• १३ साउन २०८१, आइतबार

फुटबलको लोकप्रियता

blog

फुटबल खेल खेलाडीले वैयक्तिक कला उद्घाटन गर्ने रङ्गमञ्च हो। त्यही भएर होला, फुटबल विश्वका धेरै मानिसलाई मन पर्ने खेल बनेको। विश्व कप र विश्व बरीयताको मानकबाट हेर्ने हो भने फुटबलको वर्चस्व ल्याटिन अमेरिका र युरोपले मात्र ओगटेका छन् तर यसको लोकप्रियताको मापन गर्ने हो भने फुटबल मोह विश्वव्यापी भइसकेको छ। कलामिश्रित सपाट खेल भएरै होला, फुटबल बुझ्न कुनै भाषाको जरुरी छैन।

फुटबललाई सनातन संस्कृति जत्तिकै मान्ने ब्राजिल, अर्जेन्टिना उरुग्वेका खुट्टाले खेलुन् अथवा चिसो युरोपका चिल्ला र गोरा मान्छेले, उपनिवेशको चपेटामा परेर आफ्नो 

मातृ भाषासमेत गुमाउनुपरेका कतिपय ल्याटिन अमेरिका र अफ्रिकी गरिब देश या एसियाली मान्छेले खेलुन्, खेलका अगाडि भाषा, रङ र भूगोल तपसिल ठहरिन्छ। त्यसैले त सारा विश्व एउटै आवेग, संवेग र समानुभूतिका साथ फुटबलमा जत्तिको समर्पित भएको सायद अर्को खेल छैन। 

फुटबलको सर्वव्यापी स्वरूपबारे योभन्दा धेरै भन्नु परेन। फुटबल खेलका दौरान खेलाडीबीच हुने धक्का–मुक्का, चोट र वैमनस्यता। चितुवा गतिमा बल नियन्त्रणका लागि मैदान चहार्नुपर्ने खेलाडीबीच हुने कतिपय धक्का–मुक्का चाहिँ स्वाभाविक रूपमा लिनुपर्छ। जस्तो हामीले कुनै सत्कर्म चिताएर पूजा, यज्ञ, भोज–भतेर इत्यादि गर्दा सकेसम्म सबैलाई मानमनितो सेवा–सत्कार गर्ने कोसिस गर्दागर्दै पनि कहिलेकाहीँ तल माथि पर्न जान्छ। कसैको गोडा कुल्चिन्छ, कसैलाई प्रसाद दिन बिर्सिएको हुन्छ, कसैले दोहो¥याएर प्रसाद खान्छ, भीडभाडमा कसैको दूध ल्याएको अम्खोरा हराउँछ, कसैका जुत्ताचप्पल हराउँछन्, साटिन्छन्। यस्ता छिटफुट कमजोरी नियतवस नभई हतारोले निम्त्याएका हुन्। 

हो, त्यसैगरी फुटबलको मैदानमा दुई पक्षका बलशाली खेलाडीले आफ्ना लागि सही अवसरको खोजी गर्दा कसैको टाउको ठोकिन्छ, कसैका गोडा जुध्छन्, कसैको कपडा तानिन्छ। यतिसम्म चाहिँ हामी दर्शकलाई नियतवस लाग्दैन। कहिलेकाहीँ खेल भावनाविपरीत कुनै खेलाडी, टिम वा सम्बन्धित देशको प्रतिनिधित्व गर्ने जो कोहीले देश भूगोलको हैसियतका आधारमा, आर्थिक हैसियतका आधारमा वा फुटबल खेलमै पनि आफूले विगतमा हासिल गरेको उपलब्धिका आधारमा यदि कुनै विश्वस्तरको खेलाडी/टिमबाट कुनै घमण्ड प्रकट भयो भने त्यसको नकारात्मक प्रभाव फुटबल खेलले भोग्नुपर्छ। पहिले नै दर्शक र खेल पारखीको नजरमा उक्त टिम/देश गिरिसकेको हुन्छ। भलै त्यस्ता हर्कतका लागि रेफ्रीले दिने सजाय एक ठाउँमा छँदै छ। 

इतिहास खोतल्ने हो भने विश्व कप फुटबल, यसको आयोजना/आयोजक र सहभागिताका सन्दर्भमा कहीँ कतै विवादका बाछिटा नलागेका होइनन्। शक्ति राष्ट्रको सामरिक तुष्टि, अन्तर्राष्ट्रिय कूटनीतिक दाउपेच र इबीका कारण विश्वकप पूर्णतया विवादमुक्त त छैन तर सन् १९३० बाट सुरु भएको फुटबल विश्वकप यात्रा सन् १९४० को दशकमा मच्चिएको दोस्रो विश्वयुद्धका कारणले केही संस्करण रोकिनुबाहेक अन्य संस्करणको अविच्छिन्न निरन्तरताले के प्रस्ट पार्छ भने विश्वकपको सर्वकालीन अनुमोदन भइसक्यो।

फुटबल सीमित खेलाडीको मात्र नभएर समग्र देशकै संस्कृति नबनेसम्म यसको स्वस्फुर्त क्षमता वृद्धि गफ मात्र हुनेछ। हो, फुटबल विकासका लागि लगानी र निरन्तरता अनिवार्य सर्त हो तर लगावबिनाको लगानीले मात्र विश्व मानकको परिणाम निकाल्न नसकिने रहेछ। त्यसो हुँदो हो त जति पनि लगानी गर्न सक्ने धनी देशमा मात्र फुटबल कलाको थुप्रो लाग्नुपर्ने। विश्वको झन्डै एकतिहाइ जनसङ्ख्या ओगटेका चीन र भारतजस्ता विशाल देशले विश्वलाई नै पुग्ने गरी फुटबल खेलाडी जन्माउने थिए। त्यसो भएको छैन र हुन सक्दैन पनि किनकि त्यहाँ अझै फुटबल संस्कृति बनिसकेको छैन। 

ब्राजिल, अर्जेन्टिनालगायतका कैयौँ ल्याटिन अमेरिकी देशमा फुटबल उपल्लो स्तरको राष्ट्रिय पर्वजस्तै बनेको छ, त्यसैले त त्यो भेगका गरिब देश पनि फुटबलमा विश्व परिचित छन्। युरोप भेगले फुटबललाई संस्कृति मात्र बनाएन, यो खेलको व्यावसायिक प्रवद्र्धनमार्फत विश्वभरका खेलाडीलाई मञ्च प्रदान गरेको छ। अफ्रिका भेग पनि फुटबलको साम्राज्यमा आफूलाई समाहित गराउने जमर्को गर्दै छ। एसियाली भेगबाट पनि जापान, दक्षिण कोरिया, इरान, कतारलगायतका देशले फुटबलमा आफ्नो शक्ति देखाउँदै छन् तर हाम्रो एसियाली यथार्थ फुटबलको विश्व–मञ्चमा अझै निम्छरो नै छ। अब त्यो निम्छरो त्रास पनि रहेन किनकि सन् २०१४ को विश्वविजेता टोली जर्मनीमाथि सन् २०१८ को संस्करणमा सनसनीपूर्ण जित निकालेर जब्बर टोली जर्मनीलाई समूह चरणबाटै घर फिर्ता पठाउने टोली पनि आखिर एसियाली देश दक्षिण कोरिया नै बन्यो। 

सन् १९९८ को विजेता टोली फ्रान्सलाई सन् २००२ मा आइपुग्दा आच्छु आच्छु बनाउने सेनेगलको दर्बिलो विगत पनि त छ। उपाधि जितको कुरा गर्दा युरोप र दक्षिण अमेरिका हाबी भए पनि फुटबलको एउटा अति सुन्दर पक्ष के छ भने कतिखेर कुन चाहिँ महाशक्तिलाई कुन चाहिँ कमजोर ठानिएको टिमले पराजित गर्दै ‘महानायकको अन्त्य’ गराइदिन्छ पत्तै हुँदैन! आखिर खेल न हो। त्यसैले असली नायकत्व त मैदानमा हुने ताजा भिडन्तमा मात्र निर्माण हुन्छ, इतिहास भनेको त हौसला जोगाइराख्ने पुलिन्दा मात्र न हो।

विश्वकप चलिरहँदा नेपाली उत्साहको कुरा गरौँ! हरेक चार वर्षमा आउने फुटबल विश्वमेला अवधिभरको कुरा गर्ने हो भने फुटबल मोह नेपालीको रगतमै घोलिइसकेको प्रतीत हुन्छ तर बिस्तारै सबै सामसुम। पहिले पनि चर्चा गरियो, लगानीले मात्र कला प्रस्फुटन हुँदैन, प्रथमतः खेल संस्कृति जनस्तरमा घोलिनुप¥यो। लगानीकै कुरामा पनि हामी नेपालीले कुनै एउटा खेलविशेषका लागि धनी मुलुकको दाँजोमा गर्न सक्दैनौँ। यस्तो यथार्थ नबुझ्ने सायद कम छौँ। त्यसैले अब हाम्रो फुटबल मोहको तरिका थोरै परिवर्तन गर्ने कि ?

फुटबललाई संस्कृति बनाउनुपर्छ भन्दैमा फुर्सद हुनासाथ सबै जना भकुण्डो बोकेर खेल्न निस्कनुपर्छ भन्न खोजेको होइन, बरु हाम्रो ‘भर्चुवल’ मोहलाई कटौती गरी थोरै सिर्जनात्मक बन्ने हो भने फुटबलबाट जागरण बढ्न सक्थ्यो कि ? सामाजिक सञ्जालमा प्रकट हुने क्रिया–प्रतिक्रिया नियाल्ने हो भने स्पष्ट हुन्छ– हाम्रो फुटबल मोह विश्वकपमा सहभागी जनाएका देशको हाराहारीमा छ तर कुराले चिउरा भिज्दैन भन्ने यथार्थ पनि बिर्सनु भएन। त्यसैले अब टोल स्तरमा, स्कुल–कलेज, क्लबका माध्यमबाट फुटबलका ‘चिल्ला पात’ उमार्न सक्यौँ भने कोही त निस्केला विश्वस्तरको खेलाडी। नेपालको आर्थिक अवस्था भनेको ‘छ फिट अग्लो मान्छेले पाँच फिटको सिरक ओड्नुपर्ने’ स्थितिजस्तै हो, जाडोले टाउको छोप्न खोज्दा गोडा नाङ्गो हुने, गोडा छोप्न खोज्यो टाउको चिसै। अधिक लगानीको आशा गर्नु एउटा कुरा हो तर जापान, कोरिया र चीनजस्ता देशले फुटबलकै लागि भनेर रोडम्यापसहित अथाह लगानी गर्न सक्ने तागत हाम्रो देशको छैन। हामी ‘छोटो सिरक’ ओड्नुपर्ने बाध्यतामा जो छौँ। 

लगानीभन्दा पनि लगाव महत्वपूर्ण हो भन्ने कुराको पुष्टि गर्न विश्वकपमा सहभागिता जनाउन सफल कतिपय साना, गरिब र कम जनसङ्ख्या भएका देशहरूको उदाहरण काफी छ। फुटबल इतर क्रिकेटको कुरा गर्ने हो भने लागानीभन्दा इच्छा–शक्तिको कमालले काम गरेको नजिर नेपाल स्वयं छ! फुटबलको विश्वकपमा सहभागी हुन नसके पनि हाम्रै छिमेकीलगायत ठूलो अर्थतन्त्र भएका देशले व्यापार गरेरै नाफा निकाल्दा हामी नेपाली भने नाफारहित उदार समर्थक बनिरहेका छौँ। विश्वकपको मैदानमा नेपाली टोली नपुगे पनि प्रविधिको पहुँचका कारण विश्वकपका खेल हाम्रा कोठा–कोठामा पुगेका छन्। टेलिभिजन सेटमार्फत देखेको फुटबल कला र उत्साह क्षणभरको मनोरञ्जन मात्र नभई कला रूपान्तरणको प्रयोगशाला बन्न सकोस्। 

प्रशिक्षक जोसे मोरिन्होले भनेका छन्, “फुटबल भावना र प्रतिभा मिसिएको खेल हो।” मोरिन्होले भनेझैँ भावनाविहीन फुटबल त रोबर्टबीचको भिडन्तझँै हुन्छ होला। हाम्रो फुटबल सामथ्र्यको नाडी छाम्ने हो भने विश्वकपमा सहभागिताको सपना अझै कैयौँ वर्षसम्म ‘छुन नसकिने जून’झैँ लाग्छ तैपनि हामी अन्य सहभागी देशको समर्थक बन्ने होडमा उनीहरूकै जर्सीमा रङ्गीचङ्गी बनेका छौँ। अझ नेपाल स्वयं सहभागी भएको हुँदो हो त हाम्रो फुटबल उत्साहको भकुण्डोले सगरमाथा नाघ्ने थियो।

महान् फुटबलर पेलेले भनेका छन्, “ब्राजिलियनको भोक, प्यास र निद्रा भनेकै फुटबल हो, उनीहरू फुटबलमै बाँच्छन्।” फुटबलबारे पेलेले गरेको यो उच्चतम भावा–चेत अहिले ब्राजिलमा मात्र सीमित नभई विश्वभर फैलिँदै छ । फुटबलको तरङ्गले हामीलाई पनि अझ छुन सकोस्। कुनै पनि खेलाडी, टिम र देशले विश्वकप उपस्थिति छिचरो महसुस गर्न नपरोस्। एसियाली देश कतारमा हुँदै गरेको विश्व कप–२०२२ संयोगले बाइसौँ संस्करण नै हो। मध्यपूर्वी देश कतारको गर्मी मौसम र युरोपेली देशको दबाबका कारण साबिक जुन–जुलाईमा भइरहने खेल झन्डै पाँच महिना धकेलिएर नोभेम्बर– डिसेम्बरमा हुँदै छ। नोभेम्बर २० अर्थात् यही मङ्सिर ४ गते नेपालमा आमचुनावको सरगर्मी र विश्वमा फुटबलको महासङ्ग्राम। जितको उपलब्धिसहित महान् बन्ने प्रेरणा बोकेका सबै खेलाडी टिम र देशलाई शुभकामना।