• १० जेठ २०८१, बिहिबार

कतारमा फुटबलको कुम्भमेला

blog

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको कुम्भमेला सुरु हुन एक दिन मात्र बाँकी छ । त्यसैले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने टिमको टिसर्ट लगाएर विश्वकपको चाडमा मस्त भइसकेका छन् । लोकप्रियताको हिसाबले विश्वकप फुटबल सबभन्दा ठूलो खेल आयोजना हो । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप यस पटक पनि विश्वका उत्कृष्ट टिमबीच प्रतिस्पर्धा हुँदैछ । आयोजक कतारले आइतबार इक्वेडरसँग खेलेर यो खेल सुरु हुँदैछ । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसेल रङ्गशालामा हुनेछ । कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता हुनेछ । मध्यपूर्वी तथा अरब देशमा पहिलो पटक विश्वकप हुँदैछ । सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएपछि अरब देशका लागि कतार विश्वकपको आयोजना सबभन्दा ठूलो उपलब्धि हो । यसैगरी एसियामा हुने यो दोस्रो विश्वकप हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । 

विश्वकप फुटबलको यो २२औँ संस्करण हो । खाडी मुलुक कतारको चर्चा अहिले विश्वभर भइरहेको छ । यसअघि, कतार यसरी कहिले अगाडि आएको थिएन । तेल खानीका कारण धनी मुलुक कतारमा यो एक महिना विश्वभरका खेलप्रेमीहरूको नजर रहनेछ । विश्वका उत्कृष्ट र नामी फुटबलर भोलिदेखि बहुप्रतिक्षित विश्वकप फुटबल प्रतियोगितामा भेला हुँदैछन् । 

१२ वर्षअघि कतारलाई विश्वकपको आयोजना गर्न अधिकार दिनुलाई फिफाको अहिलेसम्मकै विवादास्पद निर्णय मानिएको छ । विश्वकपको दाबी गर्दा कतारमा पूर्वाधार अपुग थियो । त्यसमाथि निकै गर्मी देश । अनि सानो मुलुक । कतार विश्वकप आयोजना गर्ने अहिलेसम्मकै सबभन्दा सानो देश हो । आयोजक कतारले भने एक महिना लामो विश्वकप भव्य पार्न कुनै कसर बाँकी राखेन । कतारको तयारी हेरेरै पनि यस कुरालाई ठोकुवा गर्न सकिन्छ । विश्वकप आयोजनाका लागि कतारले अर्बौँ डलर खर्च ग¥यो । कतारले आठवटा अत्याधुनिक रङ्गशाला निर्माण गरेको छ । यसबाहेक विमानास्थल, सडक र सयौँ होटल बनेका छन् । रङ्गशाला निर्माणका लागि मात्र ३० हजारभन्दा बढी विदेशी कामदार कतार ल्याइएको थियो । हरेक रङ्गशालालाई मेट्रोबाट जोडिएको छ । विगतमा फरक फरक सहरमा विश्वकपका खेल हुन्थ्यो । यस पटक दोहा सहरकै आसपासमा सबै रङ्गशाला रहेका छन् । एक किसिमले भन्दा यस पटकको विश्वकप संस्करणले ओलम्पिकको झझल्को दिनेछ । ओलम्पिक एकै सहरमा खेलिने गर्छ । गर्मीलाई छल्न पहिलो पटक जाडो महिनामा विश्वकप हुँदैछ । विगतमा जुन–जुलाईमा विश्वकप हुने परम्परा रहिआएको छ । यसरी, बेमौसम, भौतिक पूर्वाधार र सानो देशको आलोचनालाई कतारले धेरै हदसम्म जवाफ दिइसकेको छ । तर यस निर्माण कार्यमा अप्रवासी कामदारमाथि अमानवीय व्यवहार गरेको भन्दै कतारमाथिको आलोचना अहिलेसम्म साम्य भएको छैन ।

कतार केही दाग बोकेर विश्वकप फुटबलको आयोजना गर्दैछ । यसपालि विश्वकप खेल्ने धेरै राष्ट्रको कतारलाई साथ पनि छैन । डेनमार्कलगायत युरापेली टिमका कप्तानहरूले मुटु अङ्कित चित्र भएको आर्मब्यान्ड लगाएर खेल्ने बताएका छन् । कतारलाई विश्वकपको आयोजना दिलाउन सहयोग गरेको फ्रान्सले पनि पेरिस र अन्य सहरमा विश्वकप खेल नदेखाउने निर्णय गरेको छ । अस्ट्रेलिया र नेदरल्यान्ड्सका खेलाडी हालै कतारमा मानव अधिकार हनन भएको विरोधमा बनाइएको भिडियोमा देखिएका छन् । यद्यपि कतारले विश्वकपको आयोजना पाएदेखि विश्वलाई आफ्नो उदार र सहिष्णु छवि पेस गर्न खोज्दैछ । कतारले समलैङ्गिक प्रशंसकलाई पनि स्वागत गर्ने समाचार आइरहेको छ । फिफाले पनि विश्वकपलाई राजनीतिक रङ नदिन सबैलाई आग्रह गरेको छ ।

दक्षिण अमेरिका र युरोपेली टिमबीच लडाइँ

विश्वकप फुटबल प्रतियोगितामा असली लडाइँ सधैँ युरोपेली र दक्षिण अमेरिकी टिमबीच हुने गर्छ । दक्षिण अमेरिकी राष्ट्रमध्ये पनि प्रमुख रूपमा ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र युरोपेली राष्ट्रहरूमा जर्मनी, स्पेन, फ्रान्स, इङ्गल्यान्ड, नेदरल्यान्ड्स, इटाली, बेल्जियम अगाडि रहन्छन् । दक्षिण अमेरिकी आक्रमक शैलीमा बढी विश्वास गर्छन्, जसमा खेलाडीको व्यक्तिगत क्षमताको मूल्याङ्कन गर्न पाइन्छ । यस शैलीले उनीहरूलाई विश्वकपमा कैयौँ सफलता दिलाएको पनि छ । युरोपेलीहरू भने धैर्यपूर्वक अर्काको रणनीतिलाई बुझेर आफ्नो रणनीति बनाउँछन् । भनिन्छ, फुटबल दक्षिण अमेरिकीहरूको रगत र युरोपेलीहरूको मस्तिष्कमा हुन्छ । यसकारण विश्वकपलाई सधैँ युरोपविरुद्ध दक्षिण अमेरिकाको युद्ध भन्ने गरिन्छ । यद्यपि महादेशीय भिडन्तमा युरोपसँग दक्षिण अमेरिका लगातार चिप्लिरहेको छ । दक्षिण अमेरिकी टिमले विश्वकप नजितेको दुई दशक भइसकेको छ । सन् २००२ मा ब्राजिलले विश्वकप जितेपछि लगातार युरोपेली टिम च्याम्पियन बन्दै आएको छ । अझ पछिल्ला चार संस्करणमा सेमिफाइनलमा पुग्ने १६ मध्ये १३ टिम युरोपका छन् । पछिल्लो संस्करणमा दक्षिण अमेरिकी टिमले क्वाटरफाइनलमा पनि स्थान बनाउन सकेनन् ।

विगतमा फरक फरक सहरमा विश्वकपका खेल हुन्थ्यो । यस पटक दोहा सहरकै आसपासमा सबै रङ्गशाला रहेका छन् । एक किसिमले भन्दा यस पटकको विश्वकप संस्करणले ओलम्पिकको झझल्को दिनेछ । ओलम्पिक एकै सहरमा खेलिने गर्छ । 

यस पटक भने दक्षिण अमेरिकी टिम त्यसमा पनि ब्राजिल र अर्जेन्टिनालाई विश्वकप जित्ने ठूलो अवसर छ । युरोपका बलिया टिम अहिले राम्रो लयमा छैनन् । युरो च्याम्पियन इटाली त विश्वकपमा चयन हुन सकेन । विश्व विजेता फ्रान्स युरोपेली राष्ट्रबीच हुने फुटबल प्रतियागिता नेसन्स लिगमा मुस्किलले रेलिगेसनबाट जोगियो । विश्वकपमा सधैँ राम्रो प्रदर्शन गर्ने जर्मनीले हालैको प्रदर्शनमा छमध्ये मात्र एक खेल मात्र जित्यो । इङ्गल्यान्डले नेसन्स लिगमा लगातारा छ खेलमा जित हात पार्न सकेको थिएन । स्पेन पनि हालै स्विट्जरल्यान्डसँग पराजित भएको छ ।

त्यसैले पनि फुटबल पण्डितहरूले अर्जेन्टिना र ब्राजिललाई नै विश्वकप जित्नसक्ने प्रमुख दाबेदारको रूपमा राखेका छन् । फिफाले त अर्जेन्टिनाले विश्वकप जित्ने भविष्यवाणी गरेको छ । पछिल्ला केही संस्करणदेखि फिफाको भविष्यवाणी सही पनि भएको छ ।

उपाधि दाबेदार टिम

हुन त विश्वकप फुटबलजस्तो ठूलो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । विश्वकपमा सहभागी ३२ राष्ट्र करिब साढे दुई वर्षसम्म चलेको छनोट चरणमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट भएर कतारमा खेल्दैछन् । त्यसैले यी सबै विश्व फुटबलका एकसे एक टिम हुन् । तर पनि प्रत्येक विश्वकपमा केहीलाई मात्र उपाधि दाबेदार टिमको रूपमा लिइन्छ जसलाई विश्व फुटबलका हेभिवेट टिम भनिन्छ । यी टिम तुलनात्मक रूपमा नाम चलेका खेलाडीले सुसज्जित पनि हुन्छन् । तर विश्वकप जस्तो ठूलो प्रतियोगितामा सधैँ उलटफेरको सम्भावना रहन्छ । यस पटक पनि विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा उत्कृष्ट हुने केही दाबेदार टोली छन् । 

यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारको  रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्गल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्ने टिमको  रूपमा आकलन गरिएको छ । ब्राजिल सर्वाधिक पाँच पटक विश्वकप जितेको र अहिले फिफा वरीयतामा नम्बर एक स्थानमा रहेको टिम हो । त्यसैले ब्राजिललाई विजेताको बलियो दाबेदारको  रूपमा लिइएको छ । अन्तिम पटक विश्वकप खेल्दै गरेका लिजेन्ड नेमारको प्रेरणामा रहेको ब्राजिलियाली टिममा एकसे एक प्रतिभाशाली खेलाडी छन् । ब्राजिलको टिममा विश्वस्तरीय नौ स्ट्राइकर नेमार, भिन्सियर जुनियर, रोड्रिगो, रिचर्लिसन, राफिन्हा, एन्टोनी, गाब्रियल जेसस, गाब्रियल मार्टिनेली र पेड्रो रहेका छन् । यद्यपि नेमार र जेसससँग मात्र विश्वकप खेलेको अनुभव छ ।

महान् फुटबलर डिएगो म्याराडोनापछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छैन । म्याराडोनाको निधनपछि अजेन्टिनाको यो पहिले विश्वकप पनि हो । अर्जेन्टिनाले यसपालि विश्वकप जितेमा म्याराडोनाप्रति श्रद्धाञ्जलि हुनेछ । लियोनेल स्कालोनीको प्रशिक्षकत्व र लियोनेल मेसीको कप्तानमा अर्जेन्टिनाको लय पनि गजबको छ । अर्जेन्टिना पछिल्ला ३६ खेलमा अपराजित छ । त्यसैले पनि विश्वकप उपाधि दाबेदारको सूचीमा अर्जेन्टिनाको नाम सबभन्दा माथि छ ।

विश्वकपलाई सधैँ युरोपविरुद्ध दक्षिण अमेरिकाको युद्ध भन्ने गरिन्छ । यद्यपि महादेशीय भिडन्तमा युरोपसँग दक्षिण अमेरिका लगातार चिप्लिरहेको छ । दक्षिण अमेरिकी टिमले विश्वकप नजितेको दुई दशक भइसकेको छ । 

विश्वकपको उपाधि रक्षा अभियानमा रहेको टिममा त्यसै पनि सबैको नजर हुन्छ । यस पटक फ्रान्स उपाधि रक्षा अभियानमा रहनेछ । तर तितो सत्य के हो भने सन् १९६२ मा ब्राजिलपछि कुनै देशले लगातार विश्वकप जितेको छैन । यसबाट पनि थाहा पाइन्छ विश्वकप च्याम्पियन बन्न कति कठिन छ । यद्यपि सन् २०१८ को च्याम्पियन फ्रान्स अहिले पनि सबभन्दा गहिराइ भएको टिम हो । यद्यपि प्रेरणादायी मिडफिल्डर पल पोग्बा र एन्गोलो कान्टे चोटका कारण टिममा नहुँदा फ्रान्सको चिन्ता बढेको छ । करिम बेन्जामा र किलियन एमबापेको उपस्थितिले आक्रमणमा भने फ्रान्स ढुक्क छ ।

सन् २००८ देखि २०१२ सम्म विश्व फुटबलमा अधिपत्य बनाएको स्पेनी टिमको फुटबल खेल्ने शैलीमा अहिले विगतको जस्तो स्वाद छैन । यद्यपि स्पेनलाई पनि उपाधि दाबेदारमध्ये एकको  रूपमा लिइएको छ । समूह चरणमा युरोपका दुई महाशक्ति स्पेन र जर्मनीबीच खेल पनि परेको छ । जसलाई समूह चरणको सबभन्दा ठूलो खेलको  रूपमा लिइएको छ । यस वर्ष स्पेनको टिम फरक देखिएको छ । सर्जियो रामोस, जेरार्ड पिक, एन्द्रियज इनिएस्टा, डेभिड सिल्भा नभएपनि पेड्री गोन्जालेज, जाभी पाइज र निको विलियम्सजस्ता युवा खेलाडीले स्पेनका दाबेदारी कायम राख्नुहुनेछ । सो टिममा १९ वर्षीय खेलाडीद्वय येरेमी पिनो र आन्सु फाटी पनि रहनुभको छ । स्पेनको टिममा आधाभन्दा बढी खेलाडी २५ वर्षभन्दा कम परेका छन् तर यो टिममा निकै क्षमता छ ।

माथि नै उल्लेख भइसकेको छ, इङ्गल्यान्डले पछिल्ला छ खेलमा जित हात पारेको छैन । तर हालका प्रमुख प्रतियोगितामा इङ्गल्यान्डको प्रदर्शन गजबको छ । सन् २०१८ को विश्वकपमा सेमिफाइनलिस्ट र गत वर्ष युरो च्याम्पियनसिपको उपविजेता इङ्गल्यान्डलाई कसरी उपाधि दाबेदारीबाट अलग पार्न सकिन्छ । विश्वकप उपाधि दाबेदारमा छुटाउन नहुने अर्को टिम हो बेल्जियम । बेल्जियमको यस टिमलाई सुनौलो पुस्ता पनि भनिन्छ । जसमा केभिन डि ब्रुयन, इडेन हजार्ड र रोमलु लुकाकुजस्ता खेलाडी छन् । कागजमा बेल्जियमको टिम निकै सशक्त छ । तर पछिलो संस्करण र युरो २०२२ को प्रदर्शन हेर्दा बेल्जियमका यो सुनौलो पुस्ता प्रमुख प्रतियोगितामा अपेक्षा गरेअनुसार खरो उत्रन सकेको छैन । यसबाहेक विश्वकपमा सधैँ उत्कृष्ट खेल्ने तथा विश्व फुटबलमा सर्वाधिक सफल टिममध्ये एक जर्मनीलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन । युरोपेली च्याम्पियन पोर्चुगललाई बुकमेकरले त्यत्ति धेरै भाउ दिएका छैनन् । तर क्रिस्टियानो रोनाल्डो सामेल टिमलाई कमजोर ठानेमा त्यो मुख्र्याइँ मात्र हुनेछ । 


इतिहास पल्टाउने हो भने छ पटक आयोजक राष्ट्रले पनि विश्वकप जितेको तथ्य भेट्टाउँछौँ । सन् १९३० मा उरुग्वे, सन् १९६६ मा इङ्ल्यान्ड सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्स आफ्नै घरेलु भूमिमा खेलेर च्याम्पियन बनेका थिए । तर सन् १९९८ पछिको विश्वकपले आयोजकलाई साथ दिएको छैन । अझ यसपालि कतारले विश्वकप जित्ने भ्रममा शायदै कोही होला । कतार पहिलो पटक विश्वकप खेल्दैछ, त्यो पनि आयोजकको रूपमा । तर कतार कमजोर छैन । कतार एसियाली च्याम्पियन टिम हो । घरेलु मैदानमा कतारको प्रमुख लक्ष्य नकआउट चरणमा पुग्ने हुनेछ । कतारको अर्को लक्ष्य सफल आयोजना गरेर विश्वको मन जित्नु नै हुनेछ । यसबाहेक एसियाका अन्य राष्ट्र, उत्तर अमेरिकी टिम र अफ्रिकी राष्ट्रहरूको लक्ष्य लामोभन्दा लामो यात्रा तय गर्ने नै हुनेछ ।

रोनाल्डो र मेसीको अन्तिम विश्वकप

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी विश्व फुटबलमा यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी हुन् । यी दुईबीचको प्रतिद्वन्द्वीताले विश्व फुटबललाई अर्कै उचाइमा पु¥यायो । तर यस पटक रोनाल्डो र मेसीलाई पहिले जस्तो भाउ दिइएको छैन । दुवै अहिले आआफ्नो खेल जीवनको अन्ततिर छन् । चार वर्षअघिकै विश्वकपमा नै दुवैले समर्थकलाई खुसी पार्न सकेका थिएनन् । रोनाल्डोको पोर्चुगल र मेसीको अर्जेन्टिना प्रिक्वाटरफाइनलमै रोकिएका थिए । त्यसपछि त्यही समयमा अब यी दुईलाई विश्वकपको मञ्चमा पुनः देखिन पाइने छैन भन्ने चर्चा चलेको थियो । अहिले मेसी ३५ र रोनाल्डो ३७ वर्षका भए । यद्यपि उमेरलाई परास्त गर्दै रोनाल्डो र मेसी पुनः विश्वकप खेल्दैछन् । यस पटक भने यिनीहरूको प्रदर्शनलाई लिएरभन्दा दुई महान् फुटबलरको चर्चा अन्तिम विश्वकपमा खेल्दैछन् भनेर हुने गरेको छ । रोनाल्डो र मेसी मात्र होइन, रोवर्ट लेवान्डोस्की, लुइस सुवरोज, लुका मोड्रिच, डानी अल्भेज, म्यानुअर नुअर र थोमस मुलरजस्ता विश्वप्रसिद्ध फुटबलरको पनि यो अन्तिम विश्वकपको  रूपमा हेरिँदैछ । 

हेर्नलायक खेलाडी

विश्वकप कुनै पनि फुटबलरको प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने ठूलो मञ्च हो । यसपालि पनि विश्वकपमा त्यस्ता केही खेलाडी छन्, जसले सबभन्दा बढी छाप छोड्न सक्छन् । यसमध्ये मेसी, रोनाल्डो, नेमार, किलियन एमबापे, केभिन डि बु्रयन र करिम बेन्जामाको नाम सबभन्दा अगाडि आउँछ । यसबाहेक हेरी केन, भिन्सियस जुनियर, रोवर्ट लेवान्डोस्की, केभिन डि बु्रयनजस्ता खेलाडीको जादु विश्वकपमा चलेमा आश्चर्य मान्नुपर्ने छैन ।