• १३ असोज २०८१, आइतबार

सिन्धुलीमा अझै सुरु भएन मतगणना

blog

सिन्धुलीमा मतगणनाका लागि गरिएको सुरक्षा व्यवस्था । तस्विर : बाबुराम देवकोटा, सिन्धुली ।

बाबुराम देवकाेटा 

सिन्धुलीमाढी, मङ्सिर ५ गते । सिन्धुलीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बेलुका ४ बजेसम्म पनि सुरु हुन सकेको छैन । मतगणना सुरु गर्न बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा मतपत्रको विषयमा विवाद भएपछि सोमबार दिउसो १ बजेबाट सुरु गर्ने भनिएको मतगणना अझै सुरु हुन नसकेको हो । 

निर्वाचन क्षेत्र नं. २ को मरिण गाउँपालिका–५ स्थित चिसापानी मतदान केन्द्रमा प्रदेशसभा ‘२’ को ४० वटा मतपत्र प्रतिनिधिसभा मतपेटिका परेको उम्मेदवार दाबीपछि विवाद उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

सर्वदलीय बैठकमा उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिबीच सहमति जुटाई बेलुका ५ बजेपछि मतगणना सुरु गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो । सर्वदलीय बैठकमा प्रतिनिधिसभा मतपेटिकामा परेको प्रदेशसभाको मतलाई सदर वा बदर गर्ने विषयमा उम्मेदवार र राजनीतिक दलका प्रतिनिधि बीच सहमति जुट्न नसकेको हो ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को दुधौली नगरपालिकाअन्तर्गतको बुङ्बुङे मतदान केन्द्रमा पनि मतदान अधिकृतको हस्ताक्षर नगरेको मतपत्रमा मतदाताले मतदान गरेको उम्मेदवार बैठकमा दाबी गरेपछि मतगणनाका लागि सहमति नजुटेको बताइएको छ । 

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले कर्मचारीको लापरबाही देखिए कारबाही हुने तर त्यस्तो मत सदर नहुने अडान लिनुभएको छ । जुन मतपेटिकामा मत खसेको छ त्यो सदर हुनुपर्ने उम्मेदवारको माग छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदरमुकामस्थित तरकारी तथा कन्दमूल विकास केन्द्रमा तीन स्थानमा छ वटा टोली बनाएर मतगणना हुने भएको छ । सुरक्षा व्यवस्था कडा बनाइएको र मतगणना स्थलमा तारजाली र सिसी क्यामेराको व्यवस्था गरिएको छ । मत परिणाम बाहिर सार्वजनिक गर्न ठाउँ“ठाउँ“मा माइकको व्यवस्था गरिएको छ ।

समानुपातिककोसमेत मत सँगसँगै गनिने भएकाले चारदेखि पाँच दिन भित्रमा गणना सकिने अनुमान कार्यालयले गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुली जिल्लामा ५७ दशमलव ५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दुई वटा निर्वाचन क्षेत्रमा गरी दुई लाख आठ हजार ३६९ मतदाता रहेकोमा एक लाख १९ हजार ९२९ मत खसेको छ । क्षेत्र नं १ मा एक लाख सात हजार १३६ मतदाता रहेकोमा ६३ हजार २९६ र  क्षेत्र नं २ मा एक लाख एक हजार २३३ मतदाता रहेकोमा ५६ हजार ६३३ मत खसेको थियो ।