काठमाडौँ, मङ्सिर ६ गते । पर्यटन प्रवर्द्धनको हेतुले विभिन्न कार्य गर्दै आएको नेपाल पर्यटन बोर्डले नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’को विशेष प्रदर्शन आयोजना गरेको छ।
संसारभरका दर्शकले नेपालको सगरमाथा बेसक्याम्पमा पुगिरहेका बलिउड सुपरस्टारहरूलाई चलचित्रमार्फत हेरिरहेका छन्। अर्थात् बलिउड चलचित्र ‘उचाइ’ जसमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनि डेङ्जोङ्पा, परिणीत चोपडालगायतका कलाकारको अभिनय छ।
सुरज बड्जत्याले निर्देशन गर्नुभएको चलचित्रले सगरमाथा बेसक्याम्प ट्रेकको पूर्ण अनुभूति त दिन्छ नै नेपाली ढाकाटोपी, नेपाली कागज तथा नेपालको संस्कृतिलाई समेत इमानदारिताका साथ पेस गरेको छ। ‘उचाइ’को विशेष प्रदर्शनमा पर्यटन व्यवसाय तथा चलचित्रसँग सम्बद्ध व्यक्तिहरूको बाक्लो उपस्थिति थियो।
पर्यटन बोर्डका व्यवस्थापक सूर्य थपलियाले चलचित्र र पर्यटन क्षेत्रको सहकार्यको ढोका खोल्ने प्रयासस्वरूप ‘उचाइ’को विशेष प्रदर्शन आयोजना गरिएको बताउनुभयो।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशी चलचित्र नेपालमा छायाङ्कन गरी नेपालको हरेक क्षेत्रको हित हुने काममा बोर्ड सदैव साथमा रहेको प्रतिक्रिया दिनुभयो। उहाँले बोर्डको नीति धेरैभन्दा धेरै विदेशी चलचित्रलाई नेपालमा छायाङ्कनका लागि बोलाई नेपाललाई ‘छायाङ्कन हब’ बनाउने रहेको बताउनुभयो।