• १२ असोज २०८१, शनिबार

सबै पुल अलपत्र

blog

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ८ गते । उदयपुरको पूर्वी क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका सबै मोटरेबल ठूला पुलहरूको काम अलपत्र हुँदै आएको छ। विगत १० वर्षअघिदेखि सुनकोसी नदीमा निर्माण सुरु गरिएका तीनवटा तथा त्रियुगा, गिनेरी र लामा खोलाका एक–एकवटा गरी छवटा पुल निर्माणको काम अलपत्र परेको हो। 

उदयपुर, भोजपुर र खोटाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने धाप्लाङ, रानीटार, मैनामैनीस्थित सुनकोसी नदीको र त्रियुगाको सिवाई, गिनेरी खोला, लामा खोलाको पुल निर्माण यसअघि नै सम्पन्न भइसक्नुपर्नेमा निर्माण व्यवसायी तथा सम्बन्धित प्रविधिकको कमजोरीका कारण हालसम्म अलपत्र हुँदै आएको हो। सुनकोसीको धाप्लाङ र रानीटारको पुल तीन वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्नेमा हालसम्म पाँच प्रतिशतसमेत काम हुनसकेको छैन।

२०७४ साल भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एकसाथ उदयपुरको रानीटार र धाप्लाङमा पुल शिलान्यास गर्नुभएदेखि नै निर्माण कार्य सुरु भएको थियो। 

२०७६ को असार मसान्तसम्म कार्य सम्पन्न गर्ने गरी रसुवा एसएन एस र पप्पु ज्वाइन्ट भेन्चरले करिब २३ करोड रुपियाँको लागतमा निर्माणको ठेक्का लिएको तर हालसम्म पुलको कामले गति लिन नसेकेको स्थानीयहरू बताउँछन्। तीन वर्षअघि नै म्याद सकिँदासमेत पाँच प्रतिशत पनि काम हुन नसकेपछि स्थानीयहरू आक्रोशित बनेका छन्। 

ठेक्का लिएको कम्पनीले शिलान्यासपछि पीलरका लागि उदयपुरतर्फको रानीटारमा एउटा खाडल खन्नेबाहेक अन्य कुनै काम नगरेको रानीटार निवासी हस्तबहादुर माझीले बताउनुभयो। निर्माणको ठेक्का लिएको कम्पनीका मालिकको राजनीतिक दलसँगको आबद्धताको कारण पुल निर्माणमा ढिलासुस्ती गर्ने र समयमै निर्माण नगरेर हालसम्म अलपत्र परेको अर्का स्थानीय रामबहादुर मगरको भनाइ छ।

ठेक्का सम्झौता गरी तोकिएको मापदण्डअनुसार काम नगरेपछि उदयपुरको बेलका नगरपालिका–३ स्थित गिदेरी खोला पक्की पुल निर्माणमा पनि चरम ढिलासुस्ती भएको छ। उक्त पुल निर्माणका लागि २०७१ साल असार २५ गते पप्पु मृत सञ्जीवनी जेभी बानेश्वरले दुई करोड रुपियाँमा लहानस्थित डिभिजन सडक कार्यालयबाट पेस्की लिएकोमा काम नगरेपछि निजबाट एक करोड ४० लाख रुपियाँ यसअघि नै फिर्ता गरिएको डिभिजन सडक कार्यालय लहानले जनाएको छ। 

कुल १३ करोड ३९ लाख ६७ हजार ४७९ रुपियाँको लागतमा २१८ मिटर लम्बाइ तथा सातवटा वेल फाउन्डेसन पिलर र छवटा स्पान रहेको गिदेरी खोलाको पुलको काम अहिलेसम्म पिल्लर उठाउनेभन्दा बढी हुन नसकेको बेलका नगरपालिकाका पूर्वनगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो।

यसैगरी प्रदेश सरकारले निर्माण गरेको मैनामैनी र भोजपुरको हतुवागढी जोड्ने सुनकोसीको पक्की पुल पनि अलपत्र परेको छ। कालिका कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त पुल कहिले बन्छ भन्न सक्ने अवस्था छैन। यता चौदण्डीगढी नगरपालिका–२ स्थित लामा खोलामा निर्माणाधीन पुलसमेत अलपत्र परेको छ। 

यता अघिल्लो वर्ष भत्किएपछि सिवाहीस्थत त्रियुगा पुल हालसम्म पुनः निर्माण हुन सकेको छैन। सो पुल निर्माण रेखदेखको जिम्मेवार गाईघाट–दिक्तेल सडक आयोजनाका डिई गोपालप्रसाद खकुरेलले डिजाइन परिवर्तन गर्न सर्वेक्षणको काम सुरु गरिएको र अबको एक महिनापछि सिवाही पुलको निर्माण कार्य नियमित गरिने बताउनुभयो। 

शिवाही पुलको निर्माण २०६७ सालमा सुरु गरिएको थियो। १२ वटा पिलर र ११ वटा स्ल्याब रहेको पुलको सिवाही खण्डको दुईवटा स्ल्याब बाढीले बगाएको थियो। ११ करोड २६ लाख लागतमा दुई वर्षमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६७। ०६८ मा निर्माण सुरु भएको पक्की पुल हालसम्म पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माणको ठेक्का महालक्ष्मी लोकप्रिय जेभीले लिएको छ।