• ५ जेठ २०८१, शनिबार

तनहुँ १ बाट छैटौँ पटक कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर ८ गते । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतान्तरले विजयी हुनुभएको छ । एमालेका एकबहादुर रानाभन्दा ५ हजार ३८८ मतान्तरले पौडेल विजयी हुनुभयो ।

कुल खसेको मत ६८ हजार १७५ मतमध्ये सत्ता गठबन्धनका साझा पौडेलले २५ हजार ३१३ मत प्राप्त गर्नुभयो भने एमालेका रानाले १९ हजार ९२५ मत प्राप्त गर्नुभयो । वरिष्ठ नेता पौडेलको यो छैटाैँ पटक विजय हो ।

२०४८ सालदेखिका सबै निर्वाचनमा विजयी हुनु भए पनि यसअघिको निर्वाचनमा पौडेल तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित हुनुभएको थियो । 

नागरिकका आकांक्षा, सपना र पहिचानको तथा  भौतिक संरचनाहरुको समय अनुकूल विकास गर्न प्रधानमन्त्री बन्न चाहेको उम्मेदवार बनेको उल्लेख गर्दै पौडेलले मतदातालाई धन्यवाद दिनुभयो ।  स्वावलम्बी, सम्पन्न र आत्मनिर्भर राष्ट्र निर्माणमा योगदान दिनको लागि नागरिकलाई स्वतन्त्र, अधिकार सम्पन्न, आत्मनिर्भर राष्ट्र निर्माणमा योगदान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

जात, लिङ्ग र भूगोलको आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिन राजनीतिमा क्रियाशील रहेको नेता पौडेलले बताउनुभयो । नेपालका गरिब र निमुखा जनतालाई न्याय दिँदै जनता, जल, जमिन, जङ्गल, जडीबुटी, पर्यटन र संस्कृतिको परिचालन गरी समुन्नत गाउँ र सभ्य सहरसहितको समृद्ध नेपाल निर्माण गर्न आफू लागिपर्ने पौडेलले बताउनुभयो ।