• ८ कात्तिक २०८१, बिहिबार

आयोजक कतारको लगातार दोस्रो हार

blog

कतारविरुद्ध सट प्रहार गर्दै सेनेगलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ९ गते । आयोजक कतारले फिफा विश्वकप फुटबलमा लगातार दोस्रो हार खेपेको छ । समूह  ‘ए’ अन्तर्गत अल थुमामा स्टेडियममा शुक्रबार साँझ भएको खेलमा कतार सेनेगलसँग ३-१ गोलले पराजित भयो ।

लगातार दोस्रो हारसँगै कतारको अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । कतार यसअघि पहिलो खेलमा इक्वेडरसँग २–० गोलले पराजित भएको थियो । 


सेनेगलको जितमा बोउलाए डिया, फामरा डाइधिऔ र बाम्बा डिङले गोल गर्नुभयो । कतारका मुहमद मुन्तारीले सान्त्वना गोल फर्काउनुभयो ।

सेनेगल जारी विश्वकपमा जित निकाल्ने पहिलो अफ्रिकन टोली समेत बनेको छ । सेनेगलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० गोलको हार खेपेको थियो । 

कतारविरुद्ध सेनेगलले ४१औं मिनेटमा बोउलाए डियाको गोलमा अग्रता लिएको थियो । ४८औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाउनुभयो । 

त्यसपछि ७८औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । मुन्तारीको गोल विश्वकपमा कतारको लागि ऐतिहासिक पहिलो गोल हो । 

तर, ८४औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई सजिलै जिताउनुभयो । जितसँगै दुई खेलबाट तीन अंक बनाएको सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

तीन अंक बनाएको सेनेगल तेस्रो स्थानमा छ । समान तीन तीन अंक बनाएको नेदरल्यान्ड शीर्ष र इक्वेडर दोस्रो स्थानमा छ । अंकविहिन कतार अन्तिममा छ ।

आजै राति अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडर भिड्दैछन् । यदि यस खेलमा नेदरल्यान्ड्सले हार खेपेमा आयोजक कतार एक खेल अगावै बाहिरिनेछ । एजेन्सी