• ९ मंसिर २०८१, आइतबार

दार्चुलामा मन्त्री बडूको अग्रता, पूर्वमन्त्री ठगुन्ना पछ्याउँदै

blog

दार्चुला, मङ्सिर ६ गते । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार एवं नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको अग्रता कायमै  छ ।

अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार ५१६ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । दार्चुलामा मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबीच निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिनिधिसभामा व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाको मतगणना सम्पन्न भइसक्दासम्म ४४२ मतान्तर छ । दार्चुलामा ८९ हजार १५४ मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको छ । अब दुहुँ, महाकाली, मालिकार्जुन, शैल्यशिखर, लेकम, मार्मा र नौगाडको मतगणना गर्न बाँकी छ ।

अहिलेसम्म अपिहिमाल र व्यासको सबै अर्थात् आठ हजार ८३१ मत गणना भएको छ । जसमा आठ हजार ६७७ मत सदर र १५४ मत बदर भएको छ । सोमबार राति ९ बजेदेखि सुरु भएको मतगणना जारी छ ।

यस्तै दार्चुलामा प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीले अग्रता लिनुभएको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) लाई पछि पार्दै जोशीले अग्रता लिनुभएको हो । अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसक्दासम्म धामीले पाँच हजार ९१६ र जोशीले छ हजार ७३८ मत प्राप्त गर्नुभएको छ ।

अपिहिमाल गाउँपालिकामा धामीले ५३० मतले लिड गरेकोमा जोशीले शैल्यशिखरमा १३५२ मतले लिड गर्नुभयो । अहिले एमाले उम्मेदवार जोशी गठबन्धनका उम्मेदवार धामीभन्दा ८२२ मत अगाडी रहनुभएको छ । गठबन्धनले लिड गर्ने अनुमान गरिएका मार्मा र नौगाड गाउँपालिकाको मतगणना गर्न बाँकी रहेकोले प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनको जित हुने दाबी गरिएको छ । एमाले र गठबन्धन दुबैले जित्ने दाबी कायमै राखेका छन् ।

यस्तै, प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार विक्रमसिंह धामीले अग्रता लिनुभएको छ । धामीले तीन हजार ६९८ मत प्राप्त गर्दा एमाले उम्मेदवार हरदेव जोशीले तीन हजार २८९ मतसहित पछ्याइरहनुभएको छ ।

जोशीको भन्दा धामीको ४०९ मत बढी छ । प्रदेशसभा क्षेत्र नम्बर १ मा व्यास र दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको भए पनि दुहुँका केही वडाको आधिकारिक घोषणा हुन बाँकी छ ।