कुनै समयको प्रसङ्ग हो, एक देशका राजालाई जीवनको एउटा क्षणमा आएर जीवनमा राज्य नै जित्दा पनि केही अपूर्णजस्तो लाग्यो । सबै कुरा सम्पन्न त छ, राज्य नै आफ्नो नाममा छ र पनि मेरो खुसी खोइ ? खुसी नै पाउन नसकेको म राजाले कसलाई जितेँ, के जितेँ ? उनी आफ्नो सुन्दर घोडामा हीरा, जवारतसहित सुख र शान्ति खोज्न दरबारबाट निस्के । बाटोमा भेट्ने जतिलाई उनले प्रश्न राख्थे– सुख र खुसी कसरी मिल्छ ? कसैले मलाई बताइदियो र मलाई क्षणभर मात्र खुसी मिल्यो भने पनि मसँग भएको हीरा, जवारत सबै दिनेछु । सुन्ने जति सर्वसाधारणलाई विश्वास लागेन, यत्रो सम्पन्न सम्राट खुसी र सुख खोज्न हिँडेका ? पक्कै उनले केही गर्न खोजेको हुनुपर्छ उल्टो शङ्का पो गर्न थाले । कसैले उनलाई बताउने कुरै भएन । एक गाउँबाट अर्को गाउँ पुगे तर पनि कुनै मानिसले उनलाई खुसी र सुखी हुने उपाय बताउन सकेनन् किनकि धन दिएर खुसी किन्न सकिन्छ भन्ने उपाय ती सरल व्यक्तिहरूले विश्वास गरेनन् ।
एक जना व्यक्तिले सुफी फकिर मुल्लानसरुद्दीनलाई भेट्ने सल्लाह दिए किनकि सबैलाई विश्वास थियो, उनले केही न केही उपाय निकालेर मानिसका समस्या समाधानको तरिका बताउने गर्दथे । नदी किनारमा एउटा ठूलो पिपलको बोटमुनि ध्यान गरेर बसिरहेका, प्रफुल्ल, शान्त मुल्लानसरुद्दीनसँग ती राजाको भेट भयो । राजाले त्यही प्रश्न राखे– यो सबै हीरा, जवाहरत म तपाईंलाई सुम्पिन्छु मलाई खुसी, सुखी र शान्त रहने उपाय बताइदिनुप¥यो । नसरुद्दीनले भने राजन हजुर ठीक ठाउँमा आइपुग्नु भएको छ । केही क्षण आँखा बन्द गर्नुहोस्, लामो गहिरो श्वास लिनुहोस् । जब राजा आँखा बन्द गरेर चुपचाप बसिरहेका थिए नसरुद्दीनले हीरा, जवाहरतको पोको समाते र घोडाको लगाम हातमा लिए र घोडा चढेर दौडे । घोडा कुदेको आवाज सुनेर राजाले आँखा खोले, नसरुद्दीनले उनको हीरा, जवाहरतको पोको र घोडा लिएर भाग्दै थिए । राजा चिच्याउँदै घोडाको पछिपछि दौडिन थाले, घोडालाई भेट्टाउन कहाँ सजिलो थियो र ? उनी कराउन थाले– म त सुख र शान्तिको खोजीमा एउटा सन्तकहाँ आइपुगेँ भनेको त लुटेराकहाँ पो पुगेछु, ल न गाउँलेहरू मलाई मद्दत गर्नुस्, त्यो लुटेरालाई पक्रेर मेरो घोडा र जवाहरत मिलाइदिनुस् । राजाले के कुरा गरिरहेको पनि गाउँलेले बुझेनन् बस उनी कुदिरहेको र चिच्याइरहेको आवाज मात्र सुने, हेरे गाउँलेले केही गरेनन् । उनलाई लाग्यो यो गाउँका सबै मान्छे लुटेरा रहेछन् कसैले मद्दत गरेनन् । उनी दौडिनै रहे, थकित पसिनै पसिना हुँदै । निकै पर घोडा देखे, आखिर त्यो घोडा जहाँबाट छुटेको त्यतै जाँदै थियो उनले पिछा गरिरहे ।
अन्त्यमा त्यही रुखमुनि पुगे । नसरुद्दीन घोडा बाँधेर, हीरा, जवाहरतको पोको छेउमै राखेर शान्त मुद्रामा आँखा चिम्लेर बसिसकेका थिए । १०–१५ मिनेटपछि राजा पनि त्यहीँ आइपुगे । आफ्नो हीरा, जवाहरतको पोको छातीमा टाँसे, आफ्नो घोडातर्फ नजर लगाए र आकाशतर्फ हेर्दै भने– “हे भगवान् मेरो सामान सकुशल मलाई मिल्यो तिमीलाई धेरै धेरै धन्यवाद ।” नसरुद्दीन छेउमा पुगे र सोधे–केही शान्ति, केही सुख
मिल्यो राजन हजुरलाई ? राजाले भने– हो, मलाई अहिले केही सुख र शान्ति पनि मिल्यो । नसरुद्दीनले भने धेरै उपाय बताउन सक्छु म हजुरलाई खुसी, सुखी र शान्ति रहने तर अहिलेलाई यो झलक नै काफी छ । मैले कुनै नयाँ चिज हजुरलाई सुझाएको पनि थिइन । हजुरसँगै भएका चिजमा हजुरको खुसी,
सुख, शान्ति, प्रेम र आनन्द छिपेको छ । आफूभित्र रहेका खजानाको पहिचान गर्नुस् राजन ।
यो बोध कथा ती राजाका लागि मात्र नभएर सबैका लागि आफूभित्र रहेको हीरा, जवाहरतरूपी खजाना पहिचान गर्ने सूत्र छिपेको छ । मानिसले जति प्रगति गरेको भए पनि, जति चुनाव जिते र पद प्राप्त गरेको भए पनि सुख, शान्ति र पूर्णता नमिलेको अनुभूति गरिरहेकै हुन्छ । त्यो सुख बाहिरी धन, पद र सम्मानमा त छदै छैन जुन कुरा बोध कथाले प्रस्ट पारेको छ । धन छ त केवल धन छ त्यो सँगै खुसी, प्रेम, शान्ति मिलोस् यो जरुरी छैन । कुनै पनि बाहिरी सम्पदाले र विशेषताले आन्तरिक सुख, शान्ति र प्रेमको अनुभूति दिन सक्दैन । त्यसो हो भने के हुन् त ती आन्तरिक सम्पदा जान्ने प्रयास गरौँ ।
जागरुकता
जीवनमा खुसी हुने महìवपूर्ण कलामध्ये एक हो जागरुकता । एक स्रष्टाझैँ आफैँले आफैँलाई हेर्ने एक मूलमन्त्र हो जागरुकता । आफूले गरिने कर्म जस्तै–हिँड्दा, बोल्दा, कुराकानी गर्दा, वचन दिँदा, आश्वासन बाँड्दा र श्वास लिँदा र छोड्दासमेत सबै काममा भित्रबाट आफैँ स्रष्टा भएर हेर्ने कला जागरुकता हो ।
आफ्नो शारीरिक क्रियाकलापप्रति होसपूर्ण हुनु, आफ्नो आउँदै जाँदै गरेको श्वासप्रति होसपूर्ण हुनु, स्वाद, गन्ध, ध्वनि, दृश्य र स्पर्शप्रति होसपूर्ण रहनु सबै जागृत अवस्थाका लक्षण हुन् । आफूले व्यक्त गर्ने र अरूबाट प्राप्त गर्ने हार्दिक अनुभूतिजस्तै प्रीति, स्नेह, श्रद्धाजस्ता संवेदनाप्रति होसपूर्ण हुनु पनि जागृत अवस्था हो । दिव्यनाद, अकारण खुसी या दुःखी, शान्ति या अशान्ति सबै विचारप्रति होसपूर्ण हुनु पनि जागृत व्यक्तिका गुण हुन् । जागृत व्यक्ति कहिल्यै दुःखी बन्नु पर्दैन । ऊ सधैँ प्रेमभाव र समभावमा जिइरहेको हुन्छ । कसरी, के, किन, कसका लागि गरिरहेछु र यसले आफूलाई या अरूलाई सकारात्मक ऊर्जा दिन्छ या नकारात्मक त्यो जान्न सक्नु जागृति हो ।
जागृतिको कला जानेपछि जीवनमा चाहेको सबैकुरा पूरा हुन्छ र जे वास्तविक आवश्यकता हो, त्यसको मात्र चाहना हुन्छ । जति पनि आध्यात्मिक मार्ग छन्, सबैले देखाउन खोजेको मार्ग हो भित्रको स्रष्टा भावलाई जगाउनु । मार्ग जुनसुकै होऊन्, मस्जिद, गिर्जाघर, गुरुद्वारा ध्यान, सत्सङ्ग, कथा, कीर्तन, भजनजस्ता कर्म हुन् या योग, तप, साधना, नोकरी, पदोन्नति, सम्मान सबैको अन्तिम लक्ष्य नै जागरणपूर्ण रहनु हो । सबै कर्म गरेर पनि जागृति पैदा भएन भने ती सबै व्यर्थ हुनेछन् । कुनै प्रयास बिना जागृति फलित हुन्छ भने त्यो महìवपूर्ण उपलब्धि हो । जागृतिभित्रको जागरणको कला हो । प्रयासले यो प्राप्त हुँदैन । स्रष्टाभाव, प्राकृतिक स्वभाव र सहजताको परिणाम हो जागरण ।
प्रफुल्लता
मानिस किन सुखी छैन, किन शान्त छैन ? किनकि ऊ प्रफुल्ल र प्रसन्न छैन । आफूसँग छैन र अरूसँग पनि छैन । दुःख मानिसको स्वभाव होइन, उसको स्वभाव त प्रफुल्लता हो, प्रसन्नता हो । आफ्ना हरेक कर्ममा, सम्बन्धमा, जिम्मेवारीमा, दायित्व बहन गर्ने क्रममा प्रफुल्ल भएर गर्ने व्यक्ति कसरी दुःखी हुन्छ ? जसको मन सफा छैन, जो सकारात्मक छैन, जसको भित्र अनावश्यक विचारका सङ्ग्रह छन्, त्यही व्यक्ति मात्र प्रफुल्ल रहन सक्दैन अन्यथा मानिसलाई प्रफुल्लताको गुण दिएको छ अस्तित्वले ।
जसमा लोभ, मोह, कामना, ईश्या, मै खाउँ, मै लाउँ भन्ने स्वभावको छ ऊ प्रफुल्ल रहन पनि त सक्दैन । अहिले राष्ट्रका उच्च ओहोदामा रहेका व्यक्ति होऊन् या चुनाव जितेर उच्च तहमा पुगेका व्यक्ति र तिनका प्रवृत्ति हेरौँ त ? कसैले प्रफुल्ल र प्रसन्न भएर आफ्नो जीवन बाँच्ने कला सिकेको पाइँदैन । अरूकै सम्पत्ति दोहोन गर्ने, अरूलाई झुक्याउने, भ्रष्टाचार गर्ने, चतुर बन्न खोज्ने, व्यक्ति प्रफुल्ल र सुखी हुन सक्छ ? ऊ मात्र होइन उसका सन्तान, दरसन्तानले समेत यो कर्मको फल भोग्न बाध्य हुनुपर्छ । यो अस्तित्वकै नियम हो जसरी राम्रो कर्मको फल सन्तान दर सन्तानले खान्छन् नकारात्मक कर्मको फल पनि त्यही नै हो । प्रफुल्ल र प्रसन्न रहन कुनै प्रयासको जरुरत छैन मात्र नकारात्मक प्रवृत्ति, नकारात्मक सोच, असफलता, अस्थिरता, दुःख र बेचैनीलाई निर्मूल पार्ने विचार र सकारात्मक चित्रण जरुरी छ । मैले गरेको ठीक छ, मैले चाहेअनुसार गराएरै छाड्छु, यो सब मैले गरेर भएको हो । म अरूभन्दा धन, पद, सम्मान सबैमा अगाडि उछिनेरै जान्छु भन्ने स्वभाव अहङ्कार हो । यसले व्यक्तिलाई सुख, शान्ति र प्रेममा रहनै दिँदैन । निरङ्कारिता, अहङ्काररहित हुनु मानिसको स्वभाव हो । त्यसैले जीवनमा सुख, शान्ति, समृद्धि, वैभव, प्रेम प्राप्त गर्न आफ्नो आन्तरिक खजाना पहिचान नगरी सुखै छैन ।