• १३ साउन २०८१, आइतबार

जाडोमा न्यानोसँगै फेसन

blog

काठमाडौँ, मङ्सिर ८ गते । फेसनेबल युवा पुस्ताका लागि जाडोयाम त्यति अनुकूल मानिँदैन। जाडोमा पूरा शरीर ढाक्ने पहिरन लगाउनुपर्छ। रङमा पनि विविधता दिन पाइँदैन। फेसन क्षेत्रका जानकारहरू भने युवापुस्ताका यस्ता तर्कमा सहमत छैनन्। समयअनुकूल फेसनले नै फेसनेबल देखाउने हो। यसका लागि सही ढङ्गले पहिरन छनोट गर्नचाहिँ सक्नुपर्छ। जाडो मौसममा पनि मिलाएर ड्रेसअप गरे स्टाइलिस तथा स्मार्ट देखिन सकिन्छ। 

जाडोमा विभिन्न डिजाइनका स्टाइलिस ज्याकेट तथा कोट लगाउन सकिन्छ। यस्ता पहिरनले न्यानोका साथै राम्रो र फेसेनेबल देखिन्छ। “जाडोमा गर्मीको जस्तो फेसन नचले पनि यति बेला उलन तथा बाक्ला टिसर्ट कुम देखिने डिजाइनमा खरिद गर्न सकिन्छ,” फेसन डिजाइनर रुवी राणा भन्नुहुन्छ, “विभिन्न डिजाइनका उलन टोपी तथा स्कार्फ लगाउँदा पनि आकर्षक देखिन सकिन्छ।” 

उहाँले कोट, ज्याकेट तथा स्वेटरमाथि फरक डिजाइनका मफलर लगाउँदा पनि राम्रो देखिने जानकारी दिँदै हाइनेकबाहिर डिजाइनर जम्पर लगाउँदा ‘स्लिम’ देखिने बनाउनुभयो। 

कोट, ज्याकेट तथा हाइनेकमाथि फरक डिजाइनका मफलर लगाउन सकिन्छ भने जिन्स पाइन्ट, चुज पाइन्ट तथा लेगिन्समा लङ बुट, सर्ट बुट वा वेज हिल बुट लगाउँदा पनि स्मार्ट लुक्स प्राप्त हुन्छ। 

अहिले धेरै प्यालर पाइन्टहरू चलेको छ। त्यसमा पनि राम्रो देखिन्छ भने जाडोमा रङ्गीन पहिरन लगाउँदा उज्यालो देखिन्छ। फेसन डिजाइनर महिमा अमात्यका अनुसार न्यानो र स्मार्ट लुकका लागि गोलो गला भएको स्वेटर लगाउन सकिन्छ। कुनै पनि लाइट कलरको स्वेटरका साथमा नीलो रङको जिन्सले लुक्सलाई अझ आकर्षक देखाउँछ। यसको साथमा गलामा मफलर पनि लगाइयो भने त झन् सुनमा सुगन्ध हुन्छ। “जाडो महिनामा खैरो, कालो, गाढा नीलो, बैजनी आदि रङका कपडा लगाउनुपर्छ। यसले पनि फेसनेबल देखाउँछ,” उहाँले भन्नुभयो, ‘समग्र लुकका लागि मफलर, उलनको नेक वार्मर र पन्जा लगाउन छकिन्छ। यसले न्यानोसँगै स्टाइलिस पनि देखाउँछ।” जाडोमा भेडाको ऊन सबैभन्दा प्रभावकारी हुन्छ। यसले चिसोबाट बचाउँछ। साथै भेडाको ऊनको कपडाले आकर्षक लुक पनि दिन्छ। न्यानो कपडाको लेयरिङ आरामदायक मात्रै हुँदैन, फेसनेबल लुक दिन पनि सहयोगी हुन्छ।