• २६ जेठ २०८२, सोमबार

पोर्चुगललाई युइएफए नेसन्स लिग उपाधि

blog

उपाधिसहित पोर्चुगल टोली ।

काठमाडौँ, जेठ २६ गते । युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो ।

पोर्चुगलले दोस्रो पटक यस उपाधि जितेको हो । यसअघि पोर्चुगलले सन् २०१९ मा उपाधि जितेको थियो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा सकिएको खेलमा पेनाल्टीमा पुगेर पोर्चुगल भाग्यमानी बन्यो ।

पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गर्नुभयो । यस्तै स्पेनका लागि मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गर्नुभयो ।

अल्भारो मोराटाको प्रहारलाई पोर्चुगलका गोलरक्षक डियगो कोस्टाले विफल पार्नुभएको थियो । यसअघि २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । तर स्पेनको त्यो अग्रता लामो समय टिकेन ।

२६औँ मिनेटमा नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा ल्याउनुभयो । ४५औँ मिनेटमा मिकेल ओयर्जबालले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाउनुभयो । 

त्यसपछि क्रिस्टियानो रोनाल्डोले ६१औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउनुभयो । त्यसपछिको खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेर सकिएको थियो ।

सेमिफाइनलमा पोर्चुगलले जर्मनी र स्पेनले फ्रान्सलाई हराउँदै फाइनलमा पुगेका थिए । यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले जर्मनीलाई २–० गोलले हराएको थियो । एजेन्सी