• १३ असोज २०८१, आइतबार

निर्वाचनमा महिला सहभागिता उत्साहजनक

blog

काठमाडौँ, मङ्सिर ६ गते । आमनिर्वाचनमा महिला मतदाताको उपस्थिति उत्साहजनक रह्यो । बिरामी, अशक्त, वृद्धावस्थाको अप्ठ्यारो बिर्सेर महिलावर्ग आमनिर्वाचनमा मतदान गर्न पुगेका थिए । कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० मध्ये ८८ लाख ४७ हजार ५७९ महिला मतदाता छन् । पुरुष मतदाताको तुलनामा राजधानीका मतदान केन्द्रमा पनि महिलाको सक्रिय उपस्थिति देखिएको अनुगमनमा पुग्नुभएकी महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बौद्धस्थित अरुणिमा शिक्षालय केन्द्रमा महिलाको लाम पुरुषको भन्दा बढी थियो । सोचेभन्दा उपस्थिति राम्रै देखियो, घरधन्दा सबै भ्याएर बेलुकासम्म पनि महिलावर्ग मतदान केन्द्रमा पुगिरहेको पायौँ ।” संविधानले भनेबमोजिम महिलाको उम्मेदवारी नरहे पनि मतदान गर्न महिला अब्बल देखिएको उहाँले बताउनुभयो । 

त्यस्तै काठमाडौँ क्षेत्र नं. ३ कै गागलफेदी मतदान केन्द्रमा महिलाको लाम साँझसम्मै लामो थियो । मतदान गरेपछि घाम ताप्दै मतदान स्थलमा रहनुभएकी ९२ वर्षकी सरस्वती ढकाललाई निर्वाचनको रौनक निकै मन प¥यो । उहाँले भन्नुभयो, “सबै एकै ठाउँमा भेला भएको देख्न पाएँ । यति धेरै मान्छे अरू बेला कहाँ देख्नु ? २००२ सालमा बिहे गरेर गाउँमा आउँदा बाटो उबडखाबड थिए ।” पटकपटक भएको चुनावपछि नै विकास भएर बाटो र पानी सजिलो गरी पाइएको उहाँको अनुभव छ । उहाँले चुनावको मर्म सुनाउनुभयो, “गाउँ बन्न त चुनाव हुनुपर्ने रहेछ, बाँचे भने अर्को पटक पनि भोट हाल्ने मन छ ।” ७५ वर्षकी कमला ढकाल आफ्ना ७५ वर्षीय श्रीमान्का साथ मतदान केन्द्र पुगेर मत हाल्दा जोडी ढुकुर आए मतदान गर्न भनेर धेरैले जिस्काउन भ्याए । उहाँहरूको उत्साह देखेरै बच्चासहित लामो समय लाममा बसेर गागलफेदीका महिला मतदाताले मतदान गरे । कुल एक हजार ५६० मतदाता त्यस केन्द्रमा छन् । 

उहाँले जस्तै बौद्ध पानी ट्याङ्की मतदान केन्द्रमा वयोवृद्ध दुर्गा भट्टले पनि उत्साहसाथ मतदान गर्नुभयो । त्यही केन्द्रमा अशक्त ९६ वर्षीय पेलु शेर्पाले पनि मतदान गर्नुभयो । उहाँले भन्नुभयो, “अर्को पटक खै के हो के हो, यस पटकको पालो किन खेर फाल्ने भनेर मत दिए ।”

तारकेश्वर डाँडा गाउँको केन्द्रमा पनि महिला मतदाताको बाहुल्य रहेको उपप्रमुख सिर्जना बुर्लाकोटीले जानकारी दिनुभयो । उम्मेदवारका एक प्रतिनिधि कोपिला देवकोटाले पनि महिलाका लागि सहज वातावरण बनाएको बताउनुभयो । मतदान अधिकृत पदमबहादुर खत्रीका अनुसार चारवटा केन्द्रमा तीन हजार तीन सय मतदाता रहेकामा झन्डै एक हजार एक सय महिला मतदाताले मतदान गरेको जानकारी दिनुभयो ।