• २ असार २०८१, आइतबार

रोनाल्डोले रच्नुभो पाँचौं विश्वकपसम्म गोल गर्ने खेलाडीको कीर्तिमान

blog

घानाविरुद्ध गोल गर्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ९ गते । कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकपको पाँचौं संस्करणसम्म गोल गर्ने खेलाडीको कीर्तिमान बनाएसँगै कतार विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ ।

स्टेडियम ९७४ मा बिहीबार राति भएको समूह ‘एच’ को खेलमा पोर्चुगलले अफ्रिकी देश घानालाई ३-२ गोलले हरायो ।पोर्चुगलको जितमा रोनाल्डोसँगै जोआओ फेलिक्स र राफेल लिआओले गोल गर्नुभयो ।

घानाका कप्तान आन्द्रे आयु र ओस्मान बुकारीले गोल गर्नुभयो । सन् २००६ देखि निरन्तर विश्वकप खेल्दै आउनुभएका रोनाल्डोले आफ्नो गोल गर्ने क्रमलाई निरन्तरता दिने क्रममा पोर्चुगलको खाता खोल्नुभएको थियो । 

खेलको सुरुवातदेखिनै आक्रामक प्रदर्शन गरेको पोर्चुगलले गोलका लागि ६५औं मिनेटसम्म कुर्नुपरेको थियो । रोनाल्डोले ६५औं मिनेटमा पेनाल्टीमार्फत खाता खोल्नुभएको हो ।

घानाका खेलाडीले रोनाल्डोलाई डिबक्स भित्र लडाएपछि पाुर्चुगलले पेनाल्टी पायो । जसलाई रोनाल्डोले सदुपयोग गर्नुभयो । यससँगै विश्वकपमा रोनाल्डोको ब्यक्तिगत गोलसंख्या आठ पुगेको छ ।

रोनाल्डोले पोर्चुगलका लागि आठ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको सबै खेलमामा गोल गर्ने कीर्तिमान पनि राख्नुभएको छ । रोनाल्डोले २००६ मा पहिलो पटक विश्वकप खेल्ने क्रममा इरानविरुद्ध गोल गर्नुभएको थियो । त्यसपछि उहाँले दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपको समूह चरणको खेलमा उत्तर कोरियाविरुद्ध गोल गर्नुभयो । 

ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा घानाविरुद्ध गोल गर्नुभएका उहाँले सन् २०१८ को रुस विश्वकमा चार गोल गर्नुभएको थियो । उहाँले समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक र मोरक्कोविरुद्ध एक गोल गर्नुभएको थियो । 

कतार विश्वकमिा घानाविरुद्ध पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा पोर्चुगलले सानदार खेल खेल्यो । यता रोनाल्डोको गोलपछि जोसिएको घानाले ७३औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान आन्द्रे आयुले गोल गर्दै घानालाई फेलमा फर्काउनुभयो । 

त्यसपछि ७८औं मिनेटमा जोआओ फेलिक्सले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै पोर्चुगलललाई पुनः अग्रता दिलाउनुभयो । दुई मिनेट लगत्यै फर्नान्डेजकै पासमा बैकल्पिक खेलाडी राफेल लिआओले गोल गर्दै पोर्चुगललाई थप बलियो बनाउनुभयो ।

उहाँ रुबेन नेभेसको स्थानमा तीन मिनेट अघिमात्र मैदान प्रवेश गर्नुभएको थियो । खेलको ८९औं मिनेटमा घानाका ओस्मान बुकारीले गोल गरेपनि टोलीको हार टार्न सक्नुभएन ।

पहिलो जितसँगै पोर्चुगलले समूहमा तीन अंक बनाएको छ । घानाले हारबाट विश्वकपको सुरुवात गरेको छ । दक्षिण कोरिया र उरुग्वेले एक एक अंक बनाएका छन् । बिहीबार नै भएको खेलमा दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । एजेन्सी