• २२ चैत २०८२, आइतबार

डेढ करोड दुधको रकम भुक्तानी हुन बाँकी

blog

सहकारीमा दुध बिक्री गर्दै किसान ।

यज्ञप्रसाद सापकोटा

बर्दिया(गुलरिया) चैत २२ गते ।बर्दियाका दुध उत्पादन गर्ने किसान र दुग्ध सङ्कलन केन्द्रले दुधको रकम नपाउँदा पीडित बनेका छन् ।

बर्दियाका किसान र दुग्ध सङ्कलन केन्द्रको करिब डेढ करोड रकम भुक्तानी हुन बाँकी छ । राम्रो अवस्था भएका दुग्ध सहकारी संस्था र सङ्कलन केन्द्रले किसानलाई अत्यावश्यक परेमा केही रकम उपलब्ध गराएपनि अधिकांश किसानले दुधको रकम पाएका छैनन् ।

नेपालगञ्ज दुग्ध वितरण संस्थान बाँके, भट्टराई डेरी बाँसगढी, एस के डेरी नेपालगञ्ज, कुश्मेश्वर डेरी राजापुरले केही महिना यता दुधको रकम भुक्तानी गरेका छैनन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ बर्दियाका अनुसार नेपालगञ्ज दुग्ध वितरण संस्थान बाँकेले चार ओटा सहकारीको ५१ लाख ५० हजार रकम भुक्तानी गर्न बाँकी छ ।

गत मंसिर यताको रकम संस्थानले भुक्तानी गरेको छैन । त्यसैगरी भट्टराई डेरी बाँसगढीले दुई ओटा सहकारीको ७८ लाख २३ हजार, एस के डेरी नेपालगञ्जले एक सहकारीको १० लाख ६० हजार,  कुश्मेश्वर डेरी राजापुरले एक सहकारीको दुई लाख ९२ हजार रकम भुक्तानी गर्न बाँकी रहेको सङ्घका अध्यक्ष पवन कुमार यादवले बताउनुभयो ।

उहाँले गत वर्ष नौ ओटा सहकारीले नेपालगञ्ज दुग्ध वितरण संस्थानलाई दुध दिने गरेका थिए । समयमा दुधको रकम नपाएपछि यस वर्ष चार ओटा सहकारीले मात्र संस्थानलाई दुध दिने गरेका छन् ।

 गत वर्ष २०८१ फागुन महिना देखि दुधको रकम गत असोज फागुनमा मात्र भुक्तानी गरेको थियो बर्दिया मै सबैभन्दा बढि दुधको कारोबार गर्ने भगवती दुग्ध सहकारी संस्थाले नेपालगञ्जका विभिन्न स्थानमा आफै बिक्री काउन्टर खोलेर दुध बिक्री गरिरहेको छ ।

काउन्टर बिक्रीबाट बचेको दुध सुजल डेरीलाई दिने गरेको र भुक्तानी भइरहेको यादवले बताउनुभयो । कहिले काही डेरीले भुक्तानी दिन ढिला गरेमा सहकारीको कोषबाट किसानलाई भुक्तानी गर्दै आएकाले किसानले दुधको रकम पाइरहेको बताउनुभयो ।

दुग्ध उत्पादन सहकारी सङ्घका केन्द्रिय सदस्य इन्द्र प्रसाद लुइँटेलले  किसानको रकम रोक्दा किसानहरू मर्कामा परेको बताउँदै किसान र सङ्कलन केन्द्र चल्नै मुस्किल भएको बताउनुभयो । उहाँले भन्नु भयो,“किसानले आफ्नो पसिना बगाएर दुध उत्पादन गर्छन त्यो रकम पनि नपाउँदा किसान दुःखी भएका छन् ।”

नेपालगञ्ज दुग्ध वितरण आयोजना बाँकेका प्रमुख दिलिप चौधरीले गत मंसिर यताको दुधको रकम भुक्तानीको तयारी भइरहेको बताउनुभयो ।

उहाँले यस पटक दुधको रकम भुक्तानीलाई सहज बनाउँदै लगेको बताउनुभयो । हाल नेपालगञ्जमा बर्दिया र बाँके लगायतका जिल्लाबाट प्रतिदिन चार हजार लिटर दुध सङ्कलन भइरहेको छ ।