• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

दाङमा धमाधम मतदानका लागि बुथ निर्माण हुँदै

blog

दाङमा धमाधम मतदानका लागि बुथ निर्माण हुँदै । तस्बिर – लीलाधर वली

लीलाधर वली

घोराही, मङ्सिर ३ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १५३ मतदानस्थलमा रहेका ४६५ वटा मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले बुथ निर्माण गरिरहेका छन् । 

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष रूपमा बनाउनका लागि स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेर मतदान केन्द्र व्यवस्थापनको काम भइरहेको मतदातन अधिकृतहरूले बताएका छन् । 

मतदान स्थलमा सरसफाइदेखि डोरी तानेर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको । 

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ’, मुख्य निर्वाचन अधिकृत कार्कीले भन्नुभयो, ‘आज साँझसम्म सबै मतदान केन्द्रहरूमा तयारी पूरा हुनेछ । त्यही अनुसार अहिले पनि तयारीको काम भइरहेको छ ।’


दाङमा स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचनमा ३ हजार ७२० कर्मचारी तथा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो । जसमा नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालित छन् ।

जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रेग्मीले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।  

महिलाहरू मात्रै भएका मतदान केन्द्र

यसैबीच जिल्लाका एक सय ५३ वटा मतदानस्थल र ४ सय ६५ वटा मतदान केन्द्रमध्ये पाँच मतदान केन्द्रमा महिलाले नेतृत्व लिनुभएको छ । ती केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र अधिकांश सुरक्षाकर्मी सबै महिला छन् । 

मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोराही–१८ को आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारी मात्रै रहनुभएको छ । त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेको निर्वाचन अधिकृत इन्दु बस्यालले जानकारी दिनुभयो ।

उहाँलाई सहयोग गर्न उक्त मतदान केन्द्रमा सिर्जना शर्मा, हेमन्ता थापा, बिना शर्मा, सावित्रीदेवी शर्मा, दीपसना बिसी, बालिका घिमिरे र गोमा मगर खटिनुभएको छ । सो मतदान केन्द्रमा नौ सय ५२ मतदाता छन् ।

त्यही मतदानस्थलको (ख) मतदान केन्द्रमा उर्मिला तिमिल्सिना मतदान अधिकृत रहनुभएको छ । त्यसका लागि उक्त मतदान केन्द्रमा कमला खड्का, अर्चना चौधरी, इन्दिरा विक, हिरा केसी, गोमा योगी, तिला विक र गीता चौधरी गरी आठ जना महिला कर्मचारी खटिनुभएको छ  ।

सो मतदान केन्द्रमा नौ सय ७३ मतदाता रहेका छन् । घोराही–१७ मा रहेको प्रावि हरिद्वारको (ग) मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृत रहनुभएको छ । 

उक्त मतदान केन्द्रमा बसन्ती पौडेल, विपना बर्तौला, सम्झना कार्की परियार, कृतिसा रावत, सिर्जना भण्डारी, दिला केसी र सुमन चौधरी गरी आठ जना महिला कर्मचारी खटिनुभएको छ । त्यस मतदान केन्द्रमा सात सय ४८ मतदाता छन् । वडा नं. १७ कै गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृत रहनुभएको छ ।

उक्त मतदान केन्द्रमा गुप्ताकुमारी अधिकारी, विष्णा नेपाली, अनिता बुढा, सरिता भण्डारी, मनीषा चौधरी, गोमा बस्नेत र पानमती कामी छन् । सो केन्द्रमा ८ सय १२ जना मतदाता छन् ।

दाङ जिल्लाको मुख्य मतदान अधिकृत कृपासुर कार्कीले महिलाहरू हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने र यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने बताउनुहुन्छ । ‘महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान स्थलले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ’, उहाँले भन्नुभयो । 

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन महिला मात्रैले धाकेको मतदान केन्द्र घोराही–१६ सानी अम्बापुर केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म महिलाले चलाएकाले सोही अभ्यासलाई निरन्तरता दिएको गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृत मोती विश्वकर्माले बताउनुभएको छ ।

‘स्थानीय तहको अनुभव यो निर्वाचनमा सदुपयोग गर्ने छौँ’, मतदान अधिकृत विश्वकर्माले भन्नुभयो,‘महिलाहरू मात्रै भएर काम गर्दा गर्वको महसुस भइरहेको छ ।’  

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाको सेन्टर माध्यमिक विद्यालयको ८ वटा मतदान केन्द्र मध्य ‘ङ’ मतदान केन्द्रको नेतृत्वदेखि सम्पूर्ण कर्मचारी महिला रहनुभएको छ । 

उक्त मतदान केन्द्र कर्मचारी, सुरक्षाकर्मीदेखि स्वयंमसेविकाहरु समेत महिला रहनुभएको मतदान अधिकृत मञ्जु शर्माले जानकारी दिनुभएको छ । दाङमा ४ लाख १४ हजार नौ सय ५६ जना मतदाता छन् ।