• १३ असोज २०८१, आइतबार

शिवसुन्दर र राजेन्द्र च्याम्पियन

blog

भेट्रान टेबलटेनिस प्रतियोगिताका विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, मंसिर ३ गते । शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ। भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको हो । 

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम प्रालिको हलमा भएको ४० वर्षमाथि फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११–६ र ११–७ को सोझो सेटमा पराजित गर्नुभयो ।  ललितपुर टीटी क्लबका नवीनबहादुर शाक्य र सीवाइसी टीटी क्लबका रविन्द्र शाक्य तेस्रो हुनुभयो ।

राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सीधा सेटमा १२–१०, ११–१ र ११–३ ले हराउनुभयो । सीवाइसीका राजेन्द्र बज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेस्रो बन्नुभयो । 

भेट्रान पुरुष टिम इभेन्टमा गोड स्पिनका राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि बज्राचार्य र जविन्द्र बज्राचार्यको टोली पहिलो भयो । फाइनलमा गोड स्पिनले राजेन्द्र बज्राचार्य, रविन्द्र शाक्य, राजिप बज्राचार्य, किरण व्यञ्जनकार र आनन्दरत्न धाक्वा सम्मिलित सीवाइसी टोलीलाई ३–१ ले पाखा लगायो । ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेस्रो हुनुभयो । 

प्रतियोगिताअन्तर्गत पुरुषमा चार र महिलामा एक गरी पाँच स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोस्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदीश्वर जोशी तेस्रो हुनुभएको थियो । 

महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिरा पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले कांस्य जित्नुभएको थियो। सोही प्रतियोगिताका दौरान यु–१६ ब्वाइज/गल्र्सको एकीकृत प्रतिस्पर्धा पनि गराइएको थियो ।

एपीएमका आशिष् महता पहिलो, बुटवलका विसु सुनार दोस्रो तथा एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क तेस्रो हुनुभएको थियो । भेट्रानतर्फ कूल पुरस्कार राशि चार लाख ५० हजार रुपियाँ रहेको थियो ।  हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ५० हजार, २० हजार र १०/१० हजार रुपियाँका दरले पुरस्कार प्रदान गरियो ।