• १३ साउन २०८१, आइतबार

निर्वाचनमा किन भोट हाल्ने ?

blog

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पाँच वर्षपश्चात् २०७९ सालमा हुने आमनिर्वाचन हो। नेपाल सरकारले २०७९ को उक्त आमनिर्वाचन भोलि मङ्सिर ४ गते हुँदै छ। अहिले निर्वाचन आयोगका अनुसार एक करोड ८९ लाख ८८ हजार ५७० जना जम्मा मतदाता छन्। यसैका लागि लाखौँ कर्मचारी खटाइनु तथा हजारौँ मतदान स्थल कायम गरिएका छन्। दर्जनौँ राजनीतिक दल र अनेकन स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। मतदाता रिझाउने कामसमेत सकिएको छ। थुप्रै नयाँ र केही पुराना अनुहार देशभरिको निर्वाचन क्षेत्रमा देखिन्छन्। अब शान्तिपूर्ण मतदान र योग्य तथा अनुभवी जनप्रतिनिधि चुनिएको हेर्ने अपेक्षा मात्र बाँकी छ।

प्रजातन्त्रको पहिलो अभ्यास पुरातन ग्रिसमा गरिएको थियो तर यस समयमा समाजमा धेरै दास थिए र थोरै मात्र नागरिकका रूपमा भाग लिन योग्य थिए। उदार लोकतन्त्र भएको देशमा कम्तीमा सैद्धान्तिक रूपमा, समानुपातिक प्रतिनिधित्वमार्फत शासन संयन्त्र चल्छ। यस संयन्त्रमा नागरिकलाई उनीहरूको सहभागिताद्वारा (भोट हालेर) परिवर्तन प्रभाव पार्न र सत्तामा रहेकाहरूलाई साझा हितका लागि सशक्त कार्य गर्न मनाउन सकिन्छ। 

अमेरिकी विद्वान् जोन डेवीका अनुसार लोकतन्त्र एउटा प्रक्रिया हो, राज्य होइन। बेलायत र संयुक्त राज्य अमेरिकाजस्ता देशमा समेत धेरै पछिसम्म साँचो लोकतन्त्र थिएन भन्दा अत्युक्ति नहोला। बेलायती पुरुष मताधिकार सन् १८३० देखि बिस्तारै विस्तार भयो तर महिलाले सन् १९१८ सम्म मतदानको अधिकार प्राप्त गरेका थिएनन्। संयुक्त राज्य अमेरिकामा त झन् एक दक्षिणी राज्यमा अफ्रिकी–अमेरिकीले १९६५ सम्म मतदान अधिकार पाएनन्। नेपाललगायत अरू राष्ट्रले महिला राष्ट्रपति पाइसक्दा अमेरिकाले उपराष्ट्रपतिमा चित्त बुझाउनुपरेको यथार्थ साँचो हो।

१८औँ शताब्दीको उत्तरार्धमा लोकतन्त्रको पर्यायका रूपमा पुनर्जीवित गरियो। १८औँ शताब्दीको अन्त्यदेखि १९१८ सम्मको पहिलो लहर अमेरिका, फ्रान्स र हाइटीमा भएको क्रान्ति, बेलायतमा क्रमशः प्रजातन्त्रको उदय, दक्षिण अमेरिका, जर्मनी, ओटोमन साम्राज्य र अस्ट्रियामा प्रजातन्त्र स्थापना गर्ने बोलिभेरियन क्रान्ति थियो। त्यो प्रथम विश्वयुद्धपछिको साम्राज्यबाट प्रजातान्त्रिक गणतन्त्रसम्मको यात्रा थियो। दोस्रो लहरमा १९४५ देखि १९६० सम्म पराजित शक्ति जर्मनी, इटाली र जापानलाई शक्तिशाली लोकतन्त्रमा पुनर्गठित गरियो। बिस्तारै विश्वको उपनिवेश हटाइयो अनि ठूलो मात्रामा स्वतन्त्र लोकतान्त्रिक राज्यहरू सिर्जना गरियो। तेस्रो लहर १९७५ देखि १९९१ सम्म पोर्चुगल, स्पेन र ब्राजिलमा तानासाहीको अन्त्य; ताइवान र दक्षिण कोरियामा लोकतन्त्रमा 

सङ्क्रमण र सोभियत सङ्घको पतनपछि स्वतन्त्र र लोकतान्त्रिक समाजको उदय भयो।

अधिनायकवादी व्यवस्था स्वाभाविक रूपमा केन्द्रीकृत हुन्छ र स्वतन्त्र विचार र अभिव्यक्तिलाई प्रतिबन्धित गर्दछ। यसले द्रुत परिवर्तन ल्याउन त सक्ला तर माथिबाट मात्र निर्देशित हुन्छ। त्यसैले परिवर्तन गर्ने अनिच्छाले लोकतन्त्रको पतन हुने सम्भावना बढी हुन्छ। संसारमा लोकतन्त्रले सभ्यताको इतिहासमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ। यसले विश्वलाई राजतन्त्र, साम्राज्यवाद र अधिनायकवाद आदि शक्ति संरचनाबाट जनताको शासन, आत्मनिर्णय र शान्तिपूर्ण सहअस्तित्वमा परिवर्तन गर्न मद्दत गरेको छ।

संसारका अरू भागमा जस्तै केही मानिस मतदान गर्ने मुडमा छन् भने केही मतदाता किन मतदान गर्ने ? आखिर जुन जोगी आए पनि कानै चिरेका त हो नि भन्ने सोचाइबाट प्रभावित छन् यसपालिसमेत। यो सामान्य हो कि चुनावको केन्द्रबिन्दुमा फरक फरक धारणा र दाबी धाराप्रवाह बग्छ तर भोट दिनु नदिनुभन्दा उत्तम हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ, नेपालजस्तो लोकतान्त्रिक मेसोमा होमिएको मुलुकमा। 

तपाईंले आफ्नो क्षेत्रमा दिगो प्रभावकारी विकास गर्न सही नेता छनोट नगरी हुन्न। आखिर कानुन बनाउने मानिस अरू कोही नभएर तपाईंकै क्षेत्रबाट चुनिएर जाने प्रतिनिधि हुन्। मतदान अधिकारले तपाईंलाई त्यो मौका प्रदान गर्छ। चुनावमा सही र योग्य प्रतिनिधि चुनेर धेरै सामाजिक समस्या जस्तै– प्रजनन अधिकार, वातावरणीय समस्या, सार्वजनिक शिक्षा, विकास, समानता आदि कुरामा परिवर्तन भएका ज्वलन्त उदाहरण खोज्न टाढा जानु पर्दैन। गत निर्वाचनमा छानिएका केही प्रतिनिधि नै भारी छन्। सामाजिक समस्याले कुनै न कुनै रूपमा सबैलाई असर गर्छ। सामाजिक एजेन्डाहरू निर्णय गर्ने अधिकार कसलाई दिने भन्ने कुराका लागि मतदान गर्न आवश्यक छ। होइन भने अर्को पाँच वर्षसम्म 

फेरि फसिन्छ।

कुनै न कुनै रूपमा सही, तपाईंको समुदायका प्रत्येक व्यक्तिले कर तिर्छन्। धेरै मानिसले त्यो पैसा कसरी प्रयोग–दुरुपयोग भइरहेको छ भनेर बुझ्दैनन्। आज १८ वर्षभन्दा माथिका सबै नेपाली मतदाता भएका छन्। नेपालको इतिहासमा यस्तो अधिकार पाएको धेरै लामो समय भएको छैन। यसका लागि धेरै वर्ष विरोध र सङ्घर्ष गर्नुप¥यो। त्यसैले प्रत्येक निर्वाचनमा तपाईं आफ्नो अधिकार प्रयोग गरेर अझ शक्तिशाली बन्नुहोस्। तपाईंको आफ्नो, परिवार र समुदायका लागि रोज्नुभएको उच्च–गुणस्तरको जीवनशैलीमा मुख्य निर्णय गर्ने शक्ति तपाईंसँग छ। भौतिक विकास, रोजगारी, वातावरणीय संरक्षण र उत्कृष्ट शिक्षा एवं स्वास्थ्य सेवाजस्ता समस्याको समाधान गर्ने मौका भोटिङबाटै हो। सायद यही कारण कुनै समय बन्दुकको नालबाट शक्ति प्राप्त गर्ने होडमा होमिएका केही तत्वसमेत अहिले जनतालाई परमेश्वर मान्दै भोट माग्दै हिँडेका देख्न पाइन्छ। 

पटक पटक संसारको विभिन्न देशमा देखिएको छ कि ज्यादै कम भोटको मार्जिनले उम्मेदवार विजयी हुँदै आएका छन्। त्यसैले प्रत्येक भोटको महत्व विशेष छ। भोलिका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै तपाईंले भोट दिएकाबाटै चुनिएर बन्ने हुन्। त्यसैले निर्भीक भएर आफ्नो स्वविवेक प्रयोग गर्नुहोला यसपालि पनि। अहिलेसम्म भोट दिएर आफ्नो प्रतिनिधि छान्ने व्यवस्थाभन्दा उत्तम व्यवस्था नभएकाले यो निर्विकल्पजस्तै छ। तपाईं पनि यो आमनिर्वाचनमा भोट दिन नचुक्नु है।