• १३ असोज २०८१, आइतबार

काठमाडौं १ मा कांग्रेस विजयी

काठमाडौंका ९ वटा निर्वाचन क्षेत्रमा कसको अग्रता कति ?

blog

काठमाडौं, मङ्सिर ६ गते।  सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ। अन्य क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतगणना जारी छ। 

सोमबार दिउँसोदेखि सुरु भएको काठमाडौँ क्षेत्र नं १ को मतगणना टुङ्गिएको छ भने यहाँबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको हो। सिंह सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ। क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा हुनुहुन्छ। उहाँले दुई हजार आठ सय ९१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्तीले एक हजार दुई सय ८८ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल एक हजार एक सय १९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। एमालेका मणिराम फुयाँले भने हालसम्म एक हजार ९८ मत प्राप्त गर्नुभएको छ। 

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई एमालेका कृष्णबहादुर राईले तीन हजार दुई सय १३ मत सहित पछ्याइरहनुभएको छ। तेस्रो स्थानमा रहनुभएका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत प्राप्त गर्नुभएको छ। 

काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहनुभएका एमालेका डा राजन भट्टराईले नौ हजार दुई सय ७७ मत ल्याउनुभएको छ। राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार चार सय ३९ मत छ।

क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेल दुई हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गर्नुभएको छ। 

काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनालले दुई हजार ७९ मतसहित अग्रस्थानमा हुनुहुन्छ। कांग्रेसका भीमसेनदास प्रधानले १ हजार ४१२ मत प्राप्त गरी दोस्रो हुनुभएको छ। एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ४१ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। 

क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरे प्रतिस्पर्धीलाई पछाडि पार्दै एक हजार तीन सय ५८ मत प्राप्त गर्नुभएको छ। रास्वपाका उम्मेदवार गणेश पराजुलीले एक हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ। माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमी भट्टराईले नौ सय ६३ मत प्राप्त गर्नुभएको छ। 

क्षेत्र नं ८ मा भने रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार ७७० मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ। यस्तै हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले तीन हजार तीन सय १० मत प्राप्त गर्नुभएको छ। एमालेका शिवसुन्दर राजवैद्यले एक हजार पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ। 

यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले पाँच हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ। यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले पाँच हजार १४५ मत प्राप्त गर्नुभएको छ। लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार एक सय ३७ मत प्राप्त गर्नुभएको छ। 

त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएका रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मत ल्याउनुभएको छ। एमालेका हिमेश केसीले एक हजार तीन सय मत प्राप्त गनुभएको भएको छ।रासस