजनीति तथा चुनावी रणनीतिमा चतुर मानिने चौधरी २०४८ सालदेखि निरन्तर टिकट पाएर चुनाव लड्दै आउनु भएको छ । उहाँले २०४८, २०५१, २०५६ र २०७० को निर्वाचन जित्नु भएको थियो । २०७४ देखि भने उहाँको किल्ला भत्किएको छ । चौधरी २०७४ मा कैलाली क्षेत्र नं. ३ मा पराजित हुनु भएको थियो । यस पटक क्षेत्र नं. १ मा पराजित हुनु भएको छ । चौधरी सामान्य प्रशासन सहायक मन्त्री, शिक्षा सहायक मन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्य मन्त्री हुनु भएको थियो । 

त्यस्तै, कैलाली क्षेत्र नं. ३ मा पूर्व मन्त्री गौरीशङ्कर चौधरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हार व्यहोर्नु भएको छ । नौ हजार ८७४ मत प्राप्त गरेर उहाँले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । पूर्व माओवादी चौधरी यस पटक नेकपा (एमाले) बाट चुनाव लड्नु भएको थियो । उहाँ कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुई पटक मन्त्री भइसक्नु भएको छ । 

चौधरीले तत्कालीन माओवादी पार्टीबाट २०७० को संविधान सभाको निर्वाचन कैलाली क्षेत्र नं. ४ र २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र नं. ३ बाट जित्नु भएको थियो । चुनाव हार्नेमा कञ्चनपुर क्षेत्र नं. १ बाट विना मगर, दार्चुलाबाट गणेश ठगुन्ना र कैलालीका नारदमुनी राना पनि हुनुहुन्छ । 

पूर्व वन तथा वातावरण मन्त्री रहेका राना नेपाली काँग्रेसका डिल्लीराज पन्तसँग एक हजार ७४ मतान्तरले पराजित हुनुभयो । पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गर्नुभयो । विजयी पन्तले भने २१ हजार ३९२ मत पाउनुभयो । रानाले यसअघि, २०७४ को निर्वाचन यही क्षेत्रबाट जित्नु भएको थियो । नेपाली काँग्रेसका नेतृ डा. आरजु राणा देउवालाई पराजित गरेर उहाँ चर्चामा आउनु भएको थियो । त्यस्तै, क्षे नं. ५ मा दुई सञ्चार राज्यमन्त्री पुष्करनाथ ओझा पनि पराजित हुनु भएको हो । आठ हजार ३४९ मत पाउनु भएका ओझाले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । 

यसै गरी, पूर्व सञ्चार राज्यमन्त्री ओझाले २०५६ आमनिर्वाचन क्षेत्र नं. ३ बाट जित्नु भएको थियो । २०७० को उपनिर्वाचन भने उहाँले क्षेत्र नं. ५ बाट जित्नु भएको थियो । डडेलधुरा र कैलाली–५ मा चुनाव जित्नु भएका नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीलाई छोडेपछि उपनिर्वाचन भएको थियो । 

यस्तै गरेर बैतडीमा स्वतन्त्र उम्मेदवार हुनु भएका केशवबहादुर चन्द पनि तेस्रो स्थानमा सीमित हुनुभयो । उहाँ नेपाली काङ्ग्रेसबाट राज्यमन्त्री र २०७४ मा पाटन नगरपालिकाको मेयर हुनु भएको थियो ।  सो क्षेत्रमा नेकपा (एमाले) का प्रदेश अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारी विजयी हुनुभयो । उहाँले प्रतिनिधि सभामा ह्याट्रिक गर्नु भएको छ । भण्डारी २०७०। २०७४ यस पटक गरेर लगातार जित्नु भएको छ । 

सफल हुनेमा पूर्व मन्त्रीमा वीरबहादुर बलायर, बझाङबाट पूर्व मन्त्री भानुभक्त जोशी, डोटीबाट प्रेम आले मगर र बैतडीमा पूर्व राज्यमन्त्री भण्डारी हुनुहुन्छ । बाजुरामा पूर्व मन्त्री कर्णबहादुर थापा चुनाव लड्नु भएको छ । सो क्षेत्रमा अझै मतगणना भएको छैन । 

सुदूरपश्चिम प्रदेशका चार जना बहालवाला मन्त्रीले पनि प्रदेश सभा सदस्यतर्फ चुनाव लड्नु भएको थियो । जसमध्ये दुई जनाको जित र दुई जनाको हार भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहनु भएका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी कैलाली क्षेत्र नं. ४ प्रदेश सभा ‘क’ बाट पुनः निर्वाचित हुनु भएको छ । तर, आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल भने पराजित हुनु भएको छ । 

यस्तै कञ्चनपुर नं. ३ ‘क’ आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल विजयी हुनु भएको छ । भने डडेलधुरा ‘ख’ बाट सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पराजित हुनु भएको छ । 

चार नगरप्रमुख पनि पराजित कैलाली र कञ्चनपुरका चार पूर्व नगरप्रमुख पनि प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा असफल हुनु भएको छ । 

प्रतिनिधि सभामा तपेन्द्र रावल असफल हुनुभयो । उहाँ २०७४ मा टीकापुर नगरपालिकाको प्रमुख हुनुहुन्थ्यो । यस्तै गौरीगङ्गा नगरपालिकाका पूर्व नगरप्रमुख भीमबहादुर देउवा र गोदावरी नगरपालिकाका पूर्व नगरप्रमुख हरिसिंह साउँद निर्वाचनमा पराजित हुनु भएको हो । नेकपा (एमाले) बाट चुनाव लड्नु भएका उहाँहरूलाई वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले कैलाली–४ प्रदेश सभा ‘क’ र ‘ख’ मा पराजित हुनुभयो । 

यस्तै गरेर कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र विष्ट पनि कञ्चनपुर क्षेत्र नं. ३ ‘ख’ पराजित हुनु भएको छ । उहाँ पनि २०७४ सालमा नगरप्रमुख हुनुहुन्थ्यो ।