• १३ असोज २०८१, आइतबार

घोडाघोडीमा लवाङ्गीपूजा तथा सांस्कृतिक महोत्सव सुरु

blog

विश्व रामसारसूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा महोत्सवको उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी र नगरप्रमुख खडक रावत । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर १० गते । कैलालीमा घोडाघोडी लवाङ्गीपूजा तथा सांस्कृतिक महोत्सव शनिबारदेखि सुरु भएको छ ।  महोत्सवको कैलाली क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले उद्घाटन गर्नुभयो । 

घोडाघोडी नगरपालिका –१ स्थित घोडाघोडी मन्दिर परिसरमा घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा सुरु भएको सो महोत्सव सोमबारसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।  


घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका ८२ गाउँका भलभन्सा तथा स्थानीयको सहभागिता थियो ।  

घोडाघोडी नगर भल्मन्सा समाजका अध्यक्ष बुधराम चौधरीले थारु समुदायले घोडाघोडीमा लवाङ्गीपूजा परापूर्वकालदेखि मनाइँदै आएको बताउनुभयो । यो पर्वमा विशेषगरी थारु समुदायहरूले नयाँ बाली भित्र्याइसकेपछि सो अन्नबालीलाई प्रसादको रूपमा आफ्ना देवी देवतालाई चढाइने भएकाले पनि ल्वाङ्गीपूजाको महत्त्व रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नवनिर्वाचित प्रदेश सभासदस्य खुशीराम चौधरी, नगरप्रमुख खडक रावत, उपप्रमुख गुलियादेवी डगौरा, वडाध्यक्षलगायत सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले थारुको पहिचान परम्परा भेषभूषा र रीतिरिवाजमा रहेकाले सो कुरा जोगाइ राख्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा विभिन्न क्षेत्रबाट ल्याइएका थारु संस्कृति भल्काउने झाँकी, परम्परागत नाच प्रदर्शन गरिएको थियो । दुई दिनसम्म चल्ने सो महोत्सवमा थारु झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारु समुदायको भेषभूषा झल्काउने विभिन्न नाच प्रस्तुत हुने आयोजकले जनाएको छ ।


कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिननचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुति हुने जनाइएको छ । आउने सोमबार लवाङ्गीपूजाको दिन घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलि चढाइने गरिन्छ । बलि दिने काममा थारुलगायत गैरथारु समुदायहरूको पनि बाक्लो उपस्थिति रहने गरेको छ ।