• १२ असोज २०८१, शनिबार

इलाम क्षेत्र १ मा मतगणना सुचारु हुन सकेन

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), मङ्सिर ८ गते । इलाम जिल्ला निर्वाचन क्षेत्र १ को मतगणना कार्य अझ सुचारु हुन सकेको छैन । मङ्गलबार राति १० बजेबाट अवरुद्ध मतगणना कार्य निर्वाचन अधिकृतको त्रुटिका कारण सुचारु हुन नसकेको बताइएको छ ।  

निर्वाचन अधिकृतको कार्यालयले इलाम क्षेत्र १ मा प्रतिनिधि सभातर्फ खसेको मतमा रुजु मत सङ्ख्या नमिलेपछि विवाद भएको बताइएको छ । अधिकृतको कार्यालयको आधिकारिक सूचनाअनुसार २४ हजार ३०२ म गणना हुनुपर्नेमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार २३ हजार ८६५ मत मात्र गणना भएको पाइएको छ । 

बीचको चार सय ३७ मत हराएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य दीपक पौडेलले बताउनुभयो । निर्वाचन अधिकृतको कार्यालयले हराएको मत कहाँ गएको भन्ने प्रमाणित नभएसम्म  विवादका विषयमा टुङ्गो नलाग्ने उहाँले बताउनुभयो ।  

नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष उदयबहादुर राईले निर्वाचनमा कर्मचारीले चरम लापरवाही गरेका कारण समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आयोगका कर्मचारीले राखेको तथ्याङ्क रुजु गरेअनुसार मिल्नुपर्छ, मिलेन भने समस्या हुन्छ ।’ गणनामा बसेका कर्मचारीले दलका प्रतिनिधिलाई गाली गर्ने, हेर्न खोजेको मतपत्र नदेखाउने गर्न थालेपछि विवाद सुरु भएको उहाँको भनाइ छ ।  

दलका प्रतिनिधिबिना सिल नम्बर रुजु नगराई कर्मचारीले ब्यालेट बक्स खोलेको पाइएको छ । इलाम निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) को मतपेटिका समेत (ख) मा भेटिएको दलका प्रतिनिधिहरुको भनाइ छ । केही मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाका भेटिएको छ । 

नेपाली कांग्रेस इलामका सहसचिव देवेन्द्र सुवेदीले विवादको समाधान निर्वाचन अधिकृतको कार्यालयले नै गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कस्ले जित्छ कस्ले हार्छ मतलब भएन, तर मतदाताको एक मत पनि दुरुपयोग हुन दिँदैनौं ।’ गठबन्धन दलले पुनः मतगणना माग गरेका छन् । 

क्षेत्र नं. १ का निर्वाचन अधिकृत राजकुमार दाहालले एक ठाउँको मतपेटिका अर्को ठाउँमा परेकाले समस्या आएको जानकारी दिनुभयो । केही मतपेटिका प्रत्यक्षको समानुपातिक र समानुपातिकको प्रत्यक्षमा परेको उहाँको भनाइ छ । तर कति मतपत्र यस्तो भयो भने उहाँले जानकारी दिन सक्नुभएन ।  

दलका प्रतिनिधिले मतगणना छिटो गर्न दबाब दिएका छन् । मतगणना स्थलमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ । निर्वाचन क्षेत्र नं. १ मा ५९ हजार ९०६ मत खसेको थियो । नेकपा (एमाले) का इलाम अध्यक्ष महेश बस्नेत र गठबन्धनका साझा उम्मेदवार पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा छ । अहिलेसम्म बस्नेत खनालभन्दा १ हजार ५०७ मतले अगाडि हुनुहुन्छ ।